२० अर्बको जगदुल्ला जलविद्युतलाई निर्माण स्वीकृति
जुम्ला– जगदुल्ला जलविद्युत आयोजनाको ईआईए प्रतिवेदनले स्वीकृति पाएको छ । कर्णाली सरकारको पाँच प्रतिशत सेयर लगानी रहेको यो आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृतिसँगै निर्माण स्वीकृति पाएको हो ।
ईआईए स्वीकृतिदेखि उत्पादन अनुमति लिने काम अन्तिम चरणमा पुगे पनि विद्युत उत्पादनको काम आगामी वर्षबाट मात्रै सुरु हुने आयोजना प्रमुख सञ्जय सापकोटाले बताए । उनका अनुसार त्योभन्दा अघि पहुँच सडक, आवास गृह लगायतका संरचना निर्माण गरिनेछ ।
२० अर्ब लागतमा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीको आर्थिक समृद्धिमा नै टेवा पुर्याउने आशा छ । आयोजनाले दैनिक १ करोड आम्दानी गर्ने अनुमान छ । वार्षिक रुपमा आयोजनाले सरकारलाई राजस्व मात्रै २९ करोड बुझाउने छ । आयोजनाका लागि विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, विद्युत प्राधिकरणको ९ प्रतिशत सेयर, कर्णाली सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहेको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गरिनेछ ।
पाँच प्रतिशत सेयर लगानी गरेको प्रदेश सरकारले गत वर्ष ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेको थियो । प्रदेश सरकारले प्रतिसेयर एक सयका दरले ११ करोड ७१ लाख ५० हजार सेयरबापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनीलाई दिएको हो । जगदुल्ला जलविद्युत कर्णालीका ठूला आयोजनामध्ये एक हो । आयोजना अघि बढाउन वन तथा वातावरण मन्त्रालयले प्रभावित क्षेत्रका नागरिकको सुझावसहितको ईआईए प्रतिवेदन माग गरेको थियो ।
प्रतिवेदन मन्त्रालयले स्वीकृति दिएसँगै आयोजना निर्माणको प्रक्रियामा गएको हो । कर्णालीको दुर्गम डोल्पा जिल्लामा विद्युत विकास विभागले अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना बनाउन लागेको छ । १ सय ६ मेगावाट क्षमताको आयोजनालाई अन्तिम रुप दिने तयारी छ । मन्त्रालयले विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली–२०५० को नियम १५ उपर आवश्यक जाँचबुझ गरेर जगदुल्ला हाइड्रोपावर कम्पनीलाई विद्युत उत्पादन अनुमतिपत्र दिने तयारी गरेको आयोजना निर्देशक सापकोटाले बताए ।
आगामी २०८६ असारभित्र सम्पन्न गर्नेगरी आयोजना निर्माण अघि बढाउन लागिएको छ । उनले भने, ‘दुई वर्षअघि डीपीआर सम्पन्न भइसकेको थियो । डोल्पाको मुड्केचुला गाउँपालिका–७ इलमा विद्युत उत्पादन गृह रहनेछ । जगदुल्ला गाउँपालिका–१ को हुरीकोटमा २३ मिटर अग्लो जलाशययुक्त बाँध निर्माण हुनेछ । आयोजनाका विभिन्न संरचनाको निर्माणका लागि ५२.७६ हेक्टर जग्गा आवश्यक पर्नेछ ।’
जगदुल्ला स्वदेशी लगानीबाटै निर्माण गरिन लागेको आयोजना हो । विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौताका लागि फाइल अगाडि बढिसकेको आयोजनाले जनाएको छ । कर्णालीमा १८ हजार मेगावाट जलविद्युत उत्पादनको स्रोत र सामथ्र्य रहेको अनुमान छ । हालसम्म उत्पादन भने निकै न्यून छ । लगानी अभावकै कारण फुकोट कर्णाली, बेतन कर्णाली, सानी भेरी, ठूली भेरीजस्ता ठूला विद्युुत आयोजना थन्किएका छन् ।