भुक्तानी प्रणालीमा नयाँ युगको सुरुवात : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली(आरटिजीएस)को सुरुवाताले नेपाली बैंकिङ क्षेत्रको भुक्तानी प्रणाली नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आरटिजीएसको शुभारम्भ गर्दै गभर्नर नेपालले चेक भुक्तानीको बाध्यता समाप्त भएको बताएका हुन् ।
नेपाल राष्ट्र बैंककले भुक्तानी प्रणालीलाई प्रविधिमैत्री, सरल सहज र प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा पनि सुरु गरेको हो । यो सेवाको सुरुवातसँगै ठूलो कारोबारका लागि चेक आवश्यक नपर्ने भएको छ । भुक्तानी दिने व्यक्तिले बैंकमा गएर लिखित अनुरोध गरेपछि सहज भुक्तानी दिइने केन्द्रीय बैंकले जनाएको छ ।
आइतबार आरटीजीएसको औपचारिक उद्घाटन गभर्नर नेपाल र लर्ड मयेर अफ् लण्डनका पिटर एलष्टिनले संयुक्त रुपमा गरेका हुन् । युके एड बेलायतको प्राविधिक तथा आर्थिक सहयोगमा आरटीजीएस प्रणाली सम्भव भएको हो । उद्घाटन कार्यक्रममा नेपाल इन्भेष्टमेन्टमार्फत् २० करोड रुपैयाँ माछापुछ्रे बैंकमा ट्रन्सफर गरेर गरिएको हो ।
आरटिजीएसले सम्पति शुद्धिकरण र आतंकवादी समूहले गर्ने आर्थिक कारोबारलाई समेत निणन्त्रण गर्न मद्दत गर्ने गभर्नर नेपालको भनाइ छ । राष्ट्र बैंकले तत्कालका लागि २ लाख रुपैयाँ भन्दा बढीको कारोबारलाई ऐच्छिक र २० लाखभन्दा बढीको कारोबारमा अनिवार्य गरेको छ ।
यो प्रणालीमार्फत् कारोबार गर्दा प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्नेछ । भुक्तानी गर्ने खातावालाले अर्को बैंकको खाता नम्बरमा तोकेर रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिने बित्तिकै अर्को बैंकमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी तत्कालै हुनेछ ।
एक बैंकको चेकबाट क्लियरिङमार्फत् भुक्तानी हुन कम्तिमा एक दिन लाग्ने गरेको थियो । यो प्रणालीको शुरुवात भएसँगै भुक्तानी लिने व्यक्तिले आधा घण्टाभित्र रकम भुक्तानी पाउनेछ । पहिलो चरणमा वाणिज्य बैकहरूलाई अनिवार्य गरिएको यो प्रणाली आगामी पुसदेखि विकास बैंक र फाइनान्स कम्पनीका लागि पनि अनिवार्य गरिने केन्द्रीय बैंकले जनाएको छ ।