संघयि तथा प्रदेश सरकार गठन एकैदिन «

संघयि तथा प्रदेश सरकार गठन एकैदिन

संघीय सरकार बनेकै दिन बिहीबार प्रदेश सरकार पनि गठन भएका छन् । केन्द्र सरकार बनेकै दिन केही प्रदेशमा सरकार गठन भएको छ भने केहीमा मुख्यमन्त्री नियुक्त भए पनि शपथग्रहण हुन बाँकी र मन्त्री मण्डल विस्तार हुन बाँकी छ ।
संघीय सरकारको प्रधानमन्त्रीको रूपमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री बनेकै दिन प्रदेश नम्बर १, २ र ५ मा मन्त्रिमण्डल बनेको छ भने प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री नियुक्त भए पनि सपथग्रहण हुन बाँकी छ । बिहीबारबाट सातै प्रदेशमा सरकार गठन भएको छ । प्रदेश नम्बर ७ मा मुख्य मन्त्रीको सपथग्रहण शनिबार राखिएको छ भने ६ को आजलाई तय गरिएको छ । यसअघि नै प्रदेश नम्बर ३ र ४ मा सरकार बनिसकेको छ ।
नवनियुक्त प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रीमण्डल पनि बनाएका छन् । उता बिहीबारै बनेको केही प्रदेशमा पनि मुख्यमन्त्रीसहितको मन्त्रिमण्डल पनि बनेको छ । प्रदेश नम्बर १ मा एमालेका शेरधन राई मुख्य मन्त्री नियुक्त भई सपथग्रहण गरेका छन् । उनले पनि मन्त्रीमण्डल गठन गरेका छन् । उता प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमका लालबाबु राउत मुख्य मन्त्री बनेका छन् । प्रदेश ४, ६ र ७ मा मन्त्रिमण्डल विस्तार भने भएको छैन ।
संघीयता कार्यान्वयनको सिलसिलामा संघीय र प्रदेश सरकार एकपटक बने पहिलोपटक । यो संयोगले केन्द्रमा प्रधानमन्त्रीसहित तीन जना मन्त्री बने पनि वास्तवमा देशमा बनेका मन्त्रीको संख्या भने केही बढी छ । प्रधानमन्त्री पदबाट शेरबहादुर देउवाले राजीनामा दिएलगत्तै ओली दोश्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
विराटनगर संवाददाता मीनकुमार नवोदितका अनुसार प्रदेश १ का मुख्यमन्त्री नेकपा एमालेका संसदीय दलका नेता शेरधन राईले बिहीबार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश प्रमुख राईलाई सपथग्रहण गराएका हुन् । प्रदेश प्रमुख तुम्बाहाङले बुधबार नै संविधानको धारा १६८ को उपधारा १ प्रावधानअनुरूप राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । राईले बिहीबार नै आफ्नो कार्यभार सम्हाले । यस्तै हिक्मतकुमार कार्कीलाई आन्तरिक मामिला तथा कानुन, इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री, जीवन घिमिरे सामाजिक विकास, जगदीशप्रसाद कुसियैत उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भए । उनी हरूले पनि बिहीबार सपथग्रहण गरे ।
उता, प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीलगायत ३ जनाले विभिन्न भाषामा सपथ ग्रहण गरेको संवाददाता किरणकुमार कर्णले बताएका छन् । मुख्यमन्त्री राउतले भोजपुरी भाषामा सपथ लिए भने संघीय समाजवादी फोरम नेपालका विजय यादवले मैथिली र राष्ट्रिय जनता पार्टी नेपालका जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ ग्रहण गरेका हुन् ।
जनकपुरस्थित जनकपुर चुरोट कारखाना लिमिटेडको मैदानमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपालीमा सपथ खुवाएका थिए भने मुख्य मन्त्री गद्दीले भोजपुरी, मन्त्रीहरू क्रमशः विजय यादव र जितेन्द्र सोनलले मैथिली र हिन्दीमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
फोरमका नेता विजय यादवलाई अर्थ मामिला तथा योजना, वन–वातावरण र शिक्षा–सवस्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजपा नेपालका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शपथपछि मुख्यमन्त्री राउतले सम्बोधन गर्दै पाँचवटा ‘स’ लाई केन्द्र बनाइ कार्य गर्ने योजना रहेको बताए । उनले विकासको कामलाई अघि बढाउने कार्यमा लागे प्रदेश नं. २ समृद्ध हुने विश्वास प्रकट गरेका थिए । राउतले सुशासन, शिक्षा, स्वास्थ्य, सिँचाइ, र सडक गरी पाँच ‘स’ मा विकास गर्न सकिए समृद्धि र आर्थिक फडकोलाई कसैले रोक्न नसक्ने बताएका थिए ।
शपथ ग्रहण समारोहमा सपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, उच्च अदालत जनकपुरका मुख्य न्यायधिश उदय चापागाई, २ नं. प्रहरी प्रदेश प्रमुख विजयलाल कायस्थसहितका सुरक्षा अधिकारीहरूको पनि सहभागी हुँदै शुभकामना तथा बधाइ दिएका थिए ।

प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिपरिषद गठन भएको संवाददाता टोपराज शर्माले जनाएका छन् । संविधानको धारा १६८ अनुसार मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले तीन सदस्यीय प्रदेश मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन गरेका छन् । प्रदेश मन्त्रिपरिषदमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी र एमालेका वैजनाथ चौधरी रहेका छन् । तत्कालका लागि मुख्य मन्त्री पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रालय,उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । चौधरीलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीन सदस्यीय मन्त्रिपरिषद गठनपछि मुख्यमन्त्री पोखरेलसहित अन्य दुई मन्त्रीलाई प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । मुख्य मन्त्री र दुबै मन्त्रीले देश र जनताको नाममा सपथ लिएका छन् ।
यसैबीच मुख्यमन्त्री पोखरेलले बिहीबारै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पत्रकार सम्मेलन गरी पोखरेलले प्रादेशिक योजना आयोग गठन गरी प्रदेश नंं ५ लाई समृद्ध र स्मार्ट प्रदेश बनाउने दावी गरे । प्रदेशमा थुप्रै पर्यटकीय स्थल रहेकाले तिनको उचित विकास गरी पर्यटनका माध्यमबाटै उत्पादन र राजस्व बृद्धि गरी आर्थिक विकास र समृद्धि हासिल गरिने बताए । वृहत लुम्बिनी गुरुयोजनाको कार्यान्वयन,बुटवल–भैरहवा जोडेर एउटा, दाङका घोराही–तुल्सीपुर उपमहानगरलाई जोडेर एउटा र नेपालगंज कोहलपुरलाई जोडेर अर्को गरी तीनवटा महानगरपालिका बनाउने मुख्यमन्त्रीले बताए । पाल्पादेखि रोल्पासम्म प्रदेशको छुट्टै लोकमार्ग बनाउने,कालिगण्डकी तिनाउ डाइभर्सन कार्यान्वयनमा ल्याउने, बुटवलको जितगढी किल्लालाई राष्ट्रियस्तरको ऐतिहासिक पर्यटकीय र समारिक महत्वको स्थलको रूपमा विकास गर्ने,प्रदेशको आफ्नै बैंक स्थापना गर्ने,पहाडी जिल्लामा हिल स्टेसनहरू बनाउने योजना आफूसँग रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

ओली दोस्रोपटक प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीले शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् । नेकपा माओवादी केन्द्रको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बनेका ओली ०७२ सालमा पनि ९ महिना प्रधानमन्त्री भएका थिए ।
अपरान्ह ४ बजे सपथ ग्रहण भनिए पनि १ घण्टा ढिलो ५ बजे मात्र प्रधानमन्त्रीको सपथ ग्रहण भएको थियो । ‘ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि’ भनेर राष्ट्रपति भण्डारीले उच्चारण गर्दा ओलीले ईश्वर र देश उच्चारण गरेनन् । उनले जनताका नाममा सपथ लिए ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायत सहभागी थिए । ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सपथग्रहण लगत्तै प्रधानमन्त्री ओली लैनचौरस्थित शहिदपार्क पुगेका थिए । प्रधानमन्त्री ओलीले बिहिबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिमण्डलमा एमालेबाट लालबाबु पण्डित र थममाया थापामगर मन्त्री बनेका छन् । पण्डित जनसंख्या तथा वातावरण र थापामगर महिला तथा बालबालिका मन्त्री भएका छन् । पण्डित निर्वाचित सांसद हुन् भने थापामगर समानुपातितर्फबाट सांसद हुन् । माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनेको भएपनि बिहिबार माओवादीबाट भने कोही मन्त्री बनेनन् । तर, सपथ ग्रहण समारोहमा माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भने सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्