Logo

कालो सुन भनिने अलैंचीले भाउ पाएपछि हौसिए किसान

अलैँची प्रतिमन ८५ हजार

बिर्तामोड/इलाम– ‘कालो सुन’ उपनाम पाएको अलैँची उच्च मूल्यमा बिक्री हुन थालेपछि पूर्वका किसान हौसिएका छन् । हुन पनि प्रतिमन (४० किलो) २८ हजारसम्म झरेको अलैँची अहिले ८५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा माग बढेको तर उत्पादन कम भएका कारण अलैँचीले भाउ पाएको हो । पर्याप्त वर्षा नभएका कारण विभिन्न रोगले सताउँदा उत्पादन थोरै भएर किसान तथा व्यापारीसँग मागअनुसार अलैँची नभएपछि उच्च मूल्यमा बिक्री हुन थालेको अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । ‘अलैँची उत्पादन हुने जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत नै यही हो । अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर, अचानक रोग देखिएपछि अधिकांश किसानको आयआर्जन गुम्यो । किसानहरु विस्तारै अलैँचीका बोट मासेर अन्य खेतीतर्फ आकर्षित हुन थालेका थिए । अहिले भाउ एकाएक अकाशिएपछि अलैँची खेती गर्ने किसान हर्षित भएका छन्,’ उनले भने ।

त्यसो त अलैँचीको भाउ अकाशिएको यो पहिलो पटक होइन । १० वर्षअघि प्रतिमन १ लाख २० हजारसम्ममा कारोबार भएको थियो । फेरि घटेर २५ हजारसम्म झर्यो । अहिले फेरि ८५ हजारसम्ममा बिक्री भइरहेको छ । अलैँचीलाई गुणस्तरका आधारमा तीन तहमा विभाजन गरी मूल्य निर्धारण गरिन्छ । गत वर्ष क ग्रेडको ३१ हजार, ख ग्रेडको २९ हजार र ग ग्रेडको २६ हजारमा व्यापार भएकोमा यस वर्ष सबै तहको अलैँची ६० हजारमाथि कारोबार भइरहेको छ ।

अलैँची व्यवसायी महासंघका कोषाध्यक्ष सुजित वंशलले विगतका वर्षमा प्रतिमन ४० हजारभन्दा माथि नपुगेको अलैँची यो वर्ष भदौदेखि नै ६० हजारमा कारोबार भएको बताए । ‘विश्व बजारमा गुणस्तर र उत्पादन दुवै दृष्टिकोणबाट राम्रो मानिने नेपाली अलैँचीको खस्कँदो मूल्यका कारण सबैभन्दा बढी किसान मर्कामा परेका थिए । अहिले मूल्य बढ्दा राहत मिलेको छ,’ उनले भने, ‘केही वर्षदेखि मूल्यमा आएको गिरावटले किसान र व्यापारीलाई निराश बनाएको थियो । मूल्यमा आउने उतारचढावका कारण किसान खेती घटाउने र व्यवसायी व्यापारबाटै पलायन हुने अवस्थामा पुगेका थिए ।’

झापा बिर्तामोडका अलैँची निर्यातकर्ता ओमकृष्ण बिमलीले अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण मूल्य वृद्धि भएको बताए । ‘विभिन्न रोगको संक्रमणका कारण एकपटक बोट मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आयो । यसले गर्दा बजारमा अलैँचीको माग बढ्न पुग्यो र भाउ पनि बढ्यो,’ उनले भने । उनका अनुसार खडेरीका कारण औल भेगका अलैँचीमा डढुवा रोगले क्षति पुर्याएर बोट नष्ट गरेकाले उत्पादन घटेको हो । मूल्य घटेर २० हजार प्रतिमनसम्म झर्दा विकल्प खोज्न थालेका किसान अहिले हौसिएका उनले बताए । झापाको बिर्तामोडमा संकलन, भण्डारण र प्रशोधन गरी नेपाली अलैँची भारतमा निर्यात गरिन्छ ।

किसानसँग छैन पर्याप्त अलैँची
भाउ बढे पनि किसानसँग पर्याप्त अलैँची छैन । उत्पादकसँग स्टक सकिँदै गएपछि दाम उकालो चढ्न थालेको छ । किसानसँग अब करिब २० प्रतिशत तयारी अलैँची रहेको बताइएको छ । उनीहरु भाउ अझ बढ्न सक्ने आँकलन गरेर प्रतिमन एक लाख पर्खिएर बसिरहेका छन् ।

अलैँची टिप्ने काम भदौ–असोजमा हुन्छ । त्यसयता आउने चाडपर्वमा करिब ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसक्छन् । बाँकी २० प्रतिशत किसानसँग अलैँची रहने गर्छ । घरमा भएको अलैँची बिक्री गरिसकेपछि मूल्य बढेको इलामका किसान मात्रिका खतिवडाले बताए । ‘मूल्य बढेको देख्दा अलैँची लगाउने जोश भने बढेको छ,’ उनले भने ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले किसानसँग भएको अलैँची फाट्टफुट्ट रुपमा बजारमा आइरहेको बताए । ‘भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर, मासिँदै गरेको अलैँची खेती ब्युँताउन सरकारले कार्यक्रम ल्याएको छैन,’ उनले भने । अलैँची व्यवसायी संघका उपाध्यक्ष मात्रिका घिमिरेले दाम नपाएर बिचल्ली अवस्थामा पुगेका किसानका लागि अहिलेको मूल्य राम्रो भएको बताए ।

पत्याउन लायकको तथ्यांक छैन
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यो वर्ष अलैँचीको उत्पादन वृद्धि भएको छ । तर, यो तथ्यांक गलत रहेको व्यवसायीहरु बताउँछन् । इलाममा यो वर्ष एक हजार तीन सय २० टन अलैँची उत्पादन भएको कार्यालयको तथ्यांक छ, जुन अघिल्लो वर्षको तुलनामा ७.९६ प्रतिशत बढी हो । अलैँचीको बगान घटे पनि उत्पादन र उत्पादकत्व वृद्धि भएको कार्यालयका कर्मचारी जन खड्काको भनाइ छ ।

व्यवसायीले भने गएको वर्षभन्दा बढी उत्पादन नभएको बताएका छन् । हरेक किसान र व्यवसायीसम्म आफूहरु पुग्ने गरेको भन्दै संघका उपाध्यक्ष घिमिरेले उत्पादन नबढेको बताए । गएको वैशाख र जेठमा पानी नपरेका कारण किसानले समेत अलैँचीको उत्पादन घटेको बताउँदै आएका छन् ।

भिरालो खोल्सा र पाखा–भित्तामा पनि उत्पादन हुने भएकाले अलैँचीलाई ‘खोल्साको सुन’ पनि भनिन्छ । अलैँचीको खेती समुद्र सतहबाट सात सयदेखि दुई हजार मिटर उचाइसम्म हुने गरेको छ । यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ । खासगरी पूर्वी नेपालका ताप्लेजुङ पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरमा बढी फल्ने अलैँची लमजुङ, गोरखासहित ५२ जिल्लामा उत्पादन हुन्छ ।

नेपाली अलैँची भारतसहित, पाकिस्तान, यूएई, कतार, साउदी, मलेसिया, श्रीलंका, अमेरिका, क्यानडा र युरोपेली देशमा निर्यात हुँदै आएको छ । यहाँको अलैँची भारतबाट इलमी, हिमाली र भारत ब्रान्डबाट विदेशी बजारमा पुग्ने गरेको छ । मसला, बेकरी सामग्री, सुगन्धित तेल, टिन्चर तथा रक्सी बनाउन अलैँची प्रयोग हुन्छ । नेपालमा भने सिंहदरबार वैद्यखाना र तथा निजी कम्पनीहरुले आयुर्वेदिक औषधि निर्माणका लागि अलैँची प्रयोग गर्छन् ।

नेपालमा १५ हजार चार सय हेक्टर जमिनमा अलैँची खेती भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बर्सेनि करिब ७ हजार टन अलैँची उत्पादन भइरहेको छ । वार्षिक करिब ९ अर्बको अलैँची व्यापार हुने गरेको मन्त्रालयको तथ्यांक छ । चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट २ अर्ब १५ करोड रुपैयाँको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

  • झापाबाट तुलसीप्रसाद निरौला र इलामबाट टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्