Logo

दुई करोडमा गाईगोठ निर्माण

पोखरा– दुई करोडको लागतमा गाईगोठको भौतिक संरचना निर्माण भएको छ । गत चैतदेखि पोखराको पुरानो ल्याण्डफिल्ड साइडमा गाई (गौमाता) संरक्षण अभियान राष्ट्रिय परोपकार महासंघ सुरु गरेसँगै हालसम्म करिब दुई करोडको लगानी भएको महासंघका नेपाल संस्थापक अध्यक्ष एवं भागवत भास्कर पण्डित कमलनयन गौतम बताए ।

पोखरा महानगरको समन्वयमा पोखरा–१४. पुष्करिणी परोपकार गोकुलधाम पोखरा–१४, वाच्छिबुडुवामा पोखराका सडक क्षेत्रमा छाडिएका गाईको दिगो रुपमा व्यवस्थापन गर्न सुरु भएसँगै छाडाछोडिएका गाईबाट हाल दैनिक ५० लिटर दुध उत्पादन हुने गरेको गौतमले बताए । हाल व्यवस्थित तीन सय क्षमताको गाईगोठ तयार भएको बताउँदै गौतमले हाल वाच्छावाच्छीसहित १५० वटा गाई रहेको जनाए ।

दुधालु एउटा गाईलाई राम्रोसँग हेरचाह गर्दा करिब पाँच सय खर्च आउने दाबी गर्दै उनले अन्य गाई पालना गर्दा दैनिक १८० रुपैयाँ खर्च हने बताए । गाईको महत्व बुझाउँदै गाई अनुसन्धान केन्द्र अर्थात् गाईपाठशाला समेत बनाउने आफुहरुको योजना रहेको गौतमको भनाइ छ । गत वर्ष पोखरा महानगरले उक्त अभियानका लागि छाडा चौपाय संरक्षण गर्न ५० लाख बजेट विनियोजन गरेको पोखरा महानगरका प्रवक्ता मोतीराम तिम्सिनाले बताए ।

महासंघले सुरु गरेको अभियानले गर्दा पोखराका सडकमा दुर्घटना हुने गरी छाडा छोडिएका गाई वस्तु हाल पोखराको सडकमा खासै नभएको उनले जनाए । पोखराका सडकमा देखिएका गाईसहितका छाडा चौपायलाई गत चैतदेखि पुष्करिणी परोपकार गोकुलधाममा व्यवस्थापन गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्