Logo

धमाधम लाइन काट्दै प्राधिकरण

शुक्रबार पाँच करोडभन्दा बढी बक्यौता रहेका उद्योगको लाइन काटिएको छ ।

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने उद्योगको लाइन काट्ने क्रम जारी राखेको छ । उद्योगी–व्यवसायीका छाता संगठनहरुको विरोधका बाबजुद प्राधिकरणले उद्योगमा बिजुलीको लाइन काटिरहेको छ ।

महशुल छुट दिन नसकिने प्राधिकरणले बताउँदै आएको छ भने उद्योगी–व्यवसायीहरु लाइन काट्दा उद्योग बन्द हुने र लगानी जोखिममा पर्ने भन्दै लाइन जोड्न लबिङ गरिरहेका छन् । विगतमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापत प्रिमियमसहित महशुल नतिरेका थप १४ उद्योगको लाइन प्राधिकरणले काटिदिएको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन शुक्रबार काटिएको हो ।

प्राधिकरणले पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ सँगै डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत लिएका २३ उद्योगको लाइन काटिएको छ । शुक्रबार बाबा जुट मिलको विद्युत काटिएको छ । यो उद्योगले प्राधिकरणलाई ५ करोड ६१ लाख महशुल बुझाउन बाँकी छ । यसैगरी निगाले सिमेन्टको पनि लाइन काटिएको छ, जसको बक्यौता १४ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

१५ करोड ६६ लाख बक्यौता रहेको त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, ८ करोड १३ लाख रुपैयाँ रहेको हिमाल आइरन एण्ड स्टील र ४७ करोड ९८ लाख बक्यौता तिर्न बाँकी रहेको जगदम्बा इन्टरप्राइजेजको लाइन पनि शुक्रबार नै काटिएको छ । हामा आइरनको ११ करोड ५५ लाख, एभरेष्ट पेपर मिलको २१ करोड ३६ लाख, कसमस सिमेन्टको ३५ करोड ८२ लाख, शुभश्री अग्नी सिमेन्टको ३८ करोड १० लाख, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख रुपैयाँ विद्युत महशुल बाँकी रहेको र यी उद्योगको पनि विद्युत काटिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी घराना फुड्सले ५ करोड ९ लाख, सिद्धार्थ पेटप्लास्टले ५ करोड २४ लाख, बुटवल सिमेन्टले ३२ करोड ९८ लाख र नारायणी इस्पातले ७८ करोड ४९ लाख रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ । प्राधिकरणले शुक्रबार यी सबै उद्योगको लाइन काटिदिएको छ । अब ४७ वटा थप उद्योगको लाइन काट्ने तयारी प्राधिकरणको छ । यसैबीच विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक नभएको स्वीकार गरेका छन् ।

यद्यपि, बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जाने रणनीति रहेको उनको भनाइ छ । घिसिङले विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगलाई विकल्पसमेत दिएका छन् । ‘डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्तालाई बिलिङ गरिएको विद्युत खपतको बक्यौता महशुल किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरिएकाले सोही सुविधा लिई बिल भुक्तानी गर्न सक्नुहुन्छ’ उनले भने ।

शुक्रबार लाइन काटिएका उद्योग र बक्यौता रकम
बाबा जुट मिल- ५ करोड ६१ लाख
निगाले सिमेन्ट- १४ करोड २१ लाख
त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज- १५ करोड ६६ लाख
हिमाल आइरन एण्ड स्टील- ८ करोड १३ लाख
जगदम्बा इन्टरप्राइजेज- ४७ करोड ९८ लाख
हामा आइरन- ११ करोड ५५ लाख
एभरेष्ट पेपर मिल- २१ करोड ३६ लाख
कसमस सिमेन्ट- ३५ करोड ८२ लाख
शुभश्री अग्नी सिमेन्ट- ३८ करोड १० लाख
जगदम्बा सिन्थेटिक- ४७ करोड ५३ लाख
घराना फुड्स- ५ करोड ९ लाख
सिद्धार्थ पेटप्लस- ५ करोड २४ लाख
बुटवल सिमेन्ट- ३२ करोड ९८ लाख
नारायणी इस्पात- ७८ करोड ४९ लाख
स्रोत: विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस्