Logo

निक्षेप ४.६ प्रतिशत बढ्दा कर्जा प्रवाह २.३ प्रतिशतमात्र

काठमाडौं– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा प्रवाहमा क्रमशः सुधार हुँदै गएको छ । गत आवको मंसिर महिनासम्मको तुलनामा चालु आवको यही अवधिमा निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुधार भएको हो ।

राष्ट्र बैंकका अनुसार यो मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप २ खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ११ अर्ब १५ करोड (२.२ प्रतिशत) बढेको थियो ।

चालु आवको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब १० अर्ब ६ करोड (२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३० करोड (१.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको छ ।

मंसिरसम्म ६ खर्ब १३ अर्ब रेमिटेन्स
पछिल्लो तथ्यांकले मुलुकको अर्थतन्त्रमा रेमिटेन्सको टेको झन् बलियो बन्दै गएको देखाएको छ । आर्थिक वर्ष २०८०–८१ को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रमस्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७७९ र १ लाख १५ हजार ९४८ थियो ।

मुद्रास्फीति ४.९५ प्रतिशत
२०८० मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत छ ।

२०८० मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको छ । यसैगरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिकको तुलनामा मंसिरमा तरकारी, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको राष्ट्र बैंकको भनाइ छ ।

निर्यात ६३ अर्ब, आयात ६ खर्ब ४२ अर्ब
आर्थिक वर्ष २०८०–८१ को पाँच महिनामा कुल वस्तु निर्यातमा ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३४.६ प्रतिशतले घटेकोे थियो । आव २०८०–८१ को पाँच महिनामा कुल वस्तु आयातमा ३.४ प्रतिशतले कमी आई ६४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०–८१ को पाँच महिनामा कुल व्यापार घाटामा ३.१ प्रतिशतले कमी आई ५ खर्ब ७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.१ प्रतिशत थियो ।

चालु खाता १४० अर्ब र शोधनान्तर २१० अर्ब बचतमा
आर्थिक वर्ष २०८०–८१ को पाँच महिनामा चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खाता ४१ अर्ब २१ करोडले घाटामा थियो । यसैगरी खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक छ । गत वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक थियो । चालु आवको मंसिरसम्ममा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा थियो ।

विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब
२०८० मंसिर मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति मंसिरसम्ममा १४.८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड पुगेको छ ।
चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्