Logo

आर्थिक प्रलोभनले अधिकांश घटना आन्तरिक रुपमै मिलाइन्छ

वर्षेनि बढदै कर्णालीमा हिंसाका घटना

सुर्खेत– ठूलो भूगोल हुनुका साथै पहुँचमा सुरक्षा निकाय नहुँदा कर्णालीमा विभिन्न कालका घटना लुकाउने गरिएको छ । अधिकांश अपराधका घटनाहरु मिलापत्र, धाकधम्कीलगायतका कुराबाट मिल्ने गरेका छन् । पहुँच हुनेहरु मात्र प्रहरी चौकी पुग्ने गरेका छन् ।

हिमाली जिल्लामा अधिकांश घटना मिलापत्रमै टुंगो लाग्ने गरेका छन् भने केही आर्थिक प्रलोभनमा परेर पनि गुपचुप हुने गरेका छन् । हुने खानेले गरिब तथा निम्न आयस्रोत भएका माथि विभिन्न प्रकारका शोषण गर्ने गरेपनि सहेर बस्ने गरेको पाइएको छ । कर्णाली प्रदेशभरी प्रहरीमा उजुरीको संख्या न्यून रहेको छ । विगत चार वर्षमा प्रहरीले दर्ता गरेको मुद्दा संख्या हेर्ने हो भने कर्णालीमा महिला र बालबालिकामाथि भएका अपराधको अवस्था बढेको देखिन्छ ।

विभिन्न प्रविधिको विकास हुन थालेपनि केही पीडित उजुरी गर्न जाने र तथा सामाजिक सञ्जालमा प्रतिक्रिया दिने गरेपनि अधिकांश अझै बोल्न सक्ने अवस्थामा नरहेको पाइन्छ । बेइजत हुने डरका साथै अन्य आर्थिक समस्याले पनि अधिकांश अपराध भित्रभित्रै मिल्ने गरेका छन् । कर्णालीमा सबै भन्दा बढी प्रहरीले जवरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

त्यसैगरी बहुविवाह र बालविवाहको संख्यासमेत उस्तै छ । बाल यौन दुराचार, यौन दुव्र्यवहार तथा बोक्सीको आरोप सम्बन्धिका मुद्दासमेत प्रहरीसमक्ष वर्षेनि थपिने क्रम बढेको छ । कर्णालीमा महिला तथा बालबालिका नचिनेकादेखि आफन्त र आफ्नै परिवारबाटै सुरक्षित नहुने गरेको पनि प्रहरीको भनाइ छ ।

चार वर्षको अवधिमा प्रहरीले ७४८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता गरेको छ । यो संख्या २०७६/०७७ यता हाल २०८०/०८१ को मंसिर मसान्तसम्मको हो । २०७६/०७७ मा प्रहरीले जबरजस्ती करणी आरोपसहित १४१ वटा मुद्दा दर्ता गरेको कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । २०७७/०७८ मा १५४ मुद्दा, २०७८/०७९ मा समेत १५४, २०७९/०८० मा २०५ र चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्तसम्ममा ९४ वटा मुद्दा प्रहरीले दर्ता गरेको छ ।

जबरजस्ती करणी उद्योगतर्फ समेत अवस्था उस्तै छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्तसम्ममा प्रहरीले कुल १९ वटा जबरजस्ती करणीका मुद्दा अघि बढाएको छ । आ।व। २०७७/०७८ मा ५६, २०७८/०७९ मा ४६, २०७९/०८० मा ४५ वटा मुद्दा प्रहरी समक्ष दर्ता भएका छन् । प्रहरीले दर्ता गरेको मुद्दा संख्याका आधारमा कर्णालीमा बहुविवाह र बालविवाहको अवस्था समेत उस्तै देखिन्छ । २०७६/०७७ यता प्रहरीले ३६२ वटा बहुविवाह सम्बन्धिका मुद्दा दर्ता गरेको छ । त्यसैगरी २०७६/०७७ यता कर्णालीमा ६० वटा बालविवाहका मुद्दा दर्ता भएका छन् ।

२०७६/०७७ मा प्रहरीले ७९ वटा बहुविवाहका मुद्दा दर्ता गरेको थियो । २०७७/०७८ मा ९६ वटा, २०७८/०७९ मा ८१ वटा, २०७९/०८० मा ७४ वटा र २०८०/०८१ को मंसिर मसान्तसम्ममा ३२ वटा मुद्दा प्रहरीले दर्ता गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । यसैगरी वर्षेनि करिव दर्जनौं संख्यामा बालविवाहका मुद्दा दर्ता भएका छन् । २०७६/०७७ मा १२ वटा बालविवाहका मुद्दा प्रहरीले दर्ता गरेको थियो ।

२०७७/०७८ मा यो संख्या बढेर २० वटा मुद्दामा पुगेको छ । त्यसैगरी २०७८/०७९ मा ११ वटा र २०७९/०८० मा १६ वटा बालविवाहको मुद्दा प्रहरीले दर्ता गरेको कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक ओलीले जानकारी दिए । महिला तथा बालबालिमाथी भएका यौन दुव्र्यवहार र दुराचारका मुद्दाको संख्या समेत उस्तै छ । २०७६/०७७ यता १२ वटा यौन दुव्र्यवहार सम्बन्धिका मुद्दा दर्ता गरेको छ ।

यी मुद्दामा २०७७/०७८ मा तीन वटा, २०७८/०७९ मा ६ वटा र २०७९/०८० मा तीन वटा मुद्दा प्रहरीले दर्ता गरेको हो । बाल यौन दुराचारतर्फ पनि २०७६/०७७ यता २० वटा मुद्दा दर्ता गरिएका छन् । २०७६/०७७ मा ६ वटा, २०७८/०७९ मा पाँच वटा, २०७९/०८० मा समेत पाँच वटा मुद्दा प्रहरीले दर्ता गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्तसम्ममा प्रहरीले चार वटा बाल यौन दुराचार सम्बन्धिका मुद्दा प्रहरीले दर्ता गरिसकेको छ ।

२०७६/०७७ मा प्रहरीले दुई वटा मुद्दा बोक्सीको आरोप विषयमा अघि बढाएको थियो । त्यस यता कर्णालीमा यस विषयसँग सम्बन्धित मुद्दाको संख्यासमेत न्यूनिकरण भएको अवस्था छैन । २०७७/०७८ मा चार वटा, २०७८/०७९ मा दुई र २०७९/०८० मा समेत दुईवटा मुद्दा बोक्सीको आरोप लगायत सम्बन्धि थिए । प्रहरीले दर्ता गरेको मुद्दा संख्या हेर्दा कर्णालीमा बोक्सीको आरोप लगाइएका घटना घटिरहेको संकेत गर्दैन ।

कर्णालीका सबै बालबालिका, खासगरी धेरै महिलाहरु उच्च शिक्षाको पहुँचमा छैनन् । कर्णालीको समाजमा मानवीय चेतनाको विकासको अवस्था समेत न्यून छ । यसकारण पनि कर्णालीमा बहुविवाह, बालविवाह तथा महिला र बालिकामाथि हुने अपराधको संख्यामा कमि आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्