व्यावसायिक सुशासनको मूलधर्मिता

उत्पादन, बजारीकरण तथा आर्थिक गतिविधिहरूको समन्वयात्मक सँगालोको सफल कसी नै व्यवसायको गन्तव्य हो । कुनै पनि व्यापार–व्यवसाय सफल रहने वा नरहने भन्ने प्रश्नको निक्र्योल त्यसमा कायम रहने सुशासनको भूमिकामा केन्द्रीकृत रहनेछ । जसमा अन्य व्यावसायिक समूहलगायत औद्योगिक प्रतिष्ठानहरू पनि अछुतो रहन सक्दैनन् । मुनाफा हासिल गर्ने उद्देश्यअनुरूपको व्यवहारलाई आत्मसात् गर्दै आफ्ना उपभोक्ता वर्गका आवश्यकता परिपूर्तिका लागि सेवाहरूको संचरण एवं विस्तार गर्दै खरिद–बिक्रीलगायतका उत्पादनजन्य प्रक्रियालाई एकआपसमा समायोजन गरी अगाडि बढ्नु सम्बद्ध क्षेत्रको न्यूनतम आधारभूत सैद्धान्तिक धरातलभित्रका विषयवस्तुहरू हुन् । जसले उपभोक्ताको आवश्यकता, चाहना, इच्छा तथा सेवाभावलाई व्यवसायको मूलमन्त्र मान्दै प्रतिस्पर्धी भावमा पस्कने प्रयासलाई युगान्तकारी कदमको रूपमा जीवन्त राख्नेछ भन्दा फरक नपर्ला ।
जसअनुसार व्यवसाय विस्तारको क्षेत्रमा अनिवार्य तत्व विशेषका रूपमा विचारको गाम्भीर्यतालाई लिन सकिनेछ । जसको सेरोफेरोमा रहेर व्यवसाय विस्तारको सन्दर्भमा आवश्यक पर्ने अवधारणागत दृष्टिबिन्दु के–कस्तो प्रकारको रहने भन्ने कुराका आधारमा कार्य शुभारम्भ गर्दै व्यवसायको मोडल निर्धारण गर्ने गरिन्छ । यिनै मूलभूत कारक तत्व विशेषमा आधारित रहँदै व्यावसायिक तथा आर्थिक उद्देश्यहरू पूरा गर्ने अवस्था पैदा हुने देखिन्छ । जसले सम्बद्ध क्षेत्रको साख अभिवृद्धि गर्नुका साथै निर्दिष्ट कानुनी अवधारणालाई पूर्णरूपेण पालना गर्दै नयाँ र नौलो अवसरको खोजीमा लगनशील रहन हरपल प्रेरणा प्रदान गर्नेछ ।
किनकि सञ्चालनमा रहेका औद्योगिक समूह वा व्यावसायिक घरानाको साखमा कुनै प्रकारको विचलनको परिस्थिति निर्माण भए अन्ततोगत्वा त्यसले समग्र व्यवसायमा नै ऋणात्मक असर पारी घाटा उन्मुखतातर्फ अग्रसर गराउने भएकाले समयमा नै साखको वर्चस्व कायम राख्न विशेष सावधानी अपनाउनु श्रेयष्कर रहन्छ ।
यसका अतिरिक्त न्यून मुनाफालाई आत्मसात् गर्दै सोमा आधारित अत्यधिक उत्पादन प्रवद्र्धन तथा बजारीकरणको यात्रालाई विस्तृतीकरण गर्नुपर्ने हुन्छ । जसका लागि अमूल्य ब्रान्ड संरक्षण तथा सुधारसहितको उच्च गुणस्तर मापनका विविध विधिलाई विधिसंगत प्रक्रियाका माध्यमबाट अपनाउने प्रयासले मात्र पनि व्यापारचक्रले आफ्नो रफ्तारको गतिशीलता तथा सुशासन हासिल गर्न कुनै प्रकारको कठिनाइको सामना गर्नुपर्ने छैन भन्ने विश्वास लिन सकिन्छ ।
यी यस्ता विषयवस्तुहरू हुन्, जसको सकारात्मक विकासबाट सम्बद्ध क्षेत्रको अस्तित्व कायम रहनेछ भन्ने कुराको आवश्यक निराकरण अवश्य पनि हुनेछ । साथै, उचित प्रबन्धगत विशेषतामा आधारित रहेर पुँजी निर्माण एवं विस्तृतीकरण प्रक्रियालाई अविलम्ब चलायमान बनाउनुपर्ने हुन्छ । व्यवसायको प्राणतत्व मानिएको मानव पुँजीका रूपमा रहेको श्रमको उचित सुरक्षा प्रदान गर्दै प्रेरणात्मक भावनाको विकासलाई अगाडि बढाउँदा जहिले पनि सकारात्मक नतिजाको अपेक्षा गर्नुपर्नेछ । जसबाट सामाजिक उद्देश्य प्राप्तिको लक्ष्य हासिल गर्नुका साथै उपभोक्ता सन्तुष्टिको क्षेत्रमा सधैं नै एक कदम अगाडि बढ्न सहयोगीको भूमिका निर्वाह हुने देखिन्छ । यसका साथै उत्पादनका लागि आवश्यक पर्ने मसिनरी, पुँजी, श्रम, भूमि, दक्षता तथा नवप्रर्वद्धनको बेजोड मिश्रणलाई एकआपसमा समाविष्ट गर्दा निस्कने सकारात्मक परिणाम नै व्यावसायिक सुशासनको मूलधर्मितासमेत हो भन्दा फरक नपर्ला ।
तसर्थ, कायमी अभिलेखको चुस्त–दुरुस्त खाता व्यवस्थापन तथा आयव्ययका अतिरिक्त व्यावसायिक–औद्योगिक समूहमा कायम रहन आएको कच्चा पदार्थ एवं व्यावसायिक उत्पादनको स्टोर दाखिलाको बीचमा रहने तादात्मक भिन्नताले पनि सम्बद्ध क्षेत्रको सुशासनको मूलधर्मितामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने देखिन्छ । किनकि आयातित कच्चा पदार्थको अनुपातमा के–कस्तो र कति परिमाणको वस्तु तथा सेवाको उत्पादन भई बिक्री तथा बजारीकरण भयो भन्ने प्रश्नको आधारमा आवश्यक समायोजनात्मक तालमेल मिल्न सकेन भने व्यवसायको गति ह्रासोन्मुखतातर्फ अग्रसर हुने निश्चित छ । किनभने व्यावसायिक क्षेत्र निश्चित रूपमा उपादन तथा बिक्री प्रयोजनसँग सम्बन्धित रहेकै कारण जिन्सी वस्तु तथा सेवाको क्षेत्रमा पनि पारदर्शिताजन्य व्यवहारको खाँचो रहन्छ भन्ने तथ्यगत विशेषतालाई हामी व्यवसाय तथा औद्योगिक समूहमा रम्न चाहने जो–कसैले पनि सहजै भुल्न मिल्दैन । अन्यथा यस क्षेत्रको सुशासन भन्ने कुरा फगत नारामा मात्र सीमित रहन जानेछ भनी ठोकुवा गर्न सकिनेछ ।
प्रस्तुत खराब परिसूचकको अभिवृद्धिले नैतिकताविहीन भ्रष्टाचारलाई मौलाउने अवसर प्रदान गर्नेछ, जसलाई व्यवसाय विस्तारको क्षेत्रमा मन्दविषको रूपमा लिन सकिन्छ । किनकि कायमी भ्रष्टाचारको अत्यधिकताले सुरुवाती अवस्थामा लाग्ने कच्चा पदार्थको प्राथमिक मूल्यमा नै सही समायोजन हुन नसक्दा वस्तु तथा सेवाको गुणस्तर खस्कनुका साथै महँगो लागत खर्चको अनधिकृत प्रयोगले उत्पादनजन्य क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्ने अवस्था तयार हुनेछ भन्न सकिन्छ । जुन व्यवसाय विस्तारको मूलधर्मिताविपरीतको कार्य हुनुका साथै सम्बद्ध क्षेत्रलाई क्रमश ह्रासोन्मुखताको गहिरो खाडलतर्फ अग्रसर गराउने ऋणात्मक कदमका रूपमा प्रस्तुत प्रवृत्तिको उत्सर्गतालाई लिँदा त्यति फरक नपर्ला ।
तसर्थ एक्काइसौं शताब्दीको प्रविधिमैत्री अवधारणाको सफल गन्तव्यको पारितोषिकबापत प्राप्त हुन आएको डिजिटल रूपान्तरण प्रविधिलाई व्यवसायभित्र समाविष्ट गर्ने परम्पराको विकासले स्वच्छ व्यवसायको मूलमन्त्रलाई व्यावहारिक यथार्थमा रूपान्तरण गर्न सकिने अवस्था पैदा हुनेछ । जसका लागि व्यवसायको पूर्ण ज्ञान हासिल गर्दै सम्भावित अपराधजन्य खतराबाट पृथक् रहन आवश्यक पर्ने महत्वपूर्ण सूचना प्रविधिलाई तुहिनबाट जोगाउनु अत्यन्त जरुरी हुन्छ । यथार्थपरक सूचना तुहिएकै कारण कतिपय अवस्थामा लक्ष्यअनुरूपको प्रगति हासिल गर्न व्यावसायिक समूह असक्षम रहेको पाइयो ।
प्रस्तुत चुनौतीहरूलाई चिर्दै असाधारण रूपमा जोखिम वहन गर्न सक्ने क्षमताको विकासले सफल व्यावसायिक नेतृत्वदायी भूमिकालाई व्यवहारमा परिणत गर्न सकिने अवस्था पैदा हुने देखिन्छ । जसबाट आत्मविश्वासको अभिवृद्धि हुँदै आफ्नो कार्यप्रतिको निरन्तरता तथा उच्च बफादारीको कसीमा उत्साहित बन्न प्रेरणा प्राप्त हुनेछ । यस प्रकारको कार्यको विकासबाट व्यावसायिक सुशासनको मूलधर्मितामा कुनै पनि प्रकारको असहज परिस्थितिको निर्माण हुनेछैन भन्ने कुराको विश्वास लिन सकिनेछ ।
जसका लागि उपभोक्ताको सन्तुष्टि नै व्यवसायको प्राण मानिए तापनि उक्त क्षेत्रमा बेलाबखत देखिने ऋणात्मक असरको विकासले उपभोक्ताको मन फेर्ने सम्भावनाले प्राथमिकता हासिल गर्ने हुँदा तत्सँग सम्बन्धित क्षेत्रमा लगानीअनुरुपको प्रतिफल प्राप्त गर्न कठिनाइ उत्पन्न हुने गरेको मात्र हो । जुन दण्डहीनताको अभावका कारण निम्तिने गर्छ । व्यावसायिक लोकतान्त्रिक चरित्रको नाममा कायम रहने अधिक खुलापनको विकासले जवाफदेहिताको अभाव रहन गई उत्पादनमा समेत नकारात्मक ऊर्जाको विकास भई समस्या सिर्जना हुने भएकाले चौबीसै घण्टा निरीक्षण तथा नियमन प्रक्रियालाई सुचारु राख्नुपर्ने हुन्छ ।
विपरीत अवस्था पैदा भए सुशासनको गति मन्द हुने कुरामा हामीहरू कसैको पनि भिन्न मत रहन सक्दैन । अतः उपलब्ध श्रमलाई स्थानीय स्तरबाट नै आपूर्ति गर्दा न्यून रूपमा भए पनि बेरोजगारी समस्याको हल गर्न व्यावसायिक समूह समक्ष रहनेछन् भन्ने विश्वास लिन सकिन्छ । श्रमबापत प्राप्त हुन आएको सेवाशुल्क स्थानीय स्तरको आम्दानीको दर्विलो स्रोत भएकाले जीवन निर्वाहलाई सुचारु गर्न व्यावसायिक सुशासन कायम रहनु अत्यन्त जरुरी भइसकेको छ । किनकि स्थानीय स्तरमा खेर जान सक्ने सम्भावना भएका सामग्रीहरू व्यवसाय विस्तारका लागि प्राथमिकताप्राप्त कच्चा पदार्थको रूपमा प्रयोग हुन सक्नेछन् ।
किनकि व्यवसाय विस्तारको क्रममा स्थानीय आपूर्तिकर्ताबाट प्राप्त हुन आएको कच्चा पदार्थ उत्पादन तथा प्रशोधनपश्चात् गुणस्तरयोग्य व्यावसायिक कच्चा पदार्थको रूपमा रूपान्तरण हुने हुँदा स्वदेशभित्र स्वदेशी उद्योगका लागि सर्वसुलभ कच्चा पदार्थको रूपमा प्रयोगमा ल्याउँदा स्वदेशी मालवस्तुको उत्पादन सस्तो तथा गुणस्तरयोग्य हुने भएकै कारण अत्यधिक बजारीकरणको सम्भावना विकास तथा विस्तारमा यस प्रकारका कदमहरू निकै नै सराहनीय रहँदै आएको छ । अर्कातर्फ उक्त कच्चा पदार्थलाई बाह्य बजारीकरण गर्ने अवस्था तयार भए सञ्चित वैदेशिक मुद्राको अभिवृद्धि तथा बचतीकरणमा व्यावसायिक सुशासनको मूलधर्मिताले आफ्नो भिन्नै पहिचान बनाउन सक्षम रहनेछ भन्ने विश्वास लिन सकिनेछ ।