Logo

स्थानीय तहको नीति कार्यक्रममा युवा उपेक्षित

जुम्ला– स्थानीय तहको नीति कार्यक्रममा युवालाई उपेक्षा गरिएको सहभागीहरूले बताएका छन् । देशमा संघीयता कार्यान्वयनको करिब सात वर्ष पुग्न लाग्दासम्म पनि युवालाई प्रोत्साहन दिन नसक्दा उपेक्षामा परेको उनीहरुले बताएका हुन् । रोजगारी सिर्जना, उत्पादन वृद्धि, आर्थिक समृद्धि, समाज रूपान्तरणलगायतका सुधारको अपेक्षासहित तीन तहको सरकार सञ्चालनमा आए पनि युवालाई प्राथमिकता दिन नसकेकोमा सहभागीहरूले जोड दिए ।

स्थानीय तहले भौतिक विकासलाई मात्र बढी जोड दिएको कारण युवा रोजगारीका सवालहरू ओझेलमा परेका हुन् । कोरोनापछि बेरोजगारी चुलिँदो अवस्थामा छ । कोरोनाबाट प्रभावित युवाहरू समस्यामा छन् । तर, तीनै तहका सरकारले युवामैत्री नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । स्थानीय तहले बनाउने वार्षिक नीति तथा कार्यक्रममा युवाका सवाललाई उपेक्षा गर्दा बेरोजगारीसँगै युवा पलायन बढेको हो ।

यसैबीच किर्डाकद्वारा सञ्चालित राईज टु परियोजनाले तिला र तातोपानीका कोभिड प्रभावित युवालाई रोजगारी दिन विभिन्न कार्यक्रम गरिरहेको छ । गतसाता तातोपानी गाउँपालिका वडा नं दुईमा युवालाई सरकारी तथा निजी क्षेत्रसँग जोड्ने सचेतना कार्यक्रममा सहभागी युवाले पालिकाका कुनै कार्यक्रम युवामैत्री नभएको गुनासो गरे । कार्यक्रममा रोजगार शाखा, कृषि शाखा, पशु शाखा र उद्यम विकास शाखा प्रमुखले आफ्ना कार्यक्रमका बारेमा धारणा राखेका थिए ।

तर, युवा लाभान्वित हुने खालका कुनै कार्यक्रम रहेको थिएन । युवाले आफ्ना मागहरू सम्बन्धित निकायमा नराख्ने र दोस्रो पालिकाले युवाका सवाललाई प्राथमिकता नदिँदा युवा ओझेलमा परेका हुन् । वल्डभिजनको सहयोग र किर्डाक नेपालद्वारा सञ्चालित ‘साना उद्यम र रोजगारीमार्फत आम्दानी वृद्धि’ (राईज टु) परियोजनाले कोरोना प्रभावित युवाहरूलाई स्वरोजगार बनाउन तिला र तातोपानीमा काम गरिरहेको छ । सोहीअन्तर्गत परियोजनाको आयोजनामा तातोपानी –२ मा सरोकारावाला युवाहरूबीच कार्यक्रम गरिएको हो ।

युवाहरूलाई स्पष्ट हुन र आफ्ना मागहरूलाई राखुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको परियोजनाका सीप विकास तथा दस्तावेजिकरण अधिकृत ऐनबहादुर कठायतले बताए । उनका अनुसार कोरोना प्रभावित बजारको माग अनुसार सीप रोजगार परियोजनाले दिने छ । त्यसका लागि पालिकासँग आवश्यक समन्वय साझेदारीमा विभिन्न कार्यक्रम गरिने छ । सहभागीहरूले कार्यक्रमबाट थोरै भए पनि स्थानीय सरकारले युवाका लागि काम गरे, नगरेको, युवाका योजना प्रक्रियाबारे थाहा पाएको बताए ।

तर हालसम्म स्थानीय सरकार युवाका सवालमा निरीह रहेकोमा दुःख व्यक्त गरे । २ नम्बर वडाध्यक्ष चन्द्रमान बुढाले आगामी दिनमा युवा लक्षित कार्यक्रमलाई जोड दिने बताए । सीप तथा दक्षताका आधारमा अझै युवालाई रोजगार दिन नसकिएको उनको भनाइ छ । तातोपानी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर चन्दले अपेक्षित रूपमा युवाका मुद्दा नसमेटिएको भन्दै यसमा युवा, जनप्रतिनिधि, कर्मचारी सबैको दोष रहेको बताए । आगामी दिनमा युवालाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्