Logo

नयाँ वर्षदेखि सञ्चालनमा आउँदै बन्दीपुर केबलकार

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ वटा क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए । केही दिनमा २० वटा क्याबिन राखेर परीक्षण गरिने उनले बताए ।

उनले भने, ‘यसअगाडि लठ्ठाको परीक्षण गरिएकोमा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।’ आगामी वैशाख १ गतेबाट केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उनले भने, ‘केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ । नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ ।’ यस्तै निर्माणाधीन पाँच तारे होटल भने आगामी वर्षको मंसिरदेखि सञ्चालन गर्ने तयारी छ ।

होटलको भित्री कामबाहेक अन्य सबै सकिएको उपाध्यायले बताए । उनले भने, ‘होटलको काम पनि अन्तिम चरणमा पुगेको छ । पहिला केबलकार सञ्चालनमा आउने र होटलको काम बाँकी नै रहेकाले होटलपछि सञ्चालन गर्ने गरी काम भइरहेको छ ।’ प्रतिघण्टा पाँच सयजना यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेस्टुराँ एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ ।

विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआई बैंक र सहवित्तीयकरणको रुपमा एनएमबि बैंकको सहकार्य रहेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । विसं २०८१ मंसिरभित्र पाँच तारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही वर्षको जेठभित्र भ्युजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटल सहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड पुगेको छ । यसअगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्‍याइएको छ । होटलको कोठा संख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्‍याइएको छ । १० तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यु टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ ।

यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुंगाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुंगास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।

केबलकारले एक किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन (आइपिओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रति शेयर अंकित मूल्य एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ । तीन अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब १५ करोड रहेको छ ।

त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने लिमिटेडले जनाएको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्