पूर्वाधारका सामानहरु व्यवस्थित गर्न अर्थमन्त्रीको आग्रह

प्रक्रिया पूरा गरेर ल्याइएका सामान नरोक्न कर्मचारीलाई निर्देशन |
अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार प्रक्रिया पूरा गरेर ल्याइएका सामान कुनै पनि हालतमा नरोक्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भन्सार एजेन्सीहरुले गरेको काममा केही गन्ध आएको आभास भएकाले प्रक्रिया पूरा गरेर ल्याएको सामानमा रोकटोक नगर्ने निर्देशन दिएका हुन् । मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको बताए ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गइरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने अथवा नहुने बहसको विषय भएको भन्दै मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको बताए ।
अर्थमन्त्री खतिवडाले पूर्वाधारका सामानहरु छरपस्ट रहेको भन्दै व्यवस्थित गर्न विभिन्न कार्यालयलाई निर्देशन दिए । सामान आयात गर्दा गल्ती गरे त्यसको भागिदार कर्मचारी नै हुने स्पष्ट पार्दै खतिवडाले सरकार यस विषयमा शून्य सहनशीलताको नीतिमा रहेकाले सम्यमता अपनाउन आग्रह गरे । पूर्वाधार विकासका लागि बिटुमिनदेखि हवाइजहाजसम्म चाहिने भएकाले व्यापार घाटा बढेको बताउँदै अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यामहरुलाई आग्रह पनि गरे ।