Logo

महिला उद्यमी प्रोत्साहनका लागि प्रदर्शनी

नेपालगन्ज– नेपालगन्जमा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा लागेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट महिला उद्यमीहरूको उत्पादनहरू राखिएका छन् ।

नेपालगन्जको बागेश्वरी मन्दिर प्रांगणमा लागेको मेलाको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले मंगलबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् । प्रदर्शनीको उद्घाटन गर्दै मेयर बिष्टले स्थानीय उत्पादन प्रवर्द्धन गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे । उनले महिलाले उत्पादन गरेको सीप र उद्यमशीलतालाई प्रोत्साहनका लागि नेपालगन्ज उपमहानगरपालिकाले निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरूको उत्पादन अगाडि बढाउन प्रदर्शनीले ठूलो सहयोग पुग्ने बताइन् । उनले बाँकेका उद्यमीले गरेको कार्यको प्रशंसा गर्दै आफ्नो तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने जनाइन् । स्थानीय उत्पादन र महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

खास गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका महिला उद्यमीहरूको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतको भनाइ छ । पुस २४ देखि २८ सम्म सञ्चालन हुने प्रदर्शनीमा यस पटक पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट महिला उद्यमीहरूको उत्पादनहरू राखीएको उनले जानकारी दिइन् ।

प्रदर्शनीमा स्थानीय स्तरमा महिला उद्यमीले सञ्चालन गरेको उद्योगबाट उत्पादित कृषि उत्पादन, कपडाहरू, खाद्यान्न तथा परिकार, हस्तकलाका सामग्री, काठबाट बनेका वस्तुहरू, पत्थरबाट बनेका गर–गहना, लत्ताकपडा, कम्पोष्ट मल, होमस्टे प्रवर्द्धन स्टललगायतका सामग्रीहरूका ६५ वटाभन्दा बढी स्टल राखिएका छन् । नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगडको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा सुरु भएको प्रदर्शनीले महिला उद्यमीहरूको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्