वैदेशिक रोजगारीमा युवा पुस्ता

नेपालमा पछिल्लो समय युवा पुस्ताले वैदेशिक रोजगारीको अवसर खोज्ने क्रम बढेको छ । विश्व बैंकको प्रतिवेदन अवलोकन गर्ने हो भने नेपाल सरकारले युवाहरूको सामाजिक र आर्थिक चुनौतीलाई सम्बोधन गर्ने र उनीहरूको सामाजिक तथा आर्थिक सम्भावनालाई सदुपयोग गर्ने कार्यलाई देशको आर्थिक वृद्धि र विकासका लागि महत्वपूर्ण मानेको छ । प्रतिवेदनले मुलुकमा श्रम र जीविकोपार्जनमा सीमित व्यवस्थित, नीतिगत अनुभवजन्य अनुसन्धान र युवाहरूको श्रम अवस्था, व्यवहार र नतिजाहरूको समर्पित परीक्षण अझै विरलै भएको उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीका लागि नेपाली युवाको पलायन धेरै वर्षदेखि चर्चाको विषय बनेको थियो । ट्रेकिङ आईटी ग्लोबलको प्रतिवेदनले नेपाल–ब्रिटिस भारत युद्धपछि सन् १८१४–१८१५ मा वैदेशिक रोजगारीमा नेपाली नागरिकको औपचारिक प्रवेशको इतिहास सुरु भएको उल्लेख गरेको छ । प्रतिवेदनले यो पनि प्रकाश पारेको छ कि नेपालबाट विदेश जाने धेरै कामदार युवा, ऊर्जावान्, मेहनती र उत्साही रहेका छन् । यस कारणले गर्दा देशमा युवा श्रम बजारको अवस्था, व्यवहार र परिणाम बुझ्न महत्वपूर्ण छ ।
यस किसिमको नेपाली युवाको श्रम बजारको अवस्था तथा सम्भावनालाई बुझेर बेलैमा सम्बन्धित निकायले सुधार गर्न सकिन्छ । विश्व बैंकको प्रतिवेदनले सार्वजनिक नीति र कार्यक्रमका पहलहरूले ग्रामीण श्रम उत्पादकत्व, सहरी श्रमको माग र सहरी कामदार ‘जब’ मिल्ने दक्षतामा केन्द्रित हुनुपर्छ भनी सुझाव दिन्छ । यसका अतिरिक्त नेपालको सहरी भागमा बसाइँ सराइएका ग्रामीण युवा र भारत तथा अन्य देशबाट फर्केका युवा श्रमिक आप्रवासीको श्रम बजार एकीकरणमा सहयोग गर्नु र श्रम, सीप, तालिमको अभिमुखीकरण र प्रभावकारितामा सुधार गर्नु पनि महत्वपूर्ण छ ।
वैदेशिक रोजगारीमा जाने युवाबाट सामाजिक र सांस्कृतिक प्रभाव परेको देखिन्छ । जसले पारिवारिक गतिशीलतामा फाटो ल्याउनुका साथै दूरगामी असर पारेको छ । बसाइँसराइका कारण हुने शारीरिक पृथकीकरणले पारिवारिक बन्धनलाई तनाव दिन र भावनात्मक चुनौती सिर्जना गर्न सक्छ । यसबाहेक आमाबाबु वा भाइबहिनीको अनुपस्थितिले बच्चाहरूको पालनपोषणलाई असर गर्न सक्छ, जसले परिवारको गतिशीलतामा परिवर्तन ल्याउन सक्छ ।
त्यस्तै, देशमा वैदेशिक रोजगारीको प्रवृत्ति लैङ्गिक छ, महिला र बालबालिकालाई पछाडि छोडेर ठूलो संख्यामा युवा पुरुष श्रमप्रधान क्षेत्रमा काम गर्न देश छाडेर गएका छन् । यो लैङ्गिक बसाइँसराइको ढाँचाले लिङ्ग भूमिका र जिम्मेवारीहरूमा प्रभाव पार्छ । हेरचाह गर्ने, घरपरिवार व्यवस्थापन र निर्णय गर्ने सन्दर्भमा महिलाहरूमा थप बोझ पर्न गएको छ । त्यसरी नै सामाजिक एकीकरणका चुनौती पनि त्यत्तिकै रहेको देखिन्छ । जब युवा पुस्ता वैदेशिक रोजगारीबाट फर्किन्छन्, उनीहरूले प्रायः आफ्नो घर–समुदायमा पुनः एकीकरण गर्न चुनौतीहरूको सामना गर्छन् ।
