राष्ट्रिय प्रसारणलाइन अनियमित हुँदा सास्ती खेप्दै कर्णालीबासी
जुम्ला– जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बत्ती भरपर्दो नहुँदा स्थानीयले सास्ती पाएका छन् । बजारमा ट्युसन पढ्ने विद्यार्थीदेखि स्थानीय व्यापारी तथा उपभोक्ता राष्ट्रिय प्रसारण लाइनको बत्ती अनियमित हुँदा मर्कामा परेका हुन् ।
जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइन पुगेको साढे दुई वर्ष बित्यो । २०७८ साल साउन १८ गते जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । नियमित बत्ती अभावको समस्या झेलिरहेका जुम्लाबासी राष्ट्रिय लाइन पुगेसँंगै अँध्यारोमुक्त हुने आशामा थिए । चन्दननाथ नगरपालिका–५ का खडानन्द न्यौपाने जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिने चर्चा चल्दा बत्ती अभावले भोग्नु परेका सबै समस्या अन्त्य हुने आशामा थिए ।
लामो समयदेखि व्यापारसमेत गर्दै आएका न्यौपाने बत्ती पुगेपछि फ्रिज चलाउँला, पर्याप्त बत्ती आउला, गाउँघर झिलिमिली होला, विद्यार्थीलाई पढ्न सहज होला भन्ने आशा गरिए पनि सबै निरासा बनेको बताउँछन् । उनी भन्छन्, ‘जुम्लामा बत्तीको लाइन पुगेको दुई वर्ष भयो । तर उपभोक्ताले चाहेको बेला बत्ती पाएका छैनन् । बत्ती आए पनि मोबाइलसम्म चार्ज हुँदैन । फ्रिज चल्ने, साना उद्योग व्यवसाय धान्ने कुरा परकै छ । हिउँद सुरु भएदेखि बत्ती अनियमित हुँदा निकै समस्या भएको छ । राष्ट्रिय लाइनप्रति धेरै अपेक्षा गरिए पनि व्यवस्थापन गतिलो नहुँदा नागरिकले दुःखमात्रै पाएका छन् ।’
राष्ट्रिय लाइन पुगेपछि प्रायले घरमा मिक्सर, लुगा सिलाउने मेसिन, फर्निचर उद्योगदेखि इलेक्ट्रोनिक व्यवसायसमेत सुरु गरेका छन् । बत्ती नहुँदा घरको मिक्सरमात्र थन्किएको छैन । लाखाैं ऋण गरेर सञ्चालन गरिएका व्यापारसमेत ठप्प छन् । यतिबेला जुम्ला सदरमुकाम ट्युसन पढ्ने विद्यार्थीले भरिभराउ छ । बत्ती नियमित नआउँदा ३/४ वर्ष पहिलेजस्तै क्याण्डल बाल्नु पर्ने स्थिति छ । जसले पढाइमा समेत बाधा पुगिरहेको विद्यार्थी सितला कामीले बताइन् ।
प्रायः बत्ती गइरहने, आए पनि ९/१० बजेपछि मात्रै अलिक पावर आउने बिहान बेलुकाको ६–९ बजेसम्म पावर नै नआउने जस्ता तमाम समस्या हुँदा सरोकारवाला पक्ष मुकदर्शक बनेको स्थानीय चौलागाईंको गुनासो छ । कोहलपुर, सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुगेको लाइनमा पर्याप्त सबस्टेसन नहुनु, दूरी लामो हुनु, भौगोलिक विकटता लगायतका कारणले जुम्लामा राष्ट्रिय प्रसारण लाइन भरपर्दाे हुनसकेको छैन ।
अत्यावश्यक समयमा बत्ती नआउने र रातीको समयमा आएर कुनै अर्थ नहुने स्थानीय पूर्णसिंह कठायत बताउँछन् । राष्ट्रिय प्रसारण लाइन भरपर्दाे नहुँदा कर्णालीले सास्तीमात्रै खेपेको छ । उनले भने, ‘अस्पताल गयो बत्ती छैन भनेर एक्सरेसमेत नगरी फिर्ता हुनुपरिरहेको छ । बैंक गयो बत्ती नहुँदा इन्टरनेट छैन भन्छन् । घरमा खाना पकाउँदा, खाने समयमा अँध्यारै, क्याण्डल बालेर कट्टा गर्नुपर्छ । यसरी नाम मात्रको नेसनल ग्रिडको काम छैन । सुधारमा ध्यान दिन जरुरी छ ।’
हिउँदको चिसोमा कतिले घरमा चिसो छल्न हिटरसमेत खरिद गरेका छन् । तर मोबाइल नै चार्ज नहुने बत्तीले हिटर चल्ने स्थिति नभएपछि इलोक्ट्रोनिक सामान सबै थन्किएको उनको भनाइ छ ।
राष्ट्रिय प्रसारण लाइनको बत्ती भरपर्दाे नहुँदा जुम्लालगायत कर्णालीका अन्य आठ जिल्ला पनि प्रभावित भएका छन् । कर्णालीका १० जिल्लामध्ये नौ जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । बत्ती अनियमित हुँदा सबै जिल्लाको अवस्था उस्तै छ ।
लाइन विस्तारको काम गाउँगाउँसम्म गरे पनि बत्ती नआउँदा दाउरा बाल्नु पर्ने, अँध्यारोमै काम गर्नुपर्ने जस्ता सास्ती खेप्नुपरेको तातोपानी–८ का विजय शाहीले बताए । जिल्लाकै दुर्गम टोप्लामा पनि लाइन विस्तार भएको छ । शाहीका अनुसार स्थानीयबत्ती हुँदा नियमित आइरहने गरे पनि राष्ट्रिय बत्ती पाहुनाजस्तै आकलझुक्कल आउने गरेको छ । टोप्लाको स्थानीय बत्ती गत असोजको बाढीले बगाएको थियो ।
लोड बढी हुँदा पावरमा समस्या
हिउँदको समयमा बत्तीको लोड बढी भएकोले पावर कम आएको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका राम आशिष शाहको जवाफ छ । ११ केभी प्रसारण लाइनको दूरी लामो हुनु, सुर्खेत, दैलेख कालिकोटमा बढी बिग्रिनु, बीचबीचमा सबस्टेसन नहुनले हिमाली जिल्लामा बत्ती अफडाउन भएको प्रमुख शाहले जानकारी दिए । हिउँदको समयमा लोड बढी हुने भएकोले बत्तीको भोल्टेज कम भएको उनको दाबी छ ।
उनका अनुसार ३३ केभी प्रसारण लाइनको काम भइरहेकाले पनि बत्ती आउने जाने भएको छ । यद्यपि विगतको भन्दा बत्ती नियमित आइरहेको नेपाल विद्युत प्राधिकरण जुम्लाका प्रमुख रामआशिष शाहीको दाबी छ ।
प्रदेश राजधानी सुर्खेतपछिको ठूलो सहर जुम्लामा नाममात्रको राष्ट्रिय प्रसारण लाइन पुग्दा स्थानीयले पाएको सास्तीलाई मध्यनजर गर्दै दिगो र भरपर्दो बिजुली व्यवस्थापनमा तीनै तहका सरकारको ध्यानुपर्ने कर्णालीबासीको माग छ ।
केही महिनाअघि जुम्ला पुगेका निर्देशक घिसिङले बत्ती अभावले कुनै काम नरोकिने, बत्तीको निरन्तरता र नागरिकको पहुँच वृद्धि गर्ने बताएका थिए । तर राष्ट्रिय लाइन औपचारिकतामै सीमित हुँदा कर्णालीका नागरिकले सास्ती पाएका छन् ।
राष्टिय लाइन पुगे पनि भरपर्दाे नहुँदा स्थानीय जलविद्युत आयोजना निर्माणमा समेत जोड दिइएको छ । भौगोलिक हिसाबले जुम्लाका बस्ती दुर्गम भए पनि बिजुली उत्पादन र प्रवाहका दृष्टिले राष्ट्रिय प्रसारण लाइनभन्दा स्थानीय विद्युत भरपर्दाे मानिएको छ ।