Logo

क्रिकेट मैदान बनाउन जग्गा खोजी

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको खेल क्षेत्रको बजेट बढाउने बताएका छन् । पोखरामा सोमबारदेखि सुरु भएको चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा खेलकुदको धेरै सम्भावना रहेकोले यसको प्रवर्द्धनका लागि आउँदो आर्थिक वर्षमा खेलकुदमा बजेट बढाउने आश्वासन दिएका हुन् ।

प्रदेशका विभिन्न जिल्लाका गाउँ ठाउँ जाँदा फुटबल र भलिवल खेलको क्रेज उस्तै र खेलाडी पनि उत्कृष्ट प्रदर्शन गरेको देखेर आफू निकै प्रभावित भएको उल्लेख गर्दै उनले खेलाडीलाई प्रोत्साहन गर्न र खेलकुद आयोजना गर्ने संस्थालाई लक्षित गरी बजेट विनियोजन गर्ने आशय व्यक्त गरेका हुन् । आफूहरूले चाहेर पनि सिमित स्रोत र साधनका बाबजुत सरकार चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले कुनै न कुनै शीर्षकबाट भए पनि मिलायर प्रदेशको खेलकुदलाई अघि बढाउने योजना भएको जनाए ।

पर्यटनलाई खेलकुदसँंग जोड्नसके प्रदेशको खेल पर्यटनको अथाह सम्भावना भएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । गण्डकी प्रदेश सरकारले जुनियर खेलकुद प्रतियोगिता आयोजना गरी तल्लो तहबाटै खेलकुदको विकासमा लाग्ने बताउँदै उनले सरकारले अब खेलकुदलाई उच्च प्रथामिकता दिने दाबी गरे । गण्डकी खेलकुद पदकबाट प्रदेशका उत्कृष्ट खेलाडी सम्मान गर्ने उनले जनाए । प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना अघि बढाई रहँदा जग्गा प्राप्ति हुन नसकेको मुख्यमन्त्री पाण्डेले गुनासो गरे ।

जग्गा प्राप्त भएमा यसै वर्षबाट अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम अघि बढाउने उनले दाबी गरे । प्रदेश सरकारले हाइअल्टिच्यूट प्रशिक्षण केन्द्र मुस्ताङमा बनाउँदै गरेको मुख्यमन्त्री पाण्डेले जनाए । गण्डकी प्रदेश सांसद प्रकाश बरालले पोखरामा भलिबल खेलको दिगो रुपमा विकास गर्न इण्डोरहल अति नै आवश्यक भएको बताए । ग्रुपका अध्यक्ष नारायण शर्माले पोखरामा भलिवलको इण्डोरहल निर्माण गर्न पहल गर्ने बताए ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले अग्रज समाजिक व्यक्तित्व कर्णेल जेपी क्रसलाई सम्मान गरे । एक सय वर्ष प्रवेश गरेका उनलाई शिक्षा, खेलकुद तथा सामजिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै टाइगर ग्रुपले अफ पोखरा नेपालले सम्मान गरेको हो । प्रतियोगिता यही माघ ६ गतेसम्म सञ्चालन हुनेछ भने प्रतियोगितामा महिला तथा पुरुषतर्फ ६/६ टिम सहभागी भएको प्रतियोगिताका संयोजक दीपक कार्कीले जनाए ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित पाँच लाख ५५ हजार र उपविजेता टिमले समान नगद दुई लाख ५५ हजार तथा तेस्रो हुने टिमले एक लाख २५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रूपमा उत्कृष्ट हुने खेलाडीले १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहार स्वरुप सामसुङको मोबाइल प्रदान गरिने सचिव नेपालीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न एक करोड १५ लाखभन्दा बढी खर्च हुने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए । उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनमा तीन खेल सम्पन्न भएका छन् भने उद्घाटन खेल भने स्थगित भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र चन्द्रागिरि न्यू डायमण्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ शसस्त्र प्रहरीको एपिएफ क्लब विजयी भयो । सोमबार भएको उद्घाटन खेलकै क्रममा खराब प्रकाशका कारण गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबबीचको खेल स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्