युवा पलायन रोक्न घरबास पर्यटन

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन संगठनको परिभाषाअनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्तिबाहिर चौबीस घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयस्रोत हुने क्रियाकलापबाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने मान्छेलाई जनाउँछ । आज विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ, जसबारे हामी सबै जानकार छौँ ।
यसकारण अहिले पर्यटन विश्व अर्थतन्त्रको एउटा मुख्य हिस्सा बनेको छ । सन् २०१९ मा पर्यटनको विश्व अर्थतन्त्र १० ट्रिलियन अमेरिकी डलरको थियो । सन् २०२० र २०२१ मा भने कोभिड—१९ महामारीले असर पार्यो । सन् २०२२ मा भने ७.७ ट्रिलियन अमेरिकी डलरबराबर रह्यो । तथापि यो सन् २०१९ को तुलनामा २३ प्रतिशतले कम हो । सन् २०२३ मा भने विश्व अर्थतन्त्रमा पर्यटनको योगदान ९.५ ट्रिलियन अमेरिकी डलरबराबरको हुने यूएनडब्लुटीओको प्रक्षेपण थियो ।
एनडब्लुटीओका अनुसार सन् २०२२ मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या विश्वभर ९ सय ६३ मिलियन थियो । सन् २०२१ मा भने यो संख्या ४ सय १५ मिलियन मात्र थियो; अर्थात् एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या ६० प्रतिशतले वृद्धि भएको थियो । पर्यटन बजारमा राजस्व संकलन सन् २०२४ मा ४५८.६० मिलियन पुग्ने अनुमान छ जुन ७.१५ को वृद्धिदर हुन आउँछ । प्रक्षेपणनुसार सन् २०२८ सम्ममा ६०४.४० मिलियन पुग्ने अनुमान गरिएको छ ।
नेपाल पर्यटकीय सम्भावनाले भरिएको देश हो । नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको खानी हो भन्ने थाहा हुँदाहुँदै पनि नेपालमा पर्यटन विकासको लामो इतिहास छैन । नेपाल एकीकरण हुनुपूर्व र एकीकरणको क्रममा बेहोर्नुपरेको क्षति र त्यसपश्चात् लादिएको एकात्मक राजनीतिक, आर्थिक, धार्मिक व्यवस्थाले नेपालको सांस्कृतिक विविधताको विकासमा ठेस पुग्यो । त्यसपश्चात् १ सय ४ वर्षे लामो एकतन्त्रीय शासन व्यवस्थाले केवल सत्तामा रहेका वर्गहरूको विलासिता पूरा गर्नेबाहेक पर्यटन क्षेत्रमा केही उपलब्धि हासिल गरेको देखिएन ।
जहानियाँ राणा शासनकालमा नेपाल अन्तर्राष्ट्रिय समुदायबाट सम्पर्कविहीन प्रायः थियो । साथै, वि.सं. २००७ मा प्रजातन्त्रको पुनर्बहालीपश्चात् पञ्चायत व्यवस्थामा जारी भएका आवधिक योजनाले पनि राम्रोसँग पर्यटन क्षेत्रको विकासलाई समेट्न सकेन । सन् १९५० मा युएनको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक भ्रमण गरी सन् १९७१ मा प्रकाशित ‘नेपाल–द किङ्डम इन दि हिमालय’ पुस्तकमा नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाका बारेमा विस्तृत गरी अध्ययन गरेको र नेपाललाई विश्वसामु चिनाउने प्रयास गरेको देखिन्छ । त्यस्तै, २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि नै संसारका आरोहीहरूका लागि नेपाल जीवनमा एकपल्ट पुग्नैपर्ने गन्तव्यको रूपमा चिनियो । त्यसपश्चात् नेपालका बारेमा अन्तर्राष्ट्रिय समुदायमा चासो बढ्न थालेको देखिन्छ ।
