एकैदिनको वर्षाले नेपालगञ्ज डुबानमा «

एकैदिनको वर्षाले नेपालगञ्ज डुबानमा

नेपालगञ्ज-बुधबार बिहानदेखिको अविरल वर्षाका कारण नेपालगञ्ज डुबानमा परेको छ । खासगरी ढल तथा नालाको निकास थुनिएका कारण सामान्य पानी पर्दा समेत नेपालगञ्ज डुबानमा परेको हो । यो अहिलेको मात्र नभएर हरेक वर्ष नेपालगञ्जले झेल्दै आएको समस्या हो । निर्माण गरिएका ढल तथा नालाको समयमा सफाई नहुनु, पानी बग्ने क्षमताभन्दा नालाको साइज सानो बनाइनुले सामान्य वर्षामा पनी डुबान हुने गरेको हो ।बुधबार बिहानदेखि परेको वर्षाले नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
सेतु विक चोक, न्यूरोड, घरवारीटोल, बेलासपुर, बाँकेगाउँ, रानीतलाउ, लगायतका स्थानमा पानी जम्दा आवागमनमा कठिनाइ भएको छ । नगरका केही घरभित्र पानी पसेको छ । न्यूरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिएका कारण नेपालगन्ज उपमहानगरपालिका १० जनस्वास्थ्य कार्यालय पछाडिको बस्ति पनि जलमग्न भएको छ । बिहानैदेखि ठूलो बाढी आएको जस्तो देखिने गरी यहाँका व्यापारिक क्षेत्र पूरै जलमग्न भएका छन । यसक्षेत्रमा व्यवसाय गर्ने व्यापारीहरु पसल बन्द गरेर डुबानबाट सामान जोगाउनतिर लागेका छन् ।
पानीको निकास नहुँदा व्यपारीक मार्ग घरबारीटोलका अधिकांस पसलहरु डुबेको स्थानीय विनोद श्रेष्ठले बताए । सडकमा पानी जम्मा हुँदा आवतजावत गर्नसमेत कठिनाइ भएको उनले बताए । स्मार्ट सिटीको परिकल्पना गर्दै महानगरपालिका बनाउने ध्याउन्नमा लागेको नेपालगन्ज उपमहानगरपालिकामा व्यवस्थित ढलरा नालाको निकास छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाले नाली सफा गर्ने काम भइरहेको जनाएको छ । नेपालगन्जसँगै जोडिएको जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर ७ मा आधा दर्जन बढी घर डुबेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अविरल वर्षाले थप क्षति पु-याउन सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले आग्रह गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पु-याएको क्षतिबारे बुझ्ने काम भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्