Logo

विकासका लागि संघीय व्यवस्था प्रभावकारी

म्याग्दी– गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था प्रभावकारी बनेको दाबी गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री जुग्जालीले प्रदेश सरकार र स्थानीय तह स्थापना भएपछि पछाडि परेको ठाउँमा विकासका पूर्वाधार निर्माणले गति लिएको बताए ।

‘संघीयता र गणतन्त्रको विषयमा टिप्पणी गर्ने युवापुस्तालाई राजा र पञ्चायतको समयमा कस्तो थियो भनेर बुवा–आमा, हजुरबुबा–हजुरआमालाई सोध्नुहुन अनुरोध छ,’ उनले भने, ‘काठमाडौं, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेर्दा संघीयता प्रभावकारी छ ।’ गण्डकी प्रदेश सरकारले ६ वर्षको अवधिमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति र ८१ वटा मोटरेबल पुल निर्माण गरेको उनले जानकारी गराए ।

हाल पाँचजना जनप्रतिनिधि रहेको तत्कालीन एउटा गाविसका नौ वटा वडामा ४७ जना जनप्रतिनिधि भएको बिर्सिएर संघीयताको विरोध र महँगो भयो भन्ने टिप्पणी गर्नु गलत भएको मन्त्री जुग्जालीको भनाइ थियो । ‘यो व्यवस्थामा जनताले आफूलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिको रूपमा चुन्ने अधिकार छ । मन नपरे विरोध गर्न, बोल्न यही व्यवस्थाले दिएको छ,’ उनले भने, ‘हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउँदै गएको बिर्सनु भएन ।’

मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन गर्नुपर्ने बताए । म्याग्दीको पूर्वाधारलगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गरे । मंगला गाउँपालकाका अध्यक्ष सतप्रसाद रोका र वडा नम्बर ५ का अध्यक्ष भूपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गराए ।

महिला उद्यम विकास समितिमा श्रेष्ठ चयन
महिला उद्यम विकास समिति म्याग्दीको सभापतिमा अम्बिका श्रेष्ठ निर्वाचित भएकी छन् । म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको समितिको १०औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम उपाध्यक्षमा श्रृजना भट्टचन, द्वित्तिय उपाध्यक्षमा दिलु घताने, महासचिवमा प्रमिला जोशी श्रेष्ठ, कोषाध्यक्षमा गीता शर्मा रिजाल, सचिवममा कमला सुवेदी, सहसचिवमा गोमा भट्टराई शर्मा र सह–कोषाध्यक्षमा राधिका सापकोटा चयन भएका् निर्वाचन अधिकृतको रुपमा रहेकी म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिइन् ।

नवनिर्वाचत सभापति श्रेष्ठले महिला दिदीबहिनीहरूलाई एकत्रित गरी उनीहरूको क्षमता अभिवृद्धि तथा उत्पादन र उद्यमशील बन्न प्रेरित गर्ने कार्यक्रम योजनाबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता जनाइन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले महिलाहरू सीप विकास र उद्यमशीलतर्फ अग्रसर हुनुपर्ने विचार व्यक्त गरिन् । अधिवेशनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलालाई सशक्त बनाउन र उत्पादन तथा उद्यममा जोडिनका लागि महिला उद्यम विकास समितिको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्