गुणस्तर मापदण्ड नहुँदा महलाई बजार अभाव «

गुणस्तर मापदण्ड नहुँदा महलाई बजार अभाव

झापा-सरकारले अहिलेसम्म पनि महको गुणस्तरको मापदण्ड नतोक्दा स्वदेशमा उत्पादित महले बजार पाउन सकेको छैन । गुणस्तरसम्बन्धी न्यूनतम मापदण्डसमेत नबन्दा उत्पादकले आफूखुसी मूल्य निर्धारण गर्दै बजारीकरण गरिरहेपनि सरकारको ध्यान पुग्न सकेको छैन । महको गुणस्तर कायमका लागि न्यूनतम मापदण्ड बन्न नसक्दा नेपाली महले बजार पाउन नपाएर भारतीय महले कब्जा जमाएको छ ।
नेपाली बजारमा भारतले सस्तो मूल्यमा मह ल्याएका कारण झापाको शिवसताक्षी नगरपालिका –११मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले उत्पादन गर्दै आएको मह बिक्री हुन सकिरहेको छैन । बजारमा उचित मूल्य नपाउँदा यो वर्ष २० हजार किलो मह गोदाममा थन्किएकोसहकारीकी व्यवस्थापक देवी दाहालले बताइन् । सहकारीले यो वर्ष ६० हजार केजी मह उत्पादन गरेको थियो । महिलाले मात्र रहेकोउक्त सहकारीले ‘सतासी हनी’ नामक मह उत्पादन गर्दै आएको छ ।
बजारमा भारतीय डाबर मह ५ सयरूपैयाँ र पतञ्जली मह ४ सय रूपैयाँसम्म पाउन सकिन्छ । सहकारीले उत्पादन गरेको मह भने प्रतिकिलो ७ सय रूपैयाँका दरले बिक्री गर्दै आएको छ ।“भारतको तुलनामा हामीले उत्पादन गरेको महको मूल्य बढी पर्छ” दाहालले भनिन्, “हाम्रो लागतमात्र बढी पर्ने होइन हाम्रो उत्पादन पनि गुणस्तरीय हुन्छ ।”भारतीय मह बराबरको मूल्यमा नेपाली मह बेच्न नसकेको कारणले मह थन्काएर राख्नु पर्ने बाध्यता रहेको दाहाल बताउँछिन् । उत्पादित मह झापासहित ताप्लेजुङ, धनकुटा, विराटनगर, काठमाडौँ लगायतका बजारमा बिक्री गरेको बताइएको छ ।
सदस्य किसानले उत्पादन गरेको मह सहकारीले खरिद गर्ने गरेको छ । कच्चा महलाई सहकारीले मेसिनमार्फत प्रशोधन गर्ने गरेको छ । २०६३ मा स्थापना भएको सहकारीमा ५२३ जना महिला आबद्ध छन् । जसमा ३५० जनाले व्यवसायीक मौरीपालन गर्दै आइरहेका छन् । सदस्यसँग २ हजार ५ सय घार मौरी रहेको दाहालले बताइन् ।सहकारीले ठूलो परिमाणमा मह उत्पादन गर्ने गरेकाले सरकारले ‘दूधे’ क्षेत्रलाई मह ब्लक घोषणा गरेको छ । मह ब्लकको क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले गत वर्ष सहकारीलाई २५ लाख रूपैयाँ नगद अनुदानसमेत प्रदान गरेको छ ।यस वर्ष पनि ब्लग सञ्चालनका लागि प्रदेश सरकारले केही सहयोग गरेको दाहाल बताउँछिन् ।
झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत ऋण तथा सहकारी संस्था र सतासी महिला मौरीपालन सहकारी संस्थाको ५०÷५० प्रतिशत साझेदारीमा साहारा, सतासी महिला मह उद्योग स्थापना भएको छ । सतासीले सहकारीमा आबद्ध किसानले उत्पादन गरेको मह खरीद गरेर उद्योगलाई दिने गरेको छ । सहकारीले किसानबाट प्रतिकिलो महको गुणस्तर हेरेर ३ सय देखि ४ सय रूपैयाँसम्म मह खरीद गर्ने गरेको छ । त्यस पश्चात उक्त मह प्रशोधन गरेर उद्योग प्रतिकिलो ५ सयदेखि ७ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको छ । मह गुणस्तरीय भएकाले उपभोत्ता सन्तुष्ट रहेको सहकारीको दाबी छ ।
सरकारले स्वदेशी महको प्रवद्र्धनमा ध्यान नदिएको झापा अर्जुनधारा नगरपालिका –९कामौरीपालक कृषक भिम कडरिया बताउँछन् । किसानले आफू खुुशी ब्राण्ड स्थापना गर्ने देखि मूल्य निर्धारण गर्नेसम्मका काम गर्ने गरेकाले नेपाली उत्पादनले बजार पाउन नसकेको कडरिया बताउँछन् ।
भारतबाट अवैध रूपमा मह नेपाल भित्रने गरेको छ । यसलाई राजस्वको दायारामा ल्याउनका लागि क्षेत्रीय राजस्व विभागसम्म पुगेपनि अहिलेसम्म कुनै पहल नगरिएको व्यवसायी कडरिया बताउँछन् । कडरियाले ७२ वटा घारबाट वार्षिक २८ सय किलो मह उत्पादन गर्दै आएका छन् । नेपालमा उतपादित महको बजार सुनिश्चित गर्ने आवश्यक रहेको कडरिया बताउँछन् । आफूले उत्पादन गरेको महनेपालका विभिन्न बजार साथै तेस्रो मुलुकमासमेत निर्यात गर्ने गरेको कडरीयाले बताए। भारतीय मह कम गुणस्तरको रहेकाले बजारमा सस्तो मूल्यमा पाइने भएकाले नेपाली किसानले उत्पादन गरेको गुणस्तरीय महले उचित मूल्य पाउन नसकेको दाबी कडरियाको छ । भारतीय महको गुणस्तर परीक्षण गरेर मात्र बजारमा ल्याउन आवश्यक रहेको उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्