सामाजिक सुरक्षाको हक पूरा गर्न कोषको भूमिका महत्वपूर्ण : खतिवडा «

सामाजिक सुरक्षाको हक पूरा गर्न कोषको भूमिका महत्वपूर्ण : खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कर्मचारी सञ्चय कोषको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
कर्मचारी सञ्चय कोषले मंगलबार मनाएको आफनो स्थापनाको ५८ औ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषजस्ता दीर्घकालिन सम्झौतित बचत गर्ने संस्थाको लगानी पूँजी बजार, मुद्रा बजार र पूर्वाधार विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने कुरा बताए ।
कार्यक्रममा सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएसँगै आगामी दिनमा कोषको परम्परागत भूमिकामा परिवर्तन हुने र यसलाई कार्यान्वयन गर्न व्यवसायिकता र दक्षताको पूर्ण उपयोग गर्नुपर्ने बताए ।
कोषका प्रशासक तुलसीप्रसाद गौतमले कोष ५८ वर्षमा प्रवेश गरिरहँदा यसको गन्तव्यले नयाँ मोड लिएको भन्दै परम्परागत सञ्चय कोष प्रणालीलाई निवृत्तिभरण प्रदायक संस्थाको रुपमा रुपान्तरित हुने अवसर प्राप्त भएको र यस्तो विश्वास र भरोसाका लागि नेपाल सरकारप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमको लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ गरे । त्यसैगरी कोषमा २५ वर्ष सेवा गर्ने २ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान पनि गरिएको थियो । कोषले २०७६ साउन १ पछि स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीहरुका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाएसँगै सञ्चालनको तयारी पूरा गरेको छ । यसको लागि आवश्यक पर्ने संरचनागत, प्रकृयागत एवम प्रणालीगत तयारी पूरा गरिइसकेको छ ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय ४५ अर्ब भन्दा बढीकोे वित्तिय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूर्ति गर्नका लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरलचक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यसैगरी कोषले मुलुकको पूर्वाधार विकासका लागि विभिन्न जलविद्युत् कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्वारा प्रवर्धित विभिन्न जलविद्युत् आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ भने नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ । यस्तै कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण प्रकृयाको सुरुवात गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्