दक्ष जनशक्ति पलायन हुने क्रम बढ्दो

पोखरा– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले दक्ष जनशक्ति पलायन हुने क्रम बढ्दो रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मासिक ५०/६० हजारदेखि ३ लाख रुयैयाँसम्म तलब खानेहरूले पनि देश छाडि रहेको उनले बताए । दक्ष जनशक्ति पलायन रोक्ने हो भने उनीहरूको इच्छा र आकांक्षालाई सम्बोधन गर्नु पर्ने श्रेष्ठको भनाइ थियो ।
चाहेर पनि युवालाई रोक्न नसकिएको बताउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विदेश जानेहरूलाई गाली गरेर, अर्ति उपदेश दिएर समस्या समाधान नहुने जिकिर गरे । युवा पलायन रोक्नको लागि आर्थिक वृद्धिसँगै रोजगारी सिर्जना हुनुपर्नेमा उनले जोड दिए । नेपालको निजी क्षेत्र दक्ष जनशक्ति पलायनप्रति गम्भीर रहेको बताउँदै उनले यसलाई रोक्न सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।
‘हिजो अर्थतन्त्रलाई सही दिशा दिने भन्दै गलत नीति लिइयो, अर्थतन्त्रलाई गिज्याउने काम भयो र आज संकुचनको अवस्था आयो, ’उनले भने, ‘संकुचित अर्थतन्त्रलाई लयमा लैजान माग बढाउन सक्नुपर्छ, निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ,’ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो रूपमा सञ्चालन गर्न भारतीय सीमा नाकामा रहेका धनगढीदेखि भद्रपुृरसम्मका ८ वटा सहरहरूमा तत्काल उडान सुरु गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।
‘सीमा नाकामा दैनिक उडान भयो भने भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ । त्यसका लागि नेपाल हवाइ उड्डयन कार्यालयले एयरपोर्ट शुल्क घटाउनुपर्छ । पोखराका पर्यटन व्यवसायीहरूले निश्चित समयसम्म होटलमा भारी छुट दिनुपर्छ,’ उनले भने । पछिल्लो समय घट्दो वैदेशिक लगानीप्रति सरकार गम्भीर देखिएको बताउँदै उनले उत्पादनको पकेट क्षेत्र विकास, वैदेशिक लगानी आकर्षित गर्न तथा रोजगारी सिर्जना गर्ने दिशामा लाग्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले कृषिको व्यवसायीकरण र उत्पादकत्व वृद्धिले मात्र युवा पलायन रोक्न सकिने दाबी गरे । महासंघले साना तथा मझौला व्यवसायीहरूले भोग्नुपरेको समस्या समाधानको लागि योजनाबद्ध रूपले काम अगाडि बढाएको बताए । संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंकको ब्याजदर घटे पनि लगानीको लागि वातावरण नबनेको गुनासो गरे । सुस्ताएको बजार चलायमान हुन नसकेको र साना तथा मझौला उद्योगहरू अहिले पनि समस्यामै रहेको उनको भनाइ थियो ।
उनले राजमार्गको स्तरोन्नतिमा भएको ढिलाइ र पोखराबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि दबाब दिन महासंघसँग आग्रह गरे । ‘पोखरा एयरपोर्ट राष्ट्रिय गौरवको आयोजना हो र यसको सञ्चालन नहुनु भनेको राष्ट्रकै असफलता हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ,’ उनले भने । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखरा एयरपोर्टको दीगो सञ्चालनको लागि आवश्यक परे दबाबमूलक कार्यक्रम गर्न पोखरेली तयार हुने बताए ।