प्राधिकरणका उपकार्यकारी निर्देशकसहित ३१ को सरुवा «

प्राधिकरणका उपकार्यकारी निर्देशकसहित ३१ को सरुवा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपकार्यकारी निर्देशकसहित ३१ उच्च कर्मचारीको सरुवा गरेका छन् ।
बुधबार कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका उच्च अधिकारीहरूको एकै साथ सरुवा गरेका हुन् । प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मालाई इन्जिनियरिङ सेवा निर्देशनालयमा सरुवा गरिएको छ भने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिलकुमार ढुंगेललाई उत्पादन निर्देशनालयमा र उत्पादनका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई ग्राहक तथा वितरण निर्देशनालयमा सरुवा गरिएको छ ।
त्यसैगरी विद्युत् प्राधिकरणले सहायक कम्पनी गठन गरी निर्माण गर्न लागेको बूढीगण्डकी जलविद्युत् आयोजनाको संयोजकमा इन्जिनियरिङ निर्देशनालयका मोहनरत्न शाक्यलाई पठाइएको छ । प्रसारणलाइन निर्देशनालयमा पदस्थापना गरेका उनलाई आयोजनाको संयोजकको जिम्मेवारी समेत तोकिएको आयोजनाले जनाएको छ ।
एनईए इन्जिनियरिङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहने गरी कम्पनीमै काजमा खटाइएको प्राधिकरणले जनाएको छ । यसैगरी, अर्थ र प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशकद्वय लेखनाथ कोइराला तथा शान्तिलक्ष्मी शाक्यलाई भने यथास्थानमा राखिएको छ ।
संस्थागत योजना तथा अनुगमन विभागका उपकार्यकारी निर्देशक अनिल राजभण्डारीलाई नेविप्रा सहायक कम्पनी अनुगमन निर्देशनालयमा सरुवा गरिएको छ । यो निर्देशनालय नयाँ हो । विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत धेरै आयोजना निर्माण गरिरहेको भए पनि हालसम्म ती निकायलाई छुट्टै हेर्ने निर्देशनालय थिएन ।
विराटनगर क्षेत्रीय कार्यालयका निर्देशक वज्रभूषण चौधरीलाई प्रसारण निर्देशनालयअन्तर्गत निमित्त उपकार्यकारी निर्देशकसहित २२० केभी प्रसारणलाइन हेर्ने जिम्मेवारी तोकिएको छ । ११औं तहका रवीन्द्रराज श्रेष्ठलाई प्रणाली योजना, रामजी भण्डारीलाई इनर्जी इफिसियन्सी तथा चुहावट नियन्त्रण, दुर्गानन्द बडियैतलाई संस्थागत योजना तथा अनुगमन, दीर्घायुकुमार श्रेष्ठलाई ग्रिड सञ्चालन र ओमप्रकाश राठीलाई प्राविधिक सर्पोट विभागमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्