रेमिट्यान्समा रातो बत्ती «

रेमिट्यान्समा रातो बत्ती

पछिल्लो डेढ दशकमा नेपालको अर्थतन्त्र कसरी चलिरहेको छ र यसलाई कसले धानिरहेको छ भन्ने तथ्य जगजाहेर छ । नेपालबाट दिनहुँ सयौंको संख्यामा बिदेसिने युवाले दसनङ्ग्रा खियाएर गरेको कमाइको बचतबाट स्वदेश पठाएको रकम अर्थात् रेमिट्यान्सले नै अर्थतन्त्रलाई प्रतिकूल अवस्थामा भरथेग गर्दै आएको छ ।

यो क्रम अझै केही वर्ष चल्नेवाला छ, किनकि रेमिट्यान्सबाहेक अर्थतन्त्रका अन्य संरचनाहरू संस्थागत भएका छैनन् । कृषिको आम्दानी स्थिर छ भने पर्यटन, जलस्रोत, जडीबुटी, खानीलगायतका सम्भावनाका क्षेत्रहरू आफैं अस्तित्वरक्षाका लागि संघर्षरत छन् । चुलिँदो व्यापारघाटा र यसबाट उत्पन्न हुने चुनौती नियन्त्रणका लागि भने रेमिट्यान्स निर्विकल्प बन्दै गएको अवस्था छ ।

अर्थतन्त्रका लागि डेढ दशकभन्दा लामो समयदेखि मेरुदण्डको काम गर्दै आएको रेमिट्यान्समाथिको निर्भरता अब भने धर्मराउन थालेको छ । पछिल्ला केही वर्षदेखि रेमिट्यान्स आउने क्रम पहिलेजस्तो उत्साहजनक छैन । यसका कारणहरू खोतल्ने हो भने धेरै नै होलान्, तर नेपालको नियन्त्रणमा नभएका कारणहरू बढी भएकाले यसको विकल्प खोज्नु नै मुलुकका लागि श्रेयस्कर छ ।

त्यसै पनि रेमिट्यान्स नेपाली अर्थतन्त्रका लागि स्थायी आधार होइन र हुन सक्दैन भन्ने पुनः एकपटक पुष्टि भएको छ भने यसले अर्थतन्त्रको दिगो विकास र विस्तारका लागि नयाँ ढंगले सोच्नुपर्छ भन्ने झिनो आवाजलाई बल प्रदान गरेको छ । मुलुकको प्राथमिकता अब रेमिट्यान्समा नभई उत्पादनमा हुनुपर्छ भन्ने तथ्य पुनःस्थापित भएको छ ।

वैदेशिक रोजगारी आफैंमा खराब भने पक्कै होइन । सकारात्मक भएर सोच्ने हो भने रोजगारीमा गएकाले रेमिट्यान्स मात्र नभई प्रविधि र इच्छाशक्ति पनि भिœयाउँछन् । तर, स्वदेशमा कामका लागि मित्रराष्ट्रबाट कामदार ल्याइनुपर्ने र नेपाली भने सस्तोमा श्रम बेच्न खाडीको प्रचण्ड गर्मीमा जानुपर्ने अवस्था मुलुकका लागि निश्चय नै दुर्भाग्य हो । अर्कातर्फ सिर्जनशील उमेरका युवाहरू यसरी वैदेशिक रोजगारीका लागि गएर पुनर्निर्माण र नवनिर्माणका काम अलपत्र छाडिएको अवस्था पनि अहिले छ ।

यो अवस्थाले अन्ततः मुलुक गरिबी र पछौटेपनबाट माथि उठ्न सक्दैन । यसैले, रेमिट्यान्स घट्यो भनेर चिन्ता गर्नुभन्दा पनि यो बेला दिगो विकल्पबारे सोच्नु आवश्यक छ । नेपालको अर्थतन्त्रलाई रेमिट्यान्समुखीभन्दा पनि स्वदेशकै सम्भावनाको उजागर गर्दै उत्पादन र परिणाममुखी बनाइनु जरुरी छ ।
नेपाल आफैं पनि रेमिट्यान्सको दुश्चक्रमा फस्दै गएको छ । रेमिट्यान्स आप्रवाह बढे पनि यसले उपभोगमुखी संस्कृति बढाएको छ ।

नेपालीको क्रयशक्ति बढे पनि त्यो स्वदेशी उत्पादनभन्दा आयातिततर्फ बढी केन्द्रित छ । स्वदेशको श्रम बेचेर नभई उत्पादन बिक्री गरेर मात्र यस्ता वस्तु खरिद गर्न सक्ने क्षमताको विकास गरिनुपर्छ भने श्रम बजारमा नेपालका दक्ष जनशक्ति मात्र पठाएर अधिकतम आम्दानी गर्न सक्ने वातावरण बनाइनु जरुरी छ । यस्तै, वैदेशिक रोजगारीमा जानेका समस्याको पहिचान र समाधानका साथै हुन्डी नियन्त्रण गरेर पनि अहिलेको समस्याको अल्पकालीन समाधान गर्न सकिन्छ ।

दिगो आर्थिक विकासको आधार रेमिट्यान्स हुनै सक्दैन, त्यसैले नेपालका प्रतिस्पर्धात्मक क्षमता र तुलनात्मक लाभ बढी भएका क्षेत्रलाई प्राथमिकतामा राखेर श्रम बिक्री गर्ने राष्ट्रबाट उत्पादन तथा प्रविधि निर्यातक राष्ट्रमा स्तरोन्नति गरिनु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्