Logo

नबिल बैंकको ११ प्रतिशत लाभांश

काठमाडौं– नबिल बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेबमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आ.व. २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक आ.व. २०७९/८० मा ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो । नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

‘क’ वर्गको बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको यस बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिएको छ । बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए । बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन गरेको छ ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो । हालसम्म ३३५ जना विद्यार्थीको सहभागिता भएको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उनले जानकारी दिए ।

अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पुँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पुँजी हालसम्म आउँदा ९६० गुणाले वृद्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्