तरकारी र फलफूल खेतीबाट स्वरोजगार «

तरकारी र फलफूल खेतीबाट स्वरोजगार

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फूलबारीका एक कृषक तरकारी र फलफूल खेतीबाटै स्वरोजगार बनेका छन् । रोजगारीको खोजीमा दैनिक हजारौं नेपाली युवा बिदेसिने क्रम बढिरहेका बेला विदेशबाट फर्किएर तरकारी र फलफूल खेती सुरु गरेका इन्द्रबहादुर भण्डारीले परिश्रम गर्न सकेमा गाउँमै आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेका हुन् । 
रोजगारीको सिलसिलामा ८ वर्ष साउदीमा बसेका भण्डारीले ९ वर्षदेखि मौसमी तथा बेमौसमी तरकारी र फलफूल खेती गर्दै आएका छन् । साउदीमा भनेजस्तो काम र आम्दानी नभएपछि घर फर्किएर व्यावसायिक कृषि पेशा अँगालेका भण्डारीले तरकारी र फलफूल बेचेर भएको आम्दानीबाट सन्तुष्ट छन् ।
उनले करिब चार रोपनी जग्गामा आलु, गोलभेंडा, साग, च्याउ, प्याज, मुला, गाँजर, बन्दा, काउली, सिमी, ब्रोकाउलीलगायत तरकारी खेती गर्नुका साथै विभिन्न प्रजातीका तरकारीको बेर्ना उत्पादन गर्दै आएका छन् । तीनवटा टनेटमा गोलभेंडा र एउटामा केन्य जातको च्याउ खेती गरेका छन् ।
यसैगरी पाँच रोपनी जग्गामा सुन्तला र केरा खेती गरेका छन् । तरकारी र फलफूल बिक्री गरेर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुने भण्डारीले बताए । तरकारी र फलफूल खेतीमा उनलाई श्रीमती सुनिताले पनि सघाएकी छन् । दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा ऋण खोज्नु पर्ने अवस्थाको अन्त्य भएको भन्दै भण्डारीले तरकारी र फलफूल बेचेर खेतबारी किनेको जानकारी दिए ।
कृषि विकास कार्यालयबाट युवा स्वरोजगारको अनुदान, प्राविधिक तालिम, मल, बिउको सुविधा पाए पनि धेरै वास्तविक कृषकहरू यस्तो सुविधाबाट बञ्चित भएकोमा भण्डारीले दुख व्यक्त गरे । स्थानीय तह र त्यस मातहतका कृषि तथा पशु सेवाको शाखाहरूले वास्तविक कृषक पहिचान गरी उनीहरूलाई प्रोत्साहन गर्ने र सरकारी सुविधाको दुरुपयोग गर्नेलाई नियन्त्रण गर्नुपर्ने भण्डारीले बताए ।

 सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्