Logo

प्रोभिजन बढ्दा बैंकको नाफा प्रभावित

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको खुद नाफा करिब ६ अर्ब रुपैयाँले घटेको छ । जोखिम व्यवस्थाबापतको रकम दोब्बरभन्दा धेरैले बढेपछि नाफामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १५.८८ प्रतिशत कम हो । आव २०७९–८० को मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ७५ करोड २० लाख खुद नाफा गरेका थिए ।

चालु आवको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्थाबापत ३३ अर्ब ८९ करोड रुपैयाँ छुट्याएका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै हो । गत आवको मंसिरसम्ममा प्रोभिजन रकम १६ अर्ब ४ करोड थियो । चालु आव सुरु भएसँगै बैंकहरूले कर्जा लगानी भन्दा पनि असुलीलाई प्राथमिकतामा राखेपछि जोखिम व्यवस्थाबापतको रकम फिर्ता हुने क्रम बढेको हो ।

आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थाबापतको फिर्ता रकम भने बढेको छ । यो अवधिमा १४ अर्ब ३९ करोड रुपैयाँ जोखिम व्यवस्थाबाट फिर्ता आएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा साढे ३ गुणा धेरै हो । गत आवको सोही अवधिमा बैंक वित्तीय संस्थाले उक्त शीर्षकमा ४ अर्ब ५७ करोड रुपैयाँमात्र फिर्ता लिएका थिए ।

चालु आवको कात्तिकको तुलनामा मंसिरमा बैंक तथा वित्तीय संस्थाको नाफा बढेको छ । कात्तिकमा खुद नाफा ७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेकोमा मंसिरमा ८ अर्ब २९ करोड पुगेको छ । चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरूको खुद नाफा २८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ छ । गत कात्तिकमा यस्तो नाफा २० अर्ब ७३ करोड थियो । गत आवको मंसिरसम्ममा भने बैंकहरूले ३३ अर्ब ८७ करोड करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

त्यसैगरी चालु आवको मंसिरसम्ममा विकास बैंकहरूले २ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । कात्तिकमा यस्तो नाफा १ अर्ब ६२ करोड ९० लाख थियो । गत आर्थिक वर्षको मंसिरसम्ममा भने विकास बैंकहरूको खुद नाफा २ अर्ब ४२ करोड रुपैयाँ थियो ।

चालु आवको मंसिरसम्ममा फाइनान्स कम्पनीले २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । कात्तिकसम्ममा २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आवको मंसिरसम्ममा भने फाइनान्स कम्पनीहरूको खुद नाफा ४५ करोड २० लाख रुपैयाँ थियो । अर्थतन्त्रमा आएको सुस्तताले ऋणीको कर्जा तिर्ने क्षमता कमजोर बनेको छ, जसको असर बैंक वित्तीय संस्थाको नाफामा पर्न गएको हो । कर्जा समयमा नउठ्ने समस्या बढेपछि बैंकहरूले कर्जामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रोभिजनिङ गर्नुपर्दा नाफामा असर गरेको हो ।

कुन बैंकले कति कमाए नाफा ?
चालु आवको पाँच महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । यो बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो । गत कात्तिकको तुलनामा बैंकले ७९ करोड ९६ लाख रुपैयाँ बढी नाफा कमाएको छ । नाफाका आधारमा ग्लोबल आइएमई बैंक दोस्रो नम्बरमा छ । बैंकले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ पाँच महिनामा कमाएको छ । मंसिरमा मात्रै बैंकले ७९ अर्ब ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

तेस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । यो बैंकले मंसिरमा ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत कात्तिकसम्ममा ऋणात्मक रहेको कृषि विकास बैंक पनि मंसिरमा नाफामा देखिएको छ । कात्तिकसम्म २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा रहेको यो बैंकले मंसिरमा भने १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । नाफाका आधारमा एनआईसी एशियालाई प्राइम बैंकले उछिनेको छ । पाँच महिनामा प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । एनआईसी एसियाले भने यो अवधिमा १ अर्ब ८५ करोड १ लाख नाफा कमाएको छ । हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबिले १ अर्ब ४५ करोड १३ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, सानिमाले १ अर्ब ७ करोड ६३ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब २५ करोड ६० लाख, कुमारीले १ अर्ब ३० करोड १५ लाख र नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
पाँच महिनामा चार बैंकको नाफा भने १ अर्बभन्दा कम छ । लक्ष्मी सनराइजले ८९ करोड ८० लाख, सिद्धार्थले ६२ करोड ३८ लाख, सिटिजनले ७४ करोड ३५ लाख र नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्