Logo

राजस्वमा चौधरी ग्रुपको १६ अर्ब योगदान

काठमाडौं– चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो ।

अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान उच्च रहेको जिकिर गरिएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो वर्षको तुलनामा राजस्व योगदानमा केही कमी आएको छ ।

अघिल्लो वर्ष ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो । ‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने ।

अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजस्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । उनले राजस्वको अपेक्षित वृद्धिदर हासिल भई राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा जोड दिए ।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

‘चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा तीब्र गतिमा लगानी विस्तार गरिरहेका छौं । नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्‍याउन चाहान्छौं’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने ।

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्