हालसालैको तथ्यांकअनुसार सन् २०२२–२३ मा मात्र ७ लाख ७१ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारी खोजेका थिए, जुन रेकर्ड उच्च हो । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि दैनिक २ हजारभन्दा बढी विभिन्न देशमा प्रस्थान गर्ने अनुमान छ । जसमा मुख्यतया २५–३४ वर्षका युवा रहेका छन् भने गन्तव्यहरू मलेसिया र कतारदेखि दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्ससम्म रहेका छन् । यसले प्रत्येकको उज्ज्वल भविष्यका लागि आशाको किरण प्रदान गर्छ । तर, यी आप्रवासी कामदारले पठाएको रेमिटेन्सले नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने भए पनि मानवीय लागतलाई प्रायः बेवास्ता गरिन्छ । टुक्रिएको सामाजिक संरचना र भावनात्मक तनावले पीडित समुदायका साथ परिवारले अलगावको पीडा भोग्छन् । घरमा रहेका छोराछोरी आमाबाबुको मार्गदर्शनबिना हुर्किन्छन्, पति-पत्नीले एक्लोपनको सामना गर्छन् र वृद्धहरू एक्लोपनको सामना गर्छन् ।
लामो समयदेखिको एक्लोपनले मनोवैज्ञानिक प्रभाव र वैदेशिक रोजगारीको अनिश्चित प्रकृतिले कथामा जटिलताको अर्को तह थपेको छ । वैदेशिक रोजगारीको लहरलाई रोक्न बहुआयामिक दृष्टिकोण चाहिन्छ । जसका लागि सीप विकास कार्यक्रममा लगानी गर्नु, उद्यमशीलतालाई बढावा दिनु र नेपालभित्रै मर्यादित रोजगारीका अवसरहरू सिर्जना गर्नु महत्वपूर्ण कदमहरू हुन् । मूलतः सुशासनको सुदृढीकरण र नैतिक भर्ती अभ्यासहरू सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । यसमा सरकारले चासो राखे शिक्षा र आर्थिक अवसरहरूमार्फत महिला सशक्तीकरणले कार्यशक्तिलाई थप विविधीकरण गर्न र निर्भरताको चक्र तोड्न सक्छ ।
मुलुकमा विभिन्न समयमा विभिन्न राजनीतिक दलको सरकार आए पनि आफ्नो देशभित्र रोजगारीको अवसर दिन नसक्दा अधिकांश नेपाली बिदेसिन बाध्य भएका छन् । जसले गर्दा पछिल्ला दिनमा हिमाल र पहाडको मानव बस्ती क्रमशः रित्तिँदै गएको छ । यस्तै प्रवृत्ति रहे अबका केही वर्षमा मुलुकका सबै युवा विदेश नजालान् भन्न सकिने अवस्था छैन । फलतः कतै यसले वृद्ध र अशक्त बस्ने राष्ट्रका रूपमा आफ्नो परिचय बनाउने त होइन भन्ने भय पनि देखिन्छ । दुई साताअघि मात्र रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजार नेपाली लैजान आवेदन खुला गरेको थियो । यसमा झन्डै १० गुणा बढी नेपाली नागरिकले फारम भरेका थिए ।
