बाँकेमा कृषिको बजेट तथा योजना सार्वजनिक «

बाँकेमा कृषिको बजेट तथा योजना सार्वजनिक

बाँकेमा आर्थिक वर्ष ०७६-७७ मा कृषि क्षेत्रमा खर्च गरिने बजेट तथा योजना सार्वजनिक गरिएको छ ।
कृषि ज्ञानकेन्द्र बाँकेले आयोजना गरेको वार्षिक योजना तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा जिल्लामा खर्च गरिने बजेट तथा योजना सार्वजनिक गरिएको हो । यस वर्ष ज्ञानकेन्द्रले बाँके र बर्दियामा सञ्चालन गर्ने योजना, संघीय सरकारद्वारा विनियोजित ससर्त अनुदान, जिल्लास्थित कृषि ज्ञानकेन्द्र, आठवटै स्थानीय तहले गरी २१ करोड ५८ लाख रुपैयाँ विनियोजन भएको छ । जसमध्ये प्रदेश सरकारअन्तर्गत कृषि ज्ञानकेन्द्रले १३ करोड ५१ लाख, संघीय सरकारको १ करोड ३३ लाख र स्थानीय तहले ६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
ज्ञानकेन्द्र प्रमुख सागर ढकालले चालू आवमा ज्ञानकेन्द्रको चालूतर्फको बजेट १२ करोड ९० लाख र पुँजीगत ६१ लाख १० हजार रहेको जानकारी दिए । “यो बजेट बाँके र बर्दियाका लागि विनियोजित बजेट हो,” उनले भने । केन्द्रअन्तर्गत यस वर्ष लसुन प्याज मिसन कार्यक्रम, फलफूल बिरुवा रोपन अभियानलगायत विभिन्न नयाँ कार्यक्रम सञ्चालन हुने बताए ।
कार्यक्रममा जिल्लाका आठवटा स्थानीय तहअन्तर्गत कृषि शाखाले चालू आवमा विनियोजन गरेको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाले १ करोड ३६ लाख विनियोजन गरेको छ भने सबैभन्दा कम डुडुवा गाउँपालिकाले २९ लाख बजेट छुट्याएको छ । कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख शेरबहादुर वलीले नगरपालिकाको स्रोतवाट यस वर्ष नगरप्रमुख युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरिने बताए । जसका लागि ७५ लाख खर्च गरिने उनको भनाइ छ । त्यस्तै संघीय सरकारअन्तर्गत ससर्त अनुदानबाट कार्यक्रमतर्फ १० लाख र भवन निर्माणका लागि १५ लाख बजेट विनियोजन भएको छ ।
त्यसैगरी जानकी गाउँपालिकाले १ करोड २५ लाख विनियोजन गरेको छ भने संघीय सरकारबाट १० लाख विनियोजन भएको कृषि शाखा प्रमुख मनोज मण्डलले जानकारी दिए । त्यस्तै राप्तीसोनारीले १ करोड ५ लाख विनियोजन गरेको छ भने वैजनाथ गाउँपालिकाले १ करोड, नेपालगन्ज उपमहानगरपालिकाले ७४ लाख, खजुराले ६० लाख र नरैनापुरले ४५ लाख विनियोजन गरेको बताइएको छ ।
संघीय सरकारले प्रत्येक स्थानीय तहलाई विभिन्न कार्यक्रमका लागि ससर्त अनुदानवापत १०-१० लाख पठाएको छ । त्यसका साथै जिल्लाका तीनवटा स्थानीय तहलाई कृषि शाखाको भवन निर्माणका लागि समेत बजेट छुट्याएको छ । जिल्लाका समग्र स्थानीय तहको बजेट हेर्दा कृषिमा स्थानीय सरकारले कम बजेट विनियोजन गरेको भन्दै सरोकारवालाले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सरकारले कृषिबाटै मुलुक आत्मनिर्भर हुने बताइरहँदा स्थानीय सरकारको प्राथमिकतामा कृषि पर्न नसकेको जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत मेहन्द्रजंग शाहीले बताए । तीन तहका सरकारबीच समन्वय हुन नसकिरहेको सन्र्दभमा कृषिको तथ्यांक तथा रिपोटिंग गर्ने फर्मेटको एकरूपता हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ का यामनारायण देवकोटाले नगरपालिकाले बजेट कम विनियोजन ग¥यो भनेर गुनासो गर्ने भन्दा पनी त्यहाँ छुट्याउनु पर्ने क्षेत्रमा बजेट विनियोजन ग¥यो कि गरेन भन्ने कुरा महत्वपूर्ण रहेको बताए । “सहरी क्षेत्रमा कृषि क्षेत्र कम भएर न्यून बजेट छुट्याएको हुनसक्छ,” उनले भने । संघीय संरचनाअनुसार विभिन्न अन्योलता रहेको बताउँदै अन्योलताका बीच सबै निकायसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्