बक्स अफिस प्रणाली लागू «

बक्स अफिस प्रणाली लागू

काठमाडौं । पछिल्लो समय चलचित्रले हलमा कति व्यापार ग¥यो भन्दा पनि चलचित्रको बढाइचढाइ व्यापारको हल्ला बढी चल्ने गथ्र्यो । अब भने त्यस्तो व्यापारको हल्ला गर्दै आएका निमार्ताहरूले चर्चा गर्न नपाउने भएका छन् । व्यापार जति भए पनि करोडौंको व्यापार भएको बताउँदै आएका चलचित्र निमार्ताहरूलाई मात्रै नभई बक्स अफिसको कार्यान्वयनपछि अब चलचित्र क्षेत्रले पनि न्याय पाउने भएको छ ।
लामो समयदेखि चर्चामा रहेको तर लागू नभएको बक्स अफिस नेपालमा औपचारिक रुपमा सुरु भएको हो । मंगलबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बक्स अफिसको उद्घाटन गरेसँगै काठमाडांैको थापाथलीस्थित शिखर कम्प्लेक्समा बक्स अफिसको ‘डाटा हब’ सञ्चालनमा आएको छ । बक्स अफिसको कार्यान्वयनले अब चलचित्रको आम्दानी पारदर्शी हुने भएकोले कसैले पनि कर छल्न नसक्ने भन्दै बस्नेतले फागुन १ गतेबाट देशभरका हलमा बक्स अफिस लागू गर्ने गरी काम सुरु भएको जनाए ।
चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले फागुन ७ गतेसम्ममा काठमाडांै उपत्यकाभित्र ई–टिकेटिङ जडान भएका मल्टिप्लेक्स हल र सर्भरबीच लिंक गर्ने ‘एपीआइ’ उपलब्ध गराउने गरी पत्राचार गर्ने बताइन् । यस्तै, ई–टिकेटिङ जडान नभएका हलहरूमा जडानका लागि पनि पत्राचार गरिने भन्दै उनले नेपालमा अब बक्स अफिस लागू हुन्छ या हुँदैन भन्ने दोधारमा नरहन सबैसँग अपिल गरिन् ।
कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले हल सञ्चालकहरूका कारण नेपालमा बक्स अफिस लागू हुन नसकेको भन्ने चर्चा गलत भएको बताए । पहिले ल्याइएको डाटा प्रणाली आफूहरूको विरुद्धमा आएकाले नमानिएको भन्दै उनले अब बक्स अफिस सञ्चालन हुने बताए ।
डिजिटल टिकेटिङ प्रणाली लागू भएसँगै यसको सही मूल्यांकन हुने चलचित्र निमार्ताहरूको धारणा रहेको छ, जसबाट टिकटमा भएको अनियमिततालाई पनि बक्स अफिसले स्पष्ट पार्ने उनीहरूले जनाएका छन् ।
चलचित्र बिकास बोर्डले माघ ११ गते निर्णय भएको बक्स अफिस म्यानेजमेन्ट सिस्टमको परामर्शदाताबाट तयार भएको सफट्वेयर प्रारम्भीक परीक्षणको रूपमा काठमाडांै उपत्यकाभित्रका चलचित्र घरहरूमा पूणरुपमा र २०७५ माघ १ गते सम्ममा सम्पूर्ण चलचित्र घरहरूमा लागू गर्न गरेको निर्णयअनुसार काठमाडौं उपत्यकामा रहेका ई–टिकेटिङ जडान नभएका हलहरूमा अनिवार्य रुपमा २०७४ चैत मसान्तभित्र जडान गर्न आग्रह पनि गरेको छ ।
अन्य देशहरूमा बक्स अफिस लागू भएको कारण नै चलचित्रको मूल्यांकन सही रुपमा हुने भन्दै नेपाली निर्माताहरूले पनि बक्स अफिस लागू भएसँगै चलचित्र क्षेत्रमा भने केही राहत हुने आशा गरेका छन् ।
के हो बक्स अफिस ?
बक्स अफिस चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणाली हो । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्यांक लिन सकिन्छ ।
कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखाउने भएकाले यसमा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन सक्दैनन् । प्रत्येक शोको पूर्ण विवरण निर्माता तथा वितरकले घरमै बसेर थाहा पाउन सक्छन् ।
‘बक्स अफिस’ लागू गर्न हलहरूले अनिवार्य ‘ई–टिकट’ प्रणाली लागु गर्नुपर्छ । पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरुमा यो प्रणाली लागू गरिए पनि पूराना हलमा भने ‘ई–टिकेटिङ’ को व्यवस्था छैन ।
यसका लागि सुरुमा चलचित्र विकास बोर्डले केही सहयोग गर्ने बताउँदै आएको छ । नेपालभर ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । ३६७ हलमा १८३ वटा हल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्