दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको तयारी

काठमाडौं– सरकारले माघ एकदेखि सप्ताहव्यापी दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने भएको छ । कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मन्त्रालयअन्तर्गतका कार्यालयले दोस्रो पटक यो दिवस मनाउन लागेको हो ।
सरकारले २०७९ साललाई ‘राष्ट्रिय कृषि जैविक विविधता वर्ष’को रूपमा मनाएको थियो । २०७९ साल भदौ २७ गतेको मन्त्रीपरिषद्ले प्रत्येक वर्षको माघ एक गतेलाई ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’को रूपमा मनाउने निर्णय गरेको थियो । सोही अनुरूप माघ पहिलो सातालाई कृषि जैविक विविधता सप्ताहकै रूपमा मनाउन सुरु गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी अर्यालले जानकारी दिइन् ।
यो दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौं जातजाती तथा धार्मिक एवं सांस्कृतिक परम्पराहरूसँग सम्बन्धित कृषि र खानाका परिकार तथा सम्बद्ध सीपको जगेर्ना गर्नमा मद्दत पुर्याउने उनले बताइन् । उनले स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोगको साथै वातावरण संरक्षणमा समेत टेवा पुर्याउने अपेक्षा रहेकोमा जोड दिइन् ।
राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० मनाउने सन्दर्भमा कृषि विभागका महानिर्देशकको अध्यक्षतामा बसेको सम्बन्धित निकाय र सरोकारवालासहितको बैठकबाट यो वर्षका लागि ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा; संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’भन्ने नारा तय गरेको प्रवक्ता शिवकोटी अर्यालले जानकारी दिइन् । प्रवक्ता शिवकोटी अर्याललका अनुसार माघको पहिलो हप्ताभर कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगबारे जनचेतना मूलक कार्यक्रमहरू आयोजना गर्ने तय भएको छ ।
उक्त बैठकले प्रादेशिक निकायहरू, स्थानीय तहलगायत सरकारी र गैर सरकारी संस्थाहरू र निजी क्षेत्रलाई पनि यस सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी मनाउन अनुरोध गरेको छ । यस वर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारामा आधारित रहेर कृषि आनुवंशिक श्रोतहरू र कृषकका परम्परागत ज्ञान समेतको संरक्षण र दिगो उपयोगमा सचेतना अभिवृद्धिलगायतका कार्यक्रम तथा क्रियाकलाप सप्ताहव्यापी रुपमा आयोजना गर्ने भएको छ ।
कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरूको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिइ राज्यको नीतिमा उल्लेख गरिएको छ । जैविक विविधता संरक्षणमा तिनै तहको सरकारको भूमिका रहने पनि उल्लेख छ । यसै गरी नेपाल जैविक विविधता संरक्षण सम्वन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र समेत रहेको छ ।
कृषि मन्त्रालयका अनुसार पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधता र खास गरी कृषि जैविक विविधताको ह्रासलाई तीव्र बनाएको छ । नेपालमा कृषि आनुवंशिक श्रोत (कृषि बाली एवं सम्बन्धित जंगली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव) मध्ये करिब ४० प्रतिशत लोप भै सकेको हुन सक्ने अनुमान गरिएको छ ।