Logo

भत्किएको दुई महिनापछि पुल सञ्चालन

जुम्ला– पातारासी गाउँपालिका–४ लुम गाउँस्थित भत्किएको काठेपुल पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । भत्किएको करिब दुई महिनापछि पुल सञ्चालनमा आएको हो । भत्किएकै भोलिपल्ट पालिकाले पुनर्निर्माणका लागि पाच लाख बजेट छुट्याए पनि स्थानीयकै अवरोधले पुल निर्माणमा ढिलाइ भएको थियो ।

पालिकाले आवश्यक समन्वय गरेपछि स्थानीयले नै पुनर्निर्माण गरेर पुल सञ्चालनमा ल्याएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । पुल भत्किँदा पातारासी गाउँपालिकाको उपल्लो क्षेत्रको जनवीवन नै प्रभावित बनेको थियो । दैनिक आवतजावतमा समस्या हुनुका साथै नियमित बजारमा बिक्रीका लागि ल्याइने तरकारीसमेत घरमै थन्किएको थियो ।

भत्किएकै पुलमा आवतजावत गरिरहेका उपल्लो क्षेत्रका स्थानीय छिटो पुल बनाउनुपर्ने भन्दै माग गर्दै आएका थिए भने केही सामाजिक सञ्जालमै आलोचना गरिरहेका थिए । तर लुम गाउँका सबै स्थानीयले काम पाउनु पर्ने माग राखेर निर्माण ढिला हुँदा पालिकाले समन्वय गरेर पुल पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको अध्यक्ष बोहोराले उल्लेख गरे । पुल सञ्चालनमा आएपछि पातारासी उपल्लो क्षेत्र पेरे, तल्फि, छुमचौर, हुरी महरी, गडिगाउँलगायतका स्थानीय खुसी भएका छन् ।

महिना दिन सदरमुकाम, पालिका केन्द्र आउन नपाएका, सवारीसाधन थन्किएका कारण मर्कामा परेका स्थानीय पुल सञ्चालनपछि उत्साहित छन् । पातारासीका वडा नं १, २ र ३ का दर्जन गाउँलाई पालिका केन्द्र र सदरमुकाम जोड्ने एकमात्र माध्यम भनेकै पुल हो । त्यही पुल भत्किएछि समस्यामा परेका नागरिक खुसी भएका हुन् । अध्यक्ष बोहोराले भने, ‘पुल भत्किँदा पातारासीको उपल्लो क्षेत्र वडा नं १, २ र ३ का दर्जनौं बस्तिका नागरिकलाई आउजाउमा समस्या थियो । स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य थिए भने सवारी बन्द हुँदा उस्तै मार थियो । केही ढिला भए पनि पुल सञ्चालनमा आयो । खटिने सबैलाई धन्यवाद ।’

सक्रिय रूपमा खटिएर काठ काट्नेदेखि, पुनर्निर्माण गरी पुल सञ्चालनमा ल्याउने सबै सर्वसाधारणलाई पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले धन्यवाद दिएकी छन् । सामाजिक विकासमा सरकारी बजेटमात्र ताक्नेभन्दा श्रमदान गर्ने भावनाको विकास हुन जरुरी रहेको उनको भनाइ छ । पुल भत्किएकै भोलिपल्ट अनुगमन गरी पाँच लाख छुट्याए पनि नागरिकको आपसी विवादले ढिला भयो । उनले भनिन्, ‘थोरै ढिला भए पनि पुल सञ्चालनमा आयो । जोखिम मोलेर सयौ मान्छे हिँड्थे कुनै घटना घटेन खुसीको कुरा यही भयो । नागरिकले सामाजिक विकासप्रति सकरात्मक धारणा राखेको खण्डमा समृद्ध पातारासी बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्