Logo

माथिल्लो मोदी ‘ए’ लाई ऋण लगानी जुट्यो

काठमाडौं– माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनालाई ऋण लगानीको बाटो खुलेको छ । एनएमबि बैंक, एचआईडीसीएल र मोदी जलविद्युत कम्पनीबीच ऋण लगानीका बारेमा सोमबार त्रिपक्षीय सम्झौता भएको छ । यो ६१.८ मेगावाट क्षमताको आयोजना हो ।

सम्झौताअनुसार एनएमबि बैंकको अगुवाइमा आयोजनाका लागि ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी हुनेछ । यसमध्ये एनएमबिले ४ अर्ब ४० करोड र बाँकी एचआईडीसीएलको ऋण लगानी हो । यो आयोजनाको विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता भइसकेको छ । पिपिएपछि बैंकसँग अन्तिम ऋण लगानी सम्झौता भएको हो ।

यो आयोजनाको अनुमानित लागत १० अर्ब ५७ करोड रुपैयाँ छ । यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउन लागिएको हो । सर्वसाधारण र विद्युत प्राधिकरणले स्वपुँजी लगानी गर्नेछन् । आगामी वर्षदेखि आयोजनाको निर्माण काम सुरु हुनेछ । निर्माण थालेको चार वर्षमा पूरा गर्ने योजना छ ।

सम्झौता कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सूर्यप्रसाद पौडेलले आयोजना निर्माणको काम समयमै सक्ने प्रतिबद्धता जनाए । ‘जग्गा अधिग्रहण, ईआईएलगायत पूर्वतयारीका सबै काम सकेका छौं । निर्माण कम्पनी छनोट भएपछि काम अगाडि बढाइनेछ,’ पौडेलले भने, ‘निर्माण क्षेत्रमा कुनै समस्या नभए समयमा सकिने अपेक्षा छ ।’

उनका अनुसार कम्पनीले ६३९ वटा रुख काट्न अनुमति पाइसकेको छ । यो आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्रको अन्नपूर्ण गाउँपालिकामा पर्छ । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । आयोजनाको मुख्य सुरुङ मार्ग ५.९५ किलोमिटरको हुनेछ । कम्पनीले आयोजनामा सिभिल र हाइड्रोमेकानिकलतर्फ निर्माणका लागि गत असार ३१ मा ठेक्काको सूचना निकालेको थियो । अहिले आवेदन दिएका कम्पनीको मूल्यांकन गर्ने काम भइरहेको पौडेलले बताए । उनका अनुसार दुई महिनामा मूल्यांकन सकिने छ ।

एचआईडीसीएलका सीईओ अर्जुन गौतमले आयोजनाका लागि लगानी जुट्नु मुलुककै लागि खुसीको क्षण भएको बताए । ‘समयमा सकिएर यही हलमा खुुसी मनाउन पाइयोस्,’ उनले भने, ‘यो एचआईडीसीएलको सबैभन्दा ठूलो लगानी हो ।’ यस्तै एनएमबि बैंकका सीईओ सुनील केसीले बैंकले जलविद्युतमा १९ अर्ब रुपैयाँ लगानी गरेको जानकारी दिँदै आगामी दिनमा ३५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरे । ‘बाहिरबाट निक्षेप ल्याउनका लागि कन्ट्री रेटिङ भइसकेको अवस्था छैन । हेजिङ नियम आए पनि कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘धेरै जलविद्युत आयोजनामा हामीले सिंगल डिजिटमा ऋण दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्