यी सबै सत्यतथ्य हेर्ने हो भने देशमा चरम बेरोजगारी अवस्था र युवाको विदेश जाने चाहना दुवैलाई संकेत गरेको छ । यसै क्रममा कोरियाले उत्पादनमूलक क्षेत्रमा काम गर्न १५ हजार ८ सय ४८ जना नेपाली युवा लैजाने भन्दै सरकारलाई त्यसको अन्तिम रोस्टर तयार गर्न भनेको थियो । त्यसअनुसार परीक्षाका लागि आवेदन माग गरेकोमा १ लाख ४३ हजार ८ सय १२ जना नेपाली युवाले आवेदन दिएका थिए । नेपालमा ईपीएस प्रणाली लागू भएयता यो वर्ष सबैभन्दा बढीको संख्याले आवेदन दिएका हुन् । यसअघि सिप बिल्डिङ क्षेत्रको भाषा परीक्षामा ४ हजार कोटाका लागि ३५ हजारले आवेदन दिएका थिए । कोरियाले कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको छ । यस्तै, निर्माण र सेवा क्षेत्रमा समेत नेपालीलाई लैजाने तयारी उसको छ । नेपालबाट कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा गरी वार्षिक १२ हजार कोरिया जाने गरेका छन् । ईपीएसअन्तर्गत कोरियाले विश्वभरबाट आगामी वर्ष १ लाख ६५ हजार विदेशी श्रमिक माग गर्नेमध्ये नेपालबाट १५ हजार ८ सय ४८ जना लैजाँदै छ ।
वैदेशिक रोजगारीमा मुख्य गरी नेपाली युवा अहिले दुई किसिमबाट गइरहेका छन् । पहिलो, सरकारी कोटा र दोस्रोमा म्यानपावर व्यवसायीमार्फत । दलालमार्फत र व्यक्तिगत रूपमा जानेहरू पनि धेरै छन् । खासगरीकन निश्चित समय, आकर्षक कमाइ र जोखिम पनि कम हुने भएकाले सरकारी कोटाबाट विदेश जान खोज्नेको घुइँचो बढी लाग्ने गरेको पाइन्छ । यस्तो कामका लागि नेपाल सरकारले अहिलेसम्म कोटामार्फत मुख्य रूपमा कोरिया र जापान पठाउँदै आएको पाइन्छ । युवाहरूको रोजाइ कोरियासँगै जापान पनि बन्दै गएको छ ।
समग्रमा भन्नुपर्दा युवा पुस्ताको विदेश पलायन गहिरो जरा र दूरगामी परिणाम भएको जटिल घटना हो । यसका कारणहरू बुझ्नु, यसको मानवीय मूल्यलाई स्वीकार गर्नु र दिगो समाधान खोज्नु भनेको नेपाल निर्माणका लागि महत्वपूर्ण कदमहरू हुन् । जहाँ युवाहरूले आफ्नै सीमाभित्रै आशा र समृद्धि पाउन सक्छन् । युवा पुस्ताको वैदेशिक रोजगारीको वृद्धिले आर्थिक, सामाजिक र सांस्कृतिक कारकहरूको जटिल अन्तरक्रियालाई प्रतिविम्बित गर्छ । विदेशमा अवसर खोज्दा धेरै परिवारका लागि जीवनरेखा प्रदान गर्छ र राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ । तर, यो राष्ट्रको दीर्घकालीन सोच भने पटक्कै होइन । यसले देशको विकास निर्माणमा धेरै चुनौती ल्याउन सक्छ ।
त्यसैले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्यालाई सम्बोधन गर्न व्यापक नीतिगत उपाय, कूटनीतिक प्रयास र सामाजिक पहलहरू समावेश बहुआयामिक दृष्टिकोण चाहिन्छ । यद्यपि, स्वदेशमा राम्रो रोजगारीका अवसर नपाउँदा कोरिया र जापानबाहेक झन्डै २ सय विदेशी राष्ट्रमा नेपालीहरू पुगेका छन् । देशभित्र बेरोजगारीको यो चर्को अभाव भएर काम खोज्दै युवा संसारभर पुग्न बाध्य हुँदा पनि सरकार भने वेप्रवाह बसेको देखिन्छ । वस्तुतः आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्दै प्रवासी कामदारको हितलाई प्राथमिकतामा राखेर र लैङ्गिक संवेदनशील नीतिहरू कार्यान्वयन गरेर नेपालले आफ्नो युवा पुस्ताका लागि थप दिगो र सन्तुलित भविष्यतर्फ लाग्न सक्छ ।