Logo

आधारभूत अस्पताल लिम्सामा पाँच किलोवाटको सौर्य ऊर्जा

सुर्खेत– विद्युत अभावमा समस्य भोग्दै आएको जाजरकोट बारेकोट गाउँपालिकाको आधारभुत अस्पताल लिम्सामा पाँच किलोवाटको सौर्यऊर्जा जडान गरिएको छ । भूकम्पपछि उपचार कार्यमा असहज आई समस्य भोग्दै आएको अस्पताल अहिले टेन्टभित्र सञ्चालन हुँदै आएको छ ।

टेन्टभित्र सञ्चालन हुँदै आएको अस्पतालमा विद्युत सेवा आपूर्ति गर्नका लागि विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा पाँच किलोवाट क्षमताको सोलार सिस्टम (सौर्यऊर्जा) जडान गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जानकारी दिए । सोलार सिस्टम जडान कार्य सम्पन्न गरेपछि मंगलबार नै विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख प्रमुख डाक्टर राजेश सम्भाजी पाण्डवले निर्माण कार्य सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्र विन्दु बारेकोट नै रहेको छ । त्यस्तै संगठनले आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण गरेर सेवा प्रवाहमा सहज बनाएको अध्यक्ष गिरिले बताए । भूकम्पले गर्दा स्वास्थ्य सेवा प्रवाहमा मुस्किल भएपछि गाउँपालिकाका अध्यक्ष गिरिको आग्रहमा संगठनले सोलार सिस्टम, अस्थायी संरचना निर्माण गरेर सेवा प्रवाहलाई सहजता ल्याइएको हो । दैनिक दर्जनौ बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । चिसोका कारण बिरामीको संख्या बढेको छ ।

गाउँपालिकाकामा केन्द्रीय लाइन विस्तार नहुँदा विद्युतको समस्या पर्दै आएकोमा तत्कालका लागि हल भएको छ । गाउँपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा पनि भूकम्पका कारण क्षति भएको र विद्युत अभावमा सेवा प्रवाहमा समस्य हुँदै आएको छ । भूकम्पले क्षति भएको संरचनामा उपचार सम्भव नभएपछि सबै खालका सेवा टेन्टबाट सुरु गरिएको छ ।

पालिकाद्वारा गाउँगाउँमा स्वास्थ्य सेवा
गाउँपालिकाद्वारा सबै बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नका लागि शिविर सञ्चालनमा ल्याइएको छ । प्रजनन स्वास्थ्यदेखि मनोवैज्ञानिक परामर्श लगायतका सेवा सञ्चालन हुँदै आएका छन् । सबै गाउँमा पुगेर भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराएको अध्यक्ष गिरिले जानकारी दिए । विभिन्न निकायको सहयोग लिएर स्वास्थ्य सेवा सबैलाई दिएको उनले जानकारी दिए ।

लिम्सामा आयुर्वेद स्वास्थ्य शिविर तथा सक्लामा प्रजनन स्वास्थ्य शिविर सञ्चालनमा ल्याई सेवा प्रवाह भइरहेको अध्यक्ष गिरिको भनाइ छ । सबै वडामा खोप सेवासमेत सम्पन्न भएको छ । सुत्केरी महिला तथा गर्भवतीलाई न्यानो कपडादेखि नियमित स्वास्थ्य संस्थामा आएर जाँच गराउन जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्