हटलाइन सेवालाई थप प्रभावकारी बनाइने

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज हटलाइन सेवामा संलग्न मन्त्रालय र प्राधिकरणका कर्मचारीसँग छलफल गरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नागरिकले प्रत्यक्षरूपमा गुनासो गर्न सक्ने सो सेवालाई प्रभावकारी बनाउन के–कस्ता उपाय अवलम्बन गर्नुपर्छ त्यसका लागि मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।
सरकारी निकायले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले समस्या आए गुनासो गर्ने निकायका रूपमा रहेको प्रणालीलाई झनै व्यवस्थित बनाउनुपर्ने बताए । नागरिकले प्रत्यक्ष भोगेका र अनुभव गरेका गुनासो सुन्नेमात्रै नभई त्यसको समाधानका लागि हटलाइन सेवामा कार्यरत कर्मचारीले विशेष ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ ।
उनले गुनासो टिपाउनका लागि सहजरूपमा प्राधिकरणका सबै कार्यालय, वितरण केन्द्रमा सूचना पार्टी राख्न, यसअघि राखिएको भए त्यसलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए । उनले जिल्लामा रहेका एफएम रेडियो वा अन्य सञ्चारमाध्यमबाट पनि प्रचार–प्रसार गरी सो सेवाका बारेमा जानकारी गराउन आवश्यक व्यवस्था मिलाइने बताए ।
सरकारले पैसा नलाग्ने ११५१ नम्बर यसअघि नै सञ्चालनमा ल्याएको थियो । सो हटलाइनमा दैनिक औसतमा चार दर्जन हाराहारीमा गुनासो आउने गरेको छ । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिए ।
समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उाले बताए । विशेषगरी लाइन काटिएको, भोल्टेज कम आएकोजस्ता गुनासो बढी आउने गरेको उाको भनाइ छ । हटलाइन सेवा हाल तीनवटै सत्रमा सञ्चालनमा छ । त्यसलाई थप व्यवस्थित बनाउन मन्त्रालयका तर्फबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्री बस्नेतले बताए ।
हरेकजसो वितरण केन्द्रमा ठूला–ठूला अक्षरमा ‘फ्लेक्स बोर्ड’ राखिने छ । मन्त्रालय र प्राधिकरणसँग जोडिएका कुनै पनि समस्या वा गुनासो सुन्ने र समाधानका लागि आवश्यक व्यवस्था मिलाइने मन्त्री बस्नेतको भनाइ छ । हटलाइन सेवामा कार्यरत कर्मचारीले हरेक दिन आएको गुनासो लिपिबद्ध गरी मन्त्रालय र प्राधिकरणलाई समेत उपलब्ध गराउने गरेका छन् ।
सेवालाई थप चुस्तदुरुस्त बनाउने अन्य उपाय के हुनसक्छ ? सामाजिक सञ्जाल वा अन्य माध्यममा समेत सहजरूपमा गुनासो राख्ने उपाय के हुनसक्छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चालनमा रहेको हेलो सरकारसँग के कसरी मिलेर काम गर्न सकिन्छ भन्नेलगायतका विषयमा समेत मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ ।
मन्त्री बस्नेतले आएका गुनासोलाई आफ्नै समस्या सम्झेर समाधान गर्न, सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउनुसमेत जरुरी रहेको बताएका थिए । तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा सो सेवा प्रारम्भ गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सकिनेछ ।