रणनीतिक साझेदारदेखि पब्लिक सेयरसम्म

वायुसेवा निगम सुधार्न १३ बुँदे सुझाव
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम सुधार्न गठित कार्यदलले रणनीतिक साझेदार भित्र्याउनेदेखि सर्वसाधारणमा सेयर जारी गर्नेसम्मलगायतका १३ बुँदे सुझाव सरकारलाई बुझाएको छ । पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा गठित कार्यदलले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई यस्तो सुझाव बुझाएको हो । मन्त्री भट्टराईले नै उक्त कार्यदल गठन गरेका थिए ।
संयोजक घिमिरका अनुसार निगमको सुधारका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन सुधारका लागि सुझावसहितको ५४ पृष्ठको प्रतिवेदन मन्त्रीलाई हस्तान्तरण गरिएको छ । प्रतिवेदनले निगम आर्थिक रूपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुने उल्लेख छ ।
सुझावमा हाल राम्रो व्यापार गरिरहेका गन्तव्यमा उडान भर्नका लागि थप दुई थान न्यारोबडी ए–३२० जहाज खरीद गर्न कार्यदलले सुझाएको छ । निगमसँग भएका पुराना जहाजको मर्मतलगायतमा खर्च अत्यधिक रहेको तथा समग्रमा जहाज संख्या नै थोरै भएको उल्लेख गरिएको छ । सोही कारण जहाज पनि अधिकांश ग्राउन्डेड हुने गरेको तथा निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक वर्षमा ९१ करोड घाटा बेहोर्नुपरेको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । जहाज खरिदमा महँगो ब्याजदरमा ऋण लिइएको विषयलाई पनि कमजोरीका रुपमा उल्लेख गरिएको छ । निगमको संस्थागत पुनर्संरचनामा प्रतिवेदनले जोड दिएको छ ।
निगमलाई चिनियाँ जहाजले नोक्सानी गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक उडानमा रहेका वाई–१२ र एमए–६० जहाजले धेरै ठूलो आर्थिक भार बेहोर्नु परेकोले यसलाई परिवर्तन गर्न सुझाव दिइएको छ । नयाँ जहाज खरिद सिधै जहाज निर्माता कम्पनीसँग गर्नुपर्ने र त्यसका लागि अर्थ, पर्यटन तथा सार्वजनिक खरीद कार्यालयको प्रतिनिधिसमेत रहने गरी कार्यदल गठनको सुझाव दिइएको छ ।
यस्तै, दीर्घकालीन सुधारअन्तर्गत संस्थागत पुनर्संरचना गर्दै निगमलाई सार्वजनिक निजी साझेदारी कम्पनीका रुपमा स्थापित गर्न प्रतिवेदनले सुझाव दिएको छ । कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले प्रतिवेदनको सुझावको अध्ययन गरी समयसीमा तोकेर योजनाबद्ध कार्यान्वयनमा ल्याइने बताए । घिमिरेको संयोजकत्वमा गठित कार्यदलमा लेखाविज्ञ डा. सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई सदस्य र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए ।
प्रतिवेदलाई आधार वनाएर मन्त्रालय अगाडि बढ्ने योगेश भट्टराई मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समितिले वुझाएको प्रतिवेदलाई आधार वनाएर मन्त्रालय अगाडि बढ्ने छ । निगमको संगठनात्मक संरचना परिवर्तनको लागि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको अवस्था छ । नितीगत क्षेत्रमा सुधार गर्नको लागि रणनीतिक साझेदारीमा गएर निगमलाई कम्पनी वनाउने समितिको प्रतिवेदनले सुझाएको छ । सरकारले लिनु पर्ने दायित्व वहन गर्न सरकार तयार रहेको छ । कुन मोडेलमा लाने जस्ता कुरा आएको छ मन्त्रालयले पहिलो सुधारको प्रकृया त्यहीँबाट सुरु गर्ने छ । आम सरकोकारवाला निकायसँग छलफल गरि प्रतिवेदनले सुझाएको काम गर्ने छौं । रणनीतिक साझेदारीमा आन्तरिक छलफल गरि सरकार अगाडि बढ्ने छ । |