मुसिकोट नगरको विकास खर्च २२ प्रतिशत «

मुसिकोट नगरको विकास खर्च २२ प्रतिशत

मुुसिकोट नगरपालिकाले पत्रकार सम्मेलन गरी नगरले गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । पदभार ग्रहण गरेको आठ महिनासम्ममा नगरपालिकाले सम्पन्न गरेका विभिन्न योजना, पारित नियमावली तथा अहिलेसम्म खर्च गरिएको बजेटका बारेमा जानकारी गराइएको हो ।
मुसिकोट नगरपालिकाले गत साउन २५ गते सार्वजनिक गरेको बजेटको अहिलेसम्म करिब २२ प्रतिशत रकम खर्च गरेको जनाएको छ । सामाजिक सुरक्षा भत्ताबाहेक अन्य शीर्षकमा गरी सो बराबरको खर्च भएको नगरपालिकाले जनाएको हो । नगरप्रमुख सोमनाथ सापकोटाका अनुसार अहिलेसम्म नगरको ४१ करोड ४३ लाख ७४ हजार ८४६ मध्ये करिब २२ प्रतिशत अर्थात् ८ करोड ७७ लाख १७ हजार ५९३ रुपैयाँ खर्च भएको छ । नगरप्रमुख सापकोटाले सात महिनामा ४० प्रतिशत काम सम्पन्न गरेको भए पनि जम्मा २२ प्रतिशत रकममात्र भुक्तानी भएको जानकारी दिए । उनले बाँकी काम सम्पन्न भइसकेका योजनाको पनि भुक्तानी दिने क्रम चलिरहेको जानकारी दिए । त्यसैगरी नगरपालिकाले आउने चैतसम्म ६० प्रतिशत रकम खर्च गर्ने र असारसम्ममा सबै रकम खर्च गर्ने योजना राखेको बताएको छ । आवको अन्त्यतिर मात्र रकम खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्ने गरी काम भइरहेको सापकोटाले बताए ।

योजना सम्झौताका कार्यक्रम जारी
मुसिकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले शपथ खाएको १०० दिनभित्रमा नगरपालिकालाई उज्यालो नगरपालिका घोषणा गर्ने भनिएको थियो । तर घोषणा भने हुन सकेन । नगरप्रमुख सापकोटाले प्रदेश र प्रतिनिधिसभाको चुनावको आचारसंहिता लागू भइसकेका कारण उज्यालो नगर घोषणा कार्यक्रम प्रभावित भएको भए पनि नगरभित्र रहेका ३९९ विद्युत् नपुगेका घरमा विद्युत् पु¥याइएको जानकारी दिए ।
नगरपालिकाले अहिलेसम्म पदाधिकारी आचारसंहिता, नगर कार्यपालिका कार्यविभाजन नियमावली, नगरसभा सञ्चालन नियमावली, नगरसभा कार्यसम्पादन नियमावली, नगरकार्यपालिका बैठक सञ्चालन नियमावली पारित गरेको छ । सापकोटाले विनियोजन ऐन, आर्थिक विधेयक, आर्थिक कार्यविधि नियमित र ब्यवस्थित गर्ने कानुन, बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि तथा शिक्षा नियमावलीलगायतका १० नियमावली पारित गरेको जानकारी दिए । अहिलेसम्म १५८ योजना सम्झौता भइसकेको, ९९ योजनाको रकम भुक्तानी भइसकेको, ३०/७० कार्यक्रमका खानेपानी योजना ५, ५०/५० कार्यक्रमका खानेपानी योजना २ वटा तथा काम सम्पन्न भई भुक्तान हुन बाँकी ४५ योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कर्मचारी अभाव
नगरपालिकामा अहिलेसम्म उपसचिव १ जना, शाखा अधिकृत ८ जना, इन्जिनियर २ जना, लेखापाल १ जना, नासु १४ जना, सबइन्जिनियर १ जