‘पिकनिक हब’बन्दै काभ्रे

राजधानीपूर्वको पर्यटकीय जिल्ला काभ्रे पछिल्लो समय पिकनिक पारखीहरूको हब बन्दै गएको छ । कात्तिकदेखि वैशाख महिनासम्म जिल्लाको विभिन्न स्थानमा पिकनिकका लागि आउनेको घुइँचो नै लाग्ने गरेको छ ।
जिल्लाको धुलिखेल, दोलालघाट, पलाञ्चोक र नगरकोट क्षेत्रमा पिकनिक पार्क खोल्ने क्रमसमेत ह्वात्तै बढेको छ । “तीन वर्षअघिसम्म पिकनिक पार्क औँलामा गन्न सकिने थियो,” देवीस्थान पिकनिक स्पटका सञ्चालक मनदिलकाजी श्रेष्ठले भने, “अहिले दिनप्रतिदिन पकनिक स्पट नयाँ खुल्दैछन् ।” उनले धुलिखेलको देवीस्थान डाँडामा आफ्नै काकासँगको पार्टनरमा १४ रोपनी जग्गामा पिकनिक स्पट चलाइरहेका छन् । त्यसका साथै उनले धुलिखेलमै अर्को १० रोपनी क्षेत्रफल जमिन लिजमा लिएर पिकनिक स्पट सञ्चालनमा ल्याएका छन् ।
धुलिखेलकै अड्डा बजार, हजार सिँढी, देवीस्थान डाँडा, बनेपाको गोसाईथान, भकुण्डेको नौबिसे, पनौतीलगायतका स्थानमा शनिबार र बिदाको दिन निकै भिड लाग्ने गरेको छ । काभ्रेमा राजधानी काठमाडौँ सहित देशका विभिन्न भागका विद्यालय, क्याम्पस, क्लब, सहकारी, महिला समूह, कृषक समूह, टोल सुधार समिति पिकनिकका लागि आउने गरेका छन् ।
“राजधानीबाट नजिक, शान्त ठाउँ भएकाले पिकनिकका लागि धुलिखेल आएका हौँ,” शनिबार धुलिखेलमा देवीस्थान डाँडामा पिकनिकका लागि आएका झापा भद्रपुर नगरपालिका ९ जनज्योति माविको पूर्व विद्यार्थी समाजका देवेन्द्र पराजुलीले भने, “हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला हुने, विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नयाँ योजना बनाउने,नयाँ र पुराना पुस्ताबीच घुलमिल गराउन पनि पिकनिकले निकै सहयोग पुरयाएको छ ।”
साथीको विदाइ, साधारण सभा, पारिपारिक भेटघाट, विभिन्न जातजातिका समूह समेत पिकनिकका लागि धुलिखेल आउने गरेका छन् । हाजिरी जवाफ, वादविवाद, नृत्य प्रतियोगिता गरेर समेत पिकनिकलाई रमाइलो गरिरहेका भेटिन्छन् । यहाँका पिकनिक पार्कहरू १५ देखि २० दिनअघि नै बुकिङ हुने गरेका छन् ।
दोलालघाटमा जल पिकनिक
नदीसँग खेल्दै पिकनिकको आनन्द लिनेहरू जिल्लाको दोलालघाट पुग्ने गरेका छन् । जहाँ इन्द्रवा तीर र सुनकोशी नदी किनारमा पिकनिकमा रमाउन पाइन्छ । नदी किनारमा बढी युवावर्ग पिकनिकका लागि पुग्ने गरेका छन् । नदी किनारमा पानीपर्याप्त हुने भएकाले पनि पानीको संकट नझेल्न धेरै दोलालघाट पुग्ने गरेका छन् ।
बालुवाको बिचमा रमाउनेहरूलाई इन्द्रावती र सुनकोशी नदीले लोभ्याइरहेको छ । तर सावधानी नअपनाउँदा र नदीको बहावका बारे जानकार नहुदाँ बर्षेनीजसो पिकनिक गर्न गएका मध्ये एक न एक जनाको नदीमा डुबेर ज्यान गइरहेको छ ।
पलाञ्चोक र नमोबुद्धमा धार्मिक पिकनिक
जिल्लाको दुई प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती र नमोबुद्धमा पनि पिकनिक खान जानेको संख्या पछिल्लो समय निकै बढेको छ । उच्च भागमा रहेको पलाञ्चोकमा चिसो मौसममा पारिलो घाम ताप्दै, नाचगान गरेर रमाउनेको जमात ठूलै देख्न पाइन्छ । यहाँबाट पाँचखाल, कोशीपारी लगायतका स्थान मज्जाले अवलोकन गर्न पाइन्छ ।
यी दुई ठाउँमा पारिवारिक पिकनिक गर्न आउने बढी हुन्छन् । अहिले पाँचखालको लामिडाँडा देखि पलाञ्चोक मन्दिर परिसरसम्म सडकलाई फराकिलो बनाउने काम भइरहेको छ । त्यस्तै काभ्रेभञ्ज्याङ देखि नमोबुद्ध जाने सडक पनि विस्तार भइरहेको छ । सडक विस्तार भएसँगै सर्वसाधरणलाई गतन्ब्यमा पुग्न निकै सजिलो भएको छ ।
आम्दानी पनि राम्रो
पिकनिक खाने शैली बढेसँगै जिल्लाको आम्दानी पनि निकै बढेको छ । पिकनिक पार्क सञ्चालकहरूको कमाइ पनि राम्रै देखिन्छ । कात्तिकदेखि वैशाख महिनासम्म पिकनिक स्पटहरू भरिभराउन देखिन्छन् ।
बनेपा ७ का रेमण्ड र विवेक कर्माचार्य दाजुभाइ मिलेर देवीस्थान डाँडामा पिकनिक स्पट सञ्चालन गरिरहेका छन् । अर्को वर्षदेखि रिसोर्टसमेत सञ्चालनमा ल्याउने योजनासहित उनीहरूको पिकनिक स्पटमा ८ सय जनासम्म मानिस अट्ने ठाउँ रहेका रेमण्डले बताए ।
उनका अनुसार मासिक खर्च कटाएर १ लाख ३० हजारसम्म आम्दानी हुने गरेको छ । ५ देखि ७ जनासम्मले रोजगार पाएका छन् । उनीहरूले ट्रस भवन िनर्माण गरेर पक्की पिकनिक स्पट सञ्चालनमा ल्याएका हुन् । जसले गर्दा पिकनिक पारखीहरू बर्खाको समयमा समेत आउन सक्छन् । “हामीले पैसामात्रै लिनुहुँदैन । पैसा लिएअनुसारको भरपूर सेवा दिन हामी तत्पर छौँ,” सञ्चालक भन्छन् ।
पानीको समस्या
जिल्लाका अधिकां शपिकनिक स्पट सञ्चालकहरू पानी किन्दैमा हैरान भएका छन् । अधिर्काश पिकनिक स्पट डाँडामा सञ्चालनमा रहेका छन् । “पिकनिकको सिजनमा दुईदेखि ३ लाखसम्म पानी किन्नमै खर्च हुन्छ,” देवीस्थान डाँडामा पिकनिक स्पट सञ्चालन गर्दै आएका निश्चल तिवारीले भने, “ठाउँ मात्रै दिन्छौँ, पानीचाहिँ तपाईहरू नै लिएर आउनोस् भन्न मिल्दैन, पानीको निकै समस्या छ ।”
जलपिकनिकका लागि नदी किनारमा पुग्नेबाहेक पलाञ्चोक भगवतीमा पनि पानीको उस्तै हाहाकार छ । नमोबुद्ध, गोसाईथानमा पनि पानी पर्याप्त नहुदाँ पिकनिक खान पुग्ने र सञ्चालकहरू निकै मर्कामा परिरहेका छन् । पिउनका लागि जारको पानी र सरसफाइका लागि गाडीबाट पानी लैजाने गरेको देवीस्थान पिकनिक स्पटका सञ्चालक मनदिलकाजी श्रेष्ठले बताए ।