Logo

टुकुचा प्रशोधन केन्द्र निर्माणमा विवाद

शिलान्यासको तीन वर्ष तर निर्माण अलपत्र

तीन वर्षअघि टुकुचा प्रशोधन केन्द्र शिलान्यास गर्दै तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्री।

काठमाडौं– तीन अर्ब लागत अनुमानसहित डिजाइन गरिएको टुकुचा (इचु) खोलाको पानी प्रशोधन केन्द्र निर्माण गर्ने विषय दुई निकायबीचको विवादले अलपत्र परेको छ । आयोजना प्रक्रिया अगाडि बढाउने मुख्य जिम्मा लिएको अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति र ललितपुर महानगरपालिकाबीचको विवादले शिलान्यास भएको तीन वर्ष बित्दा पनि आयोजना अलपत्र परेको हो ।

समितिका अनुसार आयोजना निर्माण गर्दा ललितपुर महानगरपालिका–१ को केही भाग समेटिनेछ । महानगरले काठमाडौंको नदी सफा गर्न आफ्नो क्षेत्र प्रयोग हुन नदिने भन्दै विरोध गरिरहेको छ । ललितपुर महानगरकै कारण आयोजना निर्माणको काम अगाडि बढाउन चुनौती रहेको समितिका पदाधिकारीहरुको भनाइ छ ।

महानगरले कुनै हालतमा ललितपुरको क्षेत्र समेटिने गरी प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाउन नदिने अड्डी कसेको छ । आफूहरुसँग समन्वय नगरी परियोजनाको डिजाइन तयार गरेको र काठमाडौं महानगरपालिकाको नदी सफा गर्न ललितपुरको क्षेत्र दिनुपर्ने दायित्व आफूहरुको नरहेको ललिपुर महानगरपालिका–१ का वडा सदस्य हरिहर तण्डुकारले बताए । ‘टुकुचा हाम्रो क्षेत्रमा नै पर्दैन । फेरि हामीसँग समितिले समन्वय नै नगरी परियोजना एक्कासि अगाडि बढाएको रहेछ । हामीसँग समन्वय गर्नु पर्दैन ?’ उनले भने, ‘हाम्रो क्षेत्रमा आएर परियोजना बनाउँदा कम्तिमा पनि पहिल्यै थाहा दिनुपर्छ । हामी कुनै पनि हालतमा यो परियोजनाको काम अगाडि बढाउन दिनेछैनौं।’

२०७७ मंसिरमा तत्कालिन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परियोजनाको डिजाइन तयार नहुँदै शिलान्यास गरेकी थिइन् । आफ्नो कार्यकालमा केही गरेको देखाउन र शिलान्यासमा नाम लेखाउन उनले आयोजनाको डिजाइन तय हुन नपाउँदै शिलान्यास गरेको पनि तीन वर्ष नाघिसकेको छ ।

समितिका सूचना अधिकृत उद्धव नेपालका अनुसार डिजाइन तयार भएर निर्माण प्रक्रियामा नै छ । ‘ललितपुर महानगरपालिकासँग केही विवादहरु छन् । त्यो छिट्टै सुल्झाएर आयोजना निर्माणको काम अगाडि बढाइने छ,’ उनले भने, ‘१७.३ मिलियन लिटर प्रतिदिन टुकुचाको फोहोर पानी प्रशोधन गरेर बागमतीमा मिसाउने र बागमतीलाई सफा तथा हरियाली बनाउने लक्ष्यका साथ प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाएका हौं । निर्माणका लागि ठेक्का सम्झौता भएको पनि डेढ वर्ष भइसक्यो । आगामी डेढ वर्षमा आयोजना सम्पन्न हुने गरी निर्माण प्रक्रिया अगाडि बढाउँछौं ।’

समितिले आयोजनाको काम अगाडि बढाउन जोडबल गरे पनि स्थानीय तहको विरोधका कारण निर्माण प्रक्रिया रोकिएको छ । प्रशोधन केन्द्र निर्माणको डिजाइनमा नदी क्रस गरेर केही भाग ललितपुरतिर पारिएपछि महानगरले काठमाडौंको नदी सफा गर्ने जिम्मा हाम्रो होइन र हामी दिँदैनौ भन्दै अवरोध पुर्याएको छ । स्थानीय तहसँग छलफल गरेर समाधान निकालिने वा विकल्प खोजिने समितिको भनाइ छ ।

खोला आसपास बसेका बस्तीबाट निस्किने ढल व्यवस्थित गर्न पाइपलाइन बिछ्याउन सम्भव नदेखिएपछि खोला नै प्रशोधन गर्ने गरी पानी उपचार केन्द्र बनाउन लागिएको हो । काठमाडौंमा अन्य नदीहरुको किनारमा दायाँ–बायाँ ढलको पाइप बिछ्याए पनि टुकुचाको अधिकांश क्षेत्रमा भने यो काम सम्भव देखिँदैन । खोला किनारमा बिछ्याइएका ढललाई प्रशोधन केन्द्रसम्म पु¥याएर प्रशोधनपछि मात्रै नदीमा सफा पानी मिसाउने योजना छ ।

टुकुचा खोलाबाट बग्ने फोहोर पानीलाई प्रशोधन गर्ने गरी टुकुचा क्षेत्रमै प्रशोधन प्लान्ट बनाउन खोजिएको हो । हिँउदमा लेदो भएर बग्ने टुकुचालाई बागमतीमा मिसिनुअघि नै शुद्धीकरण गर्ने योजनाअनुरुप प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । टुकुचासँगैका घरहरुलाई मुआब्जा दिएर ढल बिछ्याउने काम गर्न खर्चिलो हुने भएपछि खेलाको सबै पानीलाई प्रशोधन गरेर बागमतीमा छाड्ने गरी यसको प्रारम्भिक अध्ययन भएको थियो । टुकुचामा बन्ने प्रशोधन केन्द्र अन्यत्रको भन्दा निकै आधुनिक हुनेछ । यसको निर्माण गर्न करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

टुकुचामा वर्षाबाहेक अधिकांश समयमा ढलमात्रै बग्छ । यसलाई ढलरहित बनाउन नसकिए पनि बागमतीमा मिसिनुअघि कालमोचन घाटभन्दा मुनि खोला किनार क्षेत्रमा प्रशोधन गर्ने योजना बनाइएको हो । प्रशोधन केन्द्रबाट दिनमा १ करोड ६३ लाख लिटर पानी प्रशोधित भएर बागमतीमा खसालिनेछ । यो प्लान्टलाई दुर्गन्धरहित र व्यवस्थित रुपमा सञ्चालन गरिने समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्