अध्यागमन विभागको पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने सन् २०१३ मा ७ लाख ९७ हजार ६ सय १६, २०१४ मा ७ लाख ९० हजार १ सय १८, २०१५ मा ५ लाख ३८ हजार ९ सय ७०, २०१६ मा ७ लाख ५३ हजार २, २०१७ मा ९ लाख ४० हजार २ सय १८, २०१८ मा ११ लाख ७३ हजार ७२, २०१९ मा ११ लाख ९७ हजार १ सय ९१, २०२० मा केवल २ लाख ३० हजार ८५, २०२१ मा १ लाख ५० हजार ९ सय ६२, २०२२ मा ६ लाख १४ हजार ८ सय ९६ र सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटक नेपाल प्रवेश गरेका छन् ।
रोजगारीका हिसाबले पर्यटन नेपालको चौथो ठूलो उद्योग भएको विश्लेषणात्मक अध्ययनले देखाएको छ । पर्यटन क्षेत्रले झन्डै ४ लाखलाई रोजगारी दिएको छ, जुन नेपालको सबै उद्योगमा संलग्न व्यक्तिको ११.५ प्रतिशत हो । नेपालमा आउने पर्यटकको देश हेर्ने हो भने भारत पहिलो नम्बरमा छ । त्यसपछि अमेरिका, युके, चीन, अस्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश, जर्मनी र साउथ कोरिया छन् । पर्यटकको औसत बसाइ दर १२.७ दिनभन्दा माथि छ भने ४०.५ अमेरिकी डलर प्रतिदिन पर्यटकले खर्च गर्ने गरेको पाइन्छ ।
नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो, त्यो नाघेको पनि छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान २ देखि ४ प्रतिशत योगदान पुर्याइरहेको छ । पछिल्लो एक दशकमा निर्माण भएका र निर्माणाधीन सुविधासम्पन्न होटलको संख्या तथा पर्यटन पूर्वाधारमा भइरहेको लगानीले देशको पर्यटन क्षेत्र थप चलमलाउने छनक दिन्छ । बितेका वर्षहरूमा ठूलो लगानीका एक दर्जनभन्दा धेरै तारे होटल सञ्चालनमा आए । एक दर्जनभन्दा बढी पाँचतारे होटल निर्माणाधीन छन् । ठूला तारे होटलको निर्माण र यिनमा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्डको साझेदारीले पर्यटनको विस्तार हुनेमा आशावादी बनाउँछ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पनि पर्यटन सम्भावनालाई गति दिन सघाउने आशा लिइएको छ ।
पर्यटनको यो उत्कृष्टता आउनुमा ग्रामीण पर्यटनको तौलदार प्रकार घरबास अर्थात् होमस्टे पर्यटनको योगदान अवर्णनीय छ । होमस्टे सञ्चालन कार्यविधि, २०६७ मा होमस्टेको दर्ता, सञ्चालन, व्यवस्थापन तथा मापदण्डहरूबारे स्पष्ट उल्लेख छ । होमस्टे सञ्चालन कार्यविधि २०६७ ले होमस्टे भन्नाले ‘पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रूपमा सञ्चालन गरिएको सेवा सम्झनुपर्छ’ भनेर परिभाषित गरेको छ । ‘ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रका रूपमा अघि बढाइने, मुलुकको विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेसी, आदिवासी जनजातिलगायतका विपन्न समूहसमेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न समावेशी र सहकारीको माध्यमबाट उपयुक्त संरचनाको निर्माण र विकास गरिने’ पर्यटन नीति– २०६५ मा उल्लेख छ । उक्त नीतिलाई कार्यान्वयन गर्न सरकारले होमस्टे सञ्चालन कार्यविधि, २०६७ जारी गरेको थियो ।
भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र अगुवाइमा स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको घरबास पर्यटन अहिले देशैभर फैलिएको छ । सिरुबारीपछि क्रमशः तराई र पहाड अनि हिमाली जिल्लाहरूमा पनि होमस्टेको व्यावसायिक यात्रा सुरु भइसकेको छ । अहिले देशका ५० भन्दा बढी स्थानमा होमस्टे सञ्चालनमा आइसकेका छन् र आउने क्रम जारी छ । जसमध्ये चर्चित नामहरू हुन्— सिरुबारी, नाम्जे, जमुवा, टुटेपानी, चत्लाङ, डल्ला, शुक्लाफाँटा, ठिनी, अमलटारी, भादा, ताङतिङ, घलेगाउँ । यसले सबै वर्ग, समुदाय र उमेर समूहलाई सक्रिय बनाएको छ भने आर्थिक तथा सामाजिक रूपमा यसले लाभ लिनेको संख्यामा बढोत्तरी गराएको छ । यसले प्रस्तावनामा भनिएजस्तै ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेसी, आदिवासी जनजाति र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने उद्देश्य पूरा गराएको छ ।
गाउँ नै गाउँले भरिएको, सयौँ जातजाति, भाषाभाषी, संस्कृति, दर्जनौँ धर्मावलम्बी भएको तथा भौगोलिक एवम् जैविक विविधताले भरिएको देश नेपालमा ग्रामीण पर्यटनको अथाह सम्भावना छ । घरबास पर्यटनप्रति धेरै गाउँठाउँका बासिन्दाहरू आकर्षित हुन थालेका छन् । बहुल समुदायमा पनि यसको क्रेज बढेर गएको छ । घरबासले न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको छ । तुलनात्मक रूपमा कम रुपैयाँमा स्थानीय समुदायको न्यानो आतिथ्यता ग्रहण गर्दै स्थानीय अर्गानिक खानपानको मजा लिँदै उनीहरूको संस्कृति, रहनसहन, जीवनशैलीको अवलोकन गर्दै घुमघाम गर्ने अवसर घरबासले दिएको छ । देशको आर्थिक–सामाजिक अवस्थाका कारण युवाहरू थातथलो छाड्ने परम्परा नै बनिरहेको यो विषम अवस्थामा गाउँठाउँमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हो, घरबास ।
तर, पछिल्लो समय घरबास पर्यटन फस्टाउँदै गए पनि यसको सञ्चालनका मापदण्डहरू भने पालना नभएको गुनासो पनि आउन थालेको छ । पर्यटकहरूलाई गर्नुपर्ने स्वागत–सत्कारमा कमी, स्थानीय खानपानको सट्टा बजारिया खानपान, पर्यटकका लागि गर्नुपर्ने पर्यटकीय गतिविधिहरूमा कमी तथा छुट्टै शुल्कलगायतका समस्याहरू देखिन थालेका छन् । यस्ता समस्याले घरबासको मौलिक अवधारणामा प्रश्न उठ्न थालेको छ । यसतर्फ भने सम्बन्धित निकायको अविलम्ब ध्यान जानु जरुरी छ ।
पर्यटन बहुसरोकारवालाहरूको अन्तरसम्बन्धबाट चल्ने क्षेत्र हो । पर्यटनको प्रवद्र्वन र विकासका लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ । स्थानीय, प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको पूर्ण सहयोगसहित पर्यटनमा गुणस्तर मापदण्डको विकास गरी इमानदार कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।
संस्थागत संरचना, नीतिगत व्यवस्था, व्यवस्थापन प्रणाली एवम् समन्वय र नियमन पद्धतिमा सुधार गर्दै पर्याप्त सहकार्य र उपयुक्त गृहकार्यको साथमा अगाडि बढ्न सकियो भने मात्र युवा गाउँमा थाम्न सक्ने वातावरण सिर्जना हुन सक्छ । जनताको टाउकोमा परेको ८१ हजारमाथिको ऋण कम हुन सक्छ । वृद्धको मुहारमा सन्तान सँगै छन् भन्ने अनुभूति हुन्छ, बिग्रिएका सम्बन्ध र व्यवहारहरूमा मल्हमपट्टी लाग्छ, अर्थतन्त्र, समाज र वातावरण हरियो हुन्छ । साथै, रोजगारी नपाएर विदेश जानुपरेको बाध्यता कम हुन्छ र आफ्नै गाउँमा गर्न सकिने रहेछ भन्ने कुराले स्थान पाउँछ । महँगी नियन्त्रणमा राख्न उत्पादन नै गर्नुपर्ने रहेछ, सो आफैँमा निहित रहेछ र हाम्रै न्यूनतम पारिश्रमिकले पनि पुग्दो रहेछ भन्ने कुराले प्रामाणिकता पाउँछ । यसकारण भन्नैपर्छ, युवा पलायन घरबास पर्यटनले रोक्न सक्छ ।