हस्तकला हाँकेर उदाहरण बनेकी रामकली

पोखरा– २० वर्षको उमेरमै उद्यम सुरु गरेकी रामकली खड्का धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन् । विकट जिल्ला हुम्लाको साविक मुचु गाविसमा जन्मेकी खड्काले आफ्नो जीवनको महत्वपूर्ण समय पोखरामा बिताएर पोखरेलीलाई गुन लगाएकी छन् ।
पोखरामा २०३२ सालदेखि हस्तकला व्यवसाय सुरु गरेकी खड्काको सीप नेपालका अधिकांश जिल्लामा त पुगेको छ नै, विदेशसम्म पनि फैलिएको छ । उनले उत्पादन गरेका वस्तु २० भन्दा बढी मुलुकसम्म पुगेका छन् । ६९ वर्षको उमेरमा पनि रामकलीलाई आफ्नो व्यवसाय अझै राम्रो बनाउने र देशविदेशमा आफ्नो उत्पादन कसरी पुर्याउने भनेर चिन्ता भइरहन्छ ।
कल्कलाउँदो उमेरमा पोखरा आएकी खड्काको कपाल फुलिसक्यो, गाला चाउरी परिसके, तर व्यवसायप्रतिको लगाव भने घटेको छैन । २०१२ सालमा जन्मेकी रामकली हुम्लामा हुर्किइन्, काठमाडौंमा सीप सिकिन् अनि पोखरा आएर उद्यम गर्न थालिन् । झन्डै चार दशकदेखि एउटै व्यवसायमा रहेकी रामकलीले सयौं महिलालाई रोजगारी दिएकी छन् ।
२०२९ सालमा उनलाई महिला स्वयंसेविकाको तालिम लिने अवसर जुट्यो । १८ महिने होम साइन्स अन्तर्गत विभिन्न प्रकारका तालिमबाट आफूलाई निखारेकी रामकलीले तालिमपछि काठमाडौंमै अन्य महिलालाई सीप सिकाउन सुरु गरिन् । २०३२ सालमा लोकसेवा आयोगको परीक्षामा नाम निस्केसँगै खरिदारको रुपमा उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत पोखराको महिला तालिम केन्द्रमा नियुक्त भइन् ।
२१ वर्षसम्म निजामती सेवाकै सिलसिलामा महिलालाई आत्मनिर्भर बनाउने बाटोमा होमिएकी खड्काले पोखरा आएर हालसम्म करिब २५ हजार महिलालाई सशक्तीकरण, स्वास्थ्य, प्रौढ शिक्षा, कानुनी परामर्श, सिलाइबुनाइ तालिम प्रदान गरिसकेकी छन् । सिकाएका अधिकांशले या त रोजगार प्राप्त गरेका छन् या स्वरोजगार भएका छन् । केहीले व्यावसायिक रुपमा राम्रो सफलता हात पारेको उनी बताउँछिन् । गाउँघरमा दुःख पाएका महिलाको लागि केही गर्न सकिन्छ कि भनेर उनले जागिरसँगै आफ्नो व्यवसायलाई अघि बढाएकी थिइन् ।
पारिवारिक रुपमा दुःख भोगेका, एकल महिला, अपांगता भएका, शिक्षाबाट वञ्चित, आर्थिक अवस्था न्यून रहेका, बाबुआमा गुमाएका महिला उनको प्राथमिकतामा पर्थे । महिला सीप विकास संस्थाको संस्थापक भई संस्था अघि बढाउने क्रममा रामकलीको परिचय पनि फराकिलो बन्दै गएको छ । अहिले उनी नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश महिला विकास समितिको सभापति तथा कास्की पोखरा हस्तकला संघको अध्यक्ष छिन् । कोभिडले धेरै व्यवसाय बन्द भएको बेला उनले हाँकेको व्यवसाय भने निरन्तर चलिरहेको छ । हस्तकलाका सामानको माग कम हुँदै आएकोले ६ सयको हाराहारीमा महिलाले रोजगारी पाएकोमा अहिले तीन सय जतिले मात्र पाएको उनले बताइन् ।
हुम्लाको खासरपानीमा विद्यालयको अध्ययन सकेपछि उच्च शिक्षाका लागि रामकली सदरमुकाम सिमकोट झरिन् । त्यसपछि काठमाडौं हुँदै पोखरा आएकी उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला प्रशिक्षण केन्द्र सुरु गरिन् । गाउँघरमा महिलाको दयनीय अवस्था देखेपछि उनको मन फराकिलो हुन थाल्यो । महिला सशक्तीकरणको लागि सीप महत्वपूर्ण रहेछ भन्ने उनलाई लाग्यो । करिब १२ हजार रुपैयाँबाट सुरु गरेको संस्थाको पुँजी हाल करोडौं पुगेको छ ।
उनले ३ जना महिलालाई रोजगारी दिएर संस्था सुरु गरेकी थिइन् । उनी सञ्चालक रहेको पोखरा महिला सीप विकास प्रालिले वार्षिक करिब एक करोडको कारोबार गर्छ । उनको संस्थामा अहिले पनि ३ सय जनाले रोजगारी प्राप्त गरेका छन् । पछिल्लो समय उक्त संस्थालाई पोखरा महानगपालिकासहित सरकारी निकायबाट समेत साथ र सहयोग हुन थालेको छ । हस्तकलाका सामानको बजार खोज्न विदेशमै निर्भर हुनुपर्ने भएकोले कोभिडपछि यसको बजारमा समस्या रहेको उनले बताइन् ।
सरकारी स्तरबाट समेत स्वदेशमा उत्पादन भएका वस्तु तथा सेवाको प्रयोग गर्ने–गराउने नीति ल्याउनुपर्ने उनको सुझाव छ । ‘यसो गर्दा स्वदेशमा उत्पादन हुने वस्तु तथा सेवा दिगो रुपमा यही टिक्न सक्ने अवस्था सिर्जना हुन्छ । यसबाट विदेशिने युवालाई पनि केही हदसम्म रोक्न सकिन्छ,’ उनी भन्छिन्, ‘अध्ययन र सीप लिन विदेश जानु स्वाभाविकै हो, तर दूधे बच्चा छोडेर आमाहरुसमेत विदेशिन बाध्य हुनु दुःखलाग्दो कुरा हो ।’ पढाइ र कामको सिलसिलामा आफ्ना छोराहरु विदेश पुगे पनि स्वदेशमै सम्भावना छ, यही केही गर्नुपर्छ भनेर फर्काएको उनले सुनाइन् ।
हस्ताकलाका सामान नै संस्थाको आम्दानीको मुख्य स्रोत हो । रंग, अल्लो, कटन, कपास, काठको टाँकलगायत कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने गरेको छ भने केमिकल, जिपर (चेन), लकलगायत बाहिरबाट आउने गरेको छ । स्वदेशी कच्चा पदार्थ पर्याप्त भए पनि त्यसको उचित ढंगले सदुपयोग गर्न नसकिएका कारण विदेशबाट चर्को मूल्यमा ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । हातले बुनेका सामानले विदेशमा मूल्य पाउने हुँदा उत्पादित सामान प्रायः निर्यात हुने गरेको छ ।