नेपालमा लगानी गर्न तयार छौः जापानी लगानीकर्ता «

नेपालमा लगानी गर्न तयार छौः जापानी लगानीकर्ता

जापानी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।
आइतबार मेकिङ नेपाल इष्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको नयाँ प्रविधिको साथमा वैदेशिक लगानीको अवधारणा विषयक कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी जापानका जी होल्डिङ टेक्नोलोजी, प्यासिफिक कन्सल्ट, ट्सुजी आयल एण्ड कस्मेटिक लिमिटेड र इकोलोजिक रिकन्ट्रक्सनका प्रतिनिधिहरुले आफूहरु नेपालमा लगानी गर्नका लागि तयार रहेको बताए । उनीहरुले नेपालमा पूर्वाधार क्षेत्रका साथै फोहोरबाट विभिन्न वस्तुहरु उत्पादनका लागि आफूहरुले लगानी गर्न सक्ने बताए ।
जी होल्डिङका अध्यक्ष हिरासी मासाकीले लगानीका लागि सहजीकरण गरेमा आफूहरुले सफा हावाबाट पानी, प्याष्टिकबाट तेल, फोहोरबाट कस्मेटिक, सौर्य ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सकिने बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि समेत योगदान दिन सक्ने बताए ।
कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल जापानले नेपालको पूर्वाधार लगायतका क्षेत्रमा लामो समयदेखि सहायता दिँदै आएको बताउँदै लगानीका लागि अहिले उपयुक्त अवसर भएकोले त्यसको अधिकतम उपयोग गर्न आग्रह गरे ।
पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालमा लगानीका लागि अहिले उपयुक्त नीति र वातावरण रहेकोले ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरे । लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालका सबै राजनीति पार्टी र सरकारको वैदेशिक लगानीमा एउटै विचार रहेको बताउँदै लगानीकर्ताको लगानीलाई सरकारले ग्यारेण्टी गर्ने बताए । गैरआवासी नेपाली संघ (एनआरएन) का केन्द्रीय सदस्य राजन पौडेलले जापानका लगानीकर्ताहरुको इच्छा अनुसार नै नेपालमा ल्याएको बताउँदै लगानीलाई क्षेत्रलाई फराकिलो बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्