२९ वर्षदेखि सडकमा जुत्ता सिलाउँदै

बुटवल-सडक पेटीमा फाटेका जुत्ता–चप्पल सिलाउने र पालिस गर्नेले मासिक कति आम्दानी गर्छन् होला ? धेरैको अनुमान बढीमा १५-२० हजारसम्म होला भन्ने हुनसक्छ । तर बुटवलको ट्राफिकचोक सडक पेटीमा २९ वर्षदेखि जुत्ता सिलाउँदै आएका बारा बरियारपुरका ६० वर्षीय प्रेमी रामको मासिक कमाइ ४५ हजार रुपैयाँ हारहारीमा हुन्छ । २०४५ सालदेखि रामले बुटवलको सडक पेटीमा बसेर अरुका फाटेका जुत्ता–चप्पल सिलाई दिने र जुत्तामा पालिस लगाइदिने काम गर्दै आएका छन् ।
कामको प्रकृति हेरी १० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म ग्राहकसँग शुल्क लिने गरेको राम बताउँछन् । “दिनमा सरदर १५ सय कमाइ हुन्छ, महिनामा ४५ हजारसम्म कमाउँछु,” बुटवलको चाँदबारीमा अस्थायी बसोवास गर्ने रामले भने, “यही काम गरेर गाउँमा पाँचवटा घडेरी किनेँ, तीन छोरीको बिहे उम्काएँ, कान्छो छोरोलाई बोर्डिङ स्कूल पढाउँदैछु ।’
आफ्नो पेशा र आम्दानीबाट पूर्ण सन्तुष्ट देखिने राम कुनै पनि काम सानो र ठूलो नहुने तर्क गर्छन् । हरेक दिन बिहान १० बजेतिर काठको बाकसमा जुत्ता सिलाउने सियो–धागो र केही थान पोलिस बोकेर राम बुटवलको व्यस्त बजार ट्राफिकचोक पुग्छन् । २९ वर्षसम्म खुला आकाश मुनि बसेरै आफ्नो पेशालाई निरन्तरता दिएका राम स्वास्थ्यले साथ दिंदासम्म यही पेशालाई निरन्तरता दिने सोचमा छन् ।
“आफ्नो लागि त कमाइसकेँ, छोराको राम्रो भविष्यको लागि अझै केही वर्ष यही काम गर्छु,” रामले भने । रामका छोरा बुटवलको मुनाल बोर्डिङ स्कूलमा ९ कक्षामा पढ्छन् । बाबु–छोरा बुटवलमा बसेपनि श्रीमती भने गाउंमै बस्ने गरेको उनले बताए । “मेरो काम र कमाईबाट श्रीमती पनि एकदम खुशी छन्, श्रीमती असल छन्, घर धानेकी छन्, त्यही भएर मैले खुरुखुरु काम गर्न र कमाउन पाएको छु,” रामले भने । सडक पेटीमा बसेर जुत्ता सिलाउने राम राजनीतिमा पनि चासो राख्छन् । आफूलाई नेपाली कांग्रेस पार्टी मन पर्ने बताउने उनले चुनावमा कांग्रेसलाई नै भोट हालेको खुलाए ।
बुटवलका विभिन्न चोकमा करिब २० जनाले सडकमा जुत्ता सिलाउने पेशा अपनाएका छन् । सडकपेटीमा निरन्तर श्रम गरेर उदाहरणीय बनेका उनै रामलाई विश्व रेडियो दिवसको अवसरमा रुपन्देहीको सामुदायिक रेडियो लुम्बिनीले कदरपत्र र नगद १५ हजारसहित सम्मान गरेको छ । सडकमा श्रम गर्नेलाई पनि सम्मान गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न रामलाई सम्मान गरिएको रेडियोका अध्यक्ष एवं सामुदायिक रेडियो प्रशारक संघका निवर्तमान अध्यक्ष मोहन चापागार्इंले बताए ।
टोपराज शर्मा