उद्यमशीलता विकासका लागि मेड इन वीरगन्ज
वीरगन्ज– स्थानीय उत्पादनको प्रवर्द्धन र स्वरोजगार सिर्जना गर्नका लागि वीरगन्जको एक निजी कलेजमा विद्यार्थीहरूलाई उद्यमशीलतामा जोड्ने प्रयास गरिएको छ । व्यावस्थापन संक्रायमा मधेस प्रदेशमै अब्बल रहेको वीरगन्ज पब्लिक कलेज (वीपीसी) ले कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई उद्यमी बनाउनका लागि पहिलो पटक ‘मेड इन वीरगन्ज’ अवधारणा ल्याएको हो ।
बीपीसी कलेजले आयोजना गरेको ‘मेड इन वीरगन्ज’ कार्यक्रमको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शनिबार उद्घाटन गरे । उनले विद्यार्थीहरूलाई पाठ्यक्रमको ज्ञान मात्रै नभई उद्यमी बनाउनका लागि क्याम्पसले गरेको पहलको सरहाना गरे । उनले नेपालीहरू विदेशमा गएर शौचालय सफा गर्न पछि नपर्ने तर, आफ्नै देशमा आफैंले काम गरेर खान लाज लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
अहिले स्थानीय तहमा सबैभन्दा बढी समस्या रोजगारीको रहेकोले वीरगन्ज पब्लिक कलेजले ल्याएको ‘मेड इन वीरगन्ज’ ले युवाहरूलाई स्वरोजगार सिर्जना गरी उद्यमशीलताको विकास गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले युवाहरूलाई आफ्नै ठाउँमा सानो तिनो व्यापार व्यवसाय सञ्चालन गरेर भए पनि आर्थिक विकासमा सहभागी हुन आह्वान गरे ।
वीरगन्ज पब्लिक कलेजका संस्थापक निर्देशक तथा मधेस विश्व विद्यालयका उपकूलपति प्रा.डा. दिपक शाक्यले कलेजहरू जागिर खाने जनशक्ति मात्रै उत्पादन गर्ने गरेकोले अब कलेजस्तरबाटै उद्यमी बन्ने आधार तयार गर्नका लागि यो अवधारणा ल्याएर विद्यार्थीहरूलाई उद्यमी बन्न प्रेरित गरिएको बताए ।
कलेजमा स्थानीय स्तरमा उत्पादन गरिएको वस्तुहरूको प्रदर्शन तथा व्यावसाय गर्ने तरिकाको विषयमा पनि विद्यार्थीहरूलाई सिकाउनका लागि यो उपयोगी हुने शाक्यले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले देशमा आर्थिक अवस्था जर्जर भएको र उद्योगधन्दाहरू ठप्प हुँदा रोजगारी सिर्जना हुन नसकेको अवस्थामा उद्यमशीलताको विकासका लागि विद्यार्थीहरूलाई आधार तयार हुने बताए ।