ओलीका अवसर र चुनौती «

ओलीका अवसर र चुनौती

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको अढाई महिनापछि मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री भएसँगै मुलुकमा एक दशकभन्दा लामो संक्रमणकालको अन्त्य भएको छ । यतिमात्र होइन, नेपाली जनताले आफ्ना लागि आफैं संविधान लेख्ने आधा शताब्दीभन्दा पुरानो सपना साकार भएर कार्यान्वयनको महत्वपूर्ण चरण पनि पार भएको छ । यससँगै आधुनिक नेपालको सबैभन्दा पेचिलो राजनीतिक मुद्दाको पनि औपचारिक विसर्जन भएको छ । अब मुलुक राजनीतिक मुद्दा टुंगोमा पुर्याएसँगै आर्थिक मुद्दामा केन्द्रित हुने आमअपेक्षा छ र त्यो पूरा गर्ने अथवा मुलुकलाई त्यस दिशामा अघि बढाउने ऐतिहासिक कार्यभार ओलीको काँधमा आएको छ ।
प्रधानमन्त्रीका रूपमा सिंहदरबार यात्रा ओलीका लागि नौलो होइन भने यसअघि गृह र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव तथा २०४८ पछि पहिलो संविधानसभाबाहेकका हरेक संसदीय निर्वाचनबाट संसद्मा प्रभावकारी उपस्थिति जनाएका ओली समकालीन राजनीतिका अनुभवी र परिपक्व राजनेता पनि हुन् । भारतले लगाएको नाकाबन्दीको डटेर सामना गरेका तथा यसको विकल्पस्वरूप चीनसँग रणनीतिक समझदारी गरेका ओली वैचारिक रूपमा स्पष्ट छन् र उनलाई सुविधाजनक बहुमत पनि छ । यसकारण ओलीको अबको कार्यकाल अवसरका दृष्टिकोणले ‘ऐतिहासिक’ पनि छ भन्दा अत्युक्ति हुँदैन । उनीमाथि नेपाली जनताले हालैका दिनमा मतदानमार्फत गरेको भरोसालाई उनले निराशामा बदल्न दिनेछैनन् भन्ने अपेक्षा गरिनु अतिशोयक्ति हुँदैन ।
तर, जतिबेला केपी ओली दोस्रो पटक सिंहदरबारका कुर्सीमा पदभार ग्रहण गर्दैछन्, उनका अगाडि समस्याको चाङ थुप्रिएको छ । अधिकांश समस्यासँग उनी निश्चय नै जानकार छन् । संयोग भनौं, उनी अघिल्लो पटक प्रधानमन्त्रीका रूपमा पदबहाली गर्दा, उनले राजीनामा दिँदा र अहिले फेरि प्रधानमन्त्री हुँदा सिंहदरबारको भित्तामा प्रधानमन्त्रीका तस्बिरहरू थपिए पनि समस्या उही नै छन् । मूलतः अर्थतन्त्रका आधारभूत संरचनाहरू उस्तै छन् । भूकम्पपीडितका समस्यामा झिनोमात्र प्रगति भएको छ भने विकास–निर्माणको सुस्त गतिलाई कसैले ‘स्पिडअप’ गर्न सकेको छैन । बरु बढ्दो व्यापारघाटा र घट्दो रेमिट्यान्सका कारण साधन स्रोतहरू खुम्चिएका छन् र शोधनान्तर घाटा थपिएको छ । जनताले अपेक्षा गरेका विकास–निर्माणका नयाँ योजनाहरू कागजमै सीमित भएका छन् भने ओलीले सपना बाँडेका चिनियाँ रेलमार्गलगायतका आयोजनाको काम सुरु हुनै बाँकी छ । यसैले ओली यी समस्यासँग पूर्ण परिचित पनि भएकाले उनीबाट आम जनताले अपेक्षा गर्नु स्वाभाविक छ । आशा गरौं, ओलीले भोलिका दिनमा यी समस्यासँग जुधेर मुलुकलाई विकास निर्माण र समृद्धिको नयाँ मार्गका अघि बढाउनेछन् ।
नेपाली अर्थतन्त्रमा समस्यामात्र नभई सम्भावना पनि उत्तिकै छन् । ओलीकै शब्दमा भन्नुपर्दा नेपालमा साधनस्रोतभन्दा बढी इच्छाशक्तिको अभाव छ । नेपालप्रति विकास साझेदारको भरपुर साथ–सहयोग छ भने नेपालको ‘भर्जिनिटी’ तथा छिमेका दुई ठूला बजारका कारण लगानीकर्ताको प्राथमिकतामा पनि नेपाल पर्नेछ । अर्कातर्फ मेलम्ची, माथिल्लो तामाकोसीलगायतका ठूला र रणनीतिक महत्वका आयोजनाको काम पनि ओलीकै कार्यकालमा सम्पन्न हुने भएकाले उनी यस अर्थमा भाग्यमानी पनि हुनेछन् । तर, जनताको अपेक्षा योभन्दा निकै बढी छ । विदेशमा रहेका ४० लाख नेपाली, जो अदक्षबाट अर्धदक्ष कामदारमा रूपान्तरण हुँदै छन्– उनीहरूलाई नेपाल फर्काएर मुलुक निर्माणमा जुटाउनेदेखि गरिबी र बेरोजगारीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने आम नेपालीको चाहना पूरा गर्ने दिशामा ओलीको नेतृत्व अग्रसर हुनुपर्छ । अर्कातर्फ, प्रशासनिक संयन्त्रलाई चुस्त बनाउनेदेखि निजी क्षेत्रको विश्वास जितेर अघि बढ्न सकेमात्र ओलीको कार्यकाल सफल हुन सक्छ । नत्र, उनी दोहोर्याएर प्रधानमन्त्रीको कुर्सीमा रहनुको औचित्य पुष्टि हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्