अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको छ ।
स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जाेरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो ।
सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व विद्यार्थीले सो आक्रमण गरेको प्रहरीले पत्ता लगाएको छ । सो गोलीकाण्डमा परी अरु १४ जना विद्यार्थी घाइते भएका अमेरिकी अधिकारीहरुले बताएका छन् ।
गोली हान्ने निकोलस क्रुज नाम गरेका ती विद्यार्थीलाई गिरफ्तार गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती विद्यार्थीलाई यसअघि सो विद्यालयबाट निकालिएको खुल्न आएको छ । तर गोली हान्नुपर्नाको कारणको नजिक भने प्रहरी पुग्न सकेको छैन ।
उक्त विद्यालयबाट निष्कासनमा परेका ती विद्यार्थीले सोही रिस पोख्न यस्तो गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर यसको पुष्टी भने भइसकेको छैन ।
उनले सुरुमा विद्यालयमा आगो लाग्दा थिच्नुपर्ने खतरा जनाउने घण्टी थिचेका थिए । यसबाट उक्त विद्यालयमा भागाभाग भएको थियो । हातमा बन्दुक लिएर तम्तयार अवस्थामा रहेका उनले सोही मौकामा गोली हानेको बताइएको छ ।
सुरक्षा अधिकारीहरूले सीबीएस न्यूजलाई जानकारी दिएअनुसार गोली चल्न थालेपछि कतिपय विद्यार्थी कक्षा कोठाभित्र लुकेर बसेका थिए भने केही भागेर बाहिर आएका थिए । प्रहरीलाई तत्कालै खबर भएकोले विद्यालय परिसरलाई घेरा हालेको थियो ।
प्रहरीले हत्यारालाई तत्कालै नियन्त्रणमा लिएको भए पनि छोटै समयमा धेरै बालबालिकाको हत्या भइसकेको थियो । अत्याधुनिक राइफल लिएका कारण त्यति धेरै विद्यार्थी मारिन पुगेका बताइएको छ ।