Logo

साेलार स्टोर स्थापना

सुर्खेत– किसानलाई सक्षम बनाउन जाजरकोटमा ६ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटको आर्थिक सहयोगमा सेलार स्टोर निर्माण भएको हो । सिजनमा ४० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानले सेलार स्थापनासँगै खुसी व्यक्त गरेका छन् ।

सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश बिक्रम शाहले जानकारी दिए । गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएपछि सो समयसम्म सेलार स्टोर बाहेक अन्यमा सुन्तला राख्न समस्य हुने गर्छ । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ सेलार स्थापना गरिएको परियोजना प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए ।

कुशे गाउँपालिका–५,७ र ८, छेडागाड नगरपालिका १० र १२, नलगाड नगरपालिका– तीनमा सेलार स्थापना गरिएको छ । यी क्षेत्रमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गर्छ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारीहरू बजारमा बिक्री गरी आर्थिक रुपमा बलियो बनाउन यस्ले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । प्रति सेलार १५ लाख ८५ हजार रुपैयाँमा निर्माण गरिएका सेलारलाई परियोजनाले १० लाख ३३ हजार रुपैयाँ र कृषकले पाँच लाख ६१ हजार रुपैयाँ व्यहोरेर सेलार स्टोर निर्माण गरिएको छ । ६ ठाउँमा यही तरिकाले अनुदान उपलब्ध गराइएको छ ।

किसानलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोडनका लागि सेलार सिस्टममा लगानी गरेको प्रमुख पोखरेलले जानकारी दिए । सडकको पहुँच सबै ठाउँमा नहुँनुको साथै सस्तोमा बिक्री गर्दा आर्थिक रूपमा ठुलो नोक्सान हुने भएकाले सेलार स्टोरमा सुरक्षित गरि उचित समयमा बिक्री गर्न सकिने उनले बताए । पाँच मेट्रिक टन क्षमताका सेलारहरूमा ६ महिनासम्म सुन्तला सुरक्षित गर्न सकिन्छ । सुन्तलालाई हुर्काउन तथा बढाउनका साथै प्राविधिक सल्लाह समेत दिने गरिएको छ ।

विभिन्न तरकारी तथा फलफूल ढुवानी गर्नका तीन वटा गाडी खरिदमा परियोजनाले आर्थिक सहयोग समेत गरेको छ । विद्युत पुगेको ठाउँमा विद्युतबाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाइएको छ । परियोजनाका अनुसार किसानको मागहरू प्रत्येक वर्ष नयाँ सेलारहरू स्थापना गर्दै जाने योजना रहेको छ । किसानको खेतबारीमै पुगेर मल प्रयोग, काटछाट तथा औषधी दिनेसम्मको प्राविधिक कुराहरू दिएर किसानलाई सहयोग गरिरहेको परियोजनाका धरम चन्दले जानकारी दिए ।

परियोजना लागु भएको ठाउँमा किसानको माग अनुसार प्राविधिक खटिएर सहयोग गदै आएको उनको भनाइ छ । खेर जाने सुन्तलाबाट पछिल्लो समय जाजरकोटका किसानहरूले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षेनी लाखौको सुन्तला बिक्री हुँदै आएको कुशे पाँच दम्दालाका दिपक ओलीले जानकारी दिए । सुन्तलाको माग उच्च रहेको समेत उनको भनाइ छ । आफ्नै गाडी भएकाले माग अनुसार विभिन्न ठाउँमा लिएर बिक्री हुँदै आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्