वितरण प्रणाली चुस्त बनाउनु जरुरी
भैरहवा– बजारमा वस्तु तथा सामानको वितरण प्रणाली राम्रो हुन नसके त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा पर्ने भएकाले वितरण प्रणाली चुस्त पार्नुपर्नेमा जोड दिइएको छ । भैरहवा वितरक संघको तेस्रो साधारणसभामा सहभागीले वस्तुको मूल्यदेखि सामानका गुणस्तर, बिल बिजकलगायत हरेक कुरामा वितरकले ध्यान दिनुपर्ने बताउँदै बजारलाई सन्तुलित र चलायमान बनाउने काम पनि वितरकको रहेको उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले वितरण प्रणाली सिधै उपभोक्तासँग जोडिएको हुँदा सदैव उपभोक्ताको हकहितका पक्षमा वितरकहरूले काम गर्नुपर्ने बताए । वितरक हुँदै फुटकर बिक्रेता अनि आमउपभोक्ता माझ वस्तु बिक्री वितरणका लागि जाने भएकाले वस्तुका मूल्य, गुणस्तर लगायतमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो ।
वितरण प्रणालीमा देखिएका समसामयिक समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ थियो । वितरक सहर केन्द्रित मात्र होइन ग्रामीण क्षेत्र दूरदराजमा समेत सेवा दिनुपर्नेछ पाण्डेले भने । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले वर्तमान समयमा आर्थिक मन्दीका कारण व्यवसायी हतोत्साहित भएको बताए ।
सरकारको नीति व्यवसायमैत्री हुन नसकेको समयमा वितरकहरू अझ बढी जिम्मेवारी भएर व्यवसाय अघि बढाउनुपर्ने उनको भनाइ थियो । कम्पनीहरूले वितरकमाथि गर्ने व्यवहार परिवर्तन हुँदै गइरहेको र अहिले परिस्थिति फरक हुँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले धेरै वितरक यो व्यवसायबाट विस्थापित भइसकेको जिकिर गरे । खुल्ला सिमानाका कारण हुने अवैध चोरी निकासीका कारण वितरण प्रणाली नै प्रभावित हुने भएकाले त्यस्ता कार्यलाई प्रश्रय हुने कुनै काम नगरी वस्तु तथा सामान बिक्री वितरण गर्दा बिलबिजक अनिवार्य रूपमा लिनेदिने गर्नुपर्ने बताए ।
वितरक संघका लुम्बिनी प्रदेश अध्यक्ष मनीषकुमार जोशीले पालिका वस्तु तथा सामान उत्पादकले हरेक पालिका स्थानीय तहमा वितरक थप्दै जाँदा वितरण प्रणालीमा समस्या एवं अस्वस्थ प्रतिष्पर्धा आएको बताए । ‘बिक्री गर्ने बजार अत्यन्तै सानो छ, सबैले यहीं बिक्री गर्नुपरेको छ, वितरक थपिँदै जाँदा व्यवसायीमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ, यसको समाधानका लागि सबै एक हुन आवश्यक छ,’ जोशीले भने । वितरक संघ भैरहवाका अध्यक्ष राजकुमार जोशीले अस्वस्थ प्रतिष्पर्धा एवं नयाँ नयाँ वितरक थपिनु र समयमै वितरकको हिसाबकिताब फरफारक नगरी नयाँ वितरक थपिँदा समस्या भएको बताए ।
अध्यक्षमा कसौधन
भैरहवा वितरक संघ, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले अभिनवमयूर कसौधनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा विजय कोइरी, महासचिवमा धर्मेन्द्र श्रैष्ठ, कोषाध्यक्षमा मनीष अग्रवाल र सचिवमा महेन्द्र गुप्ता निर्वाचित भएका छन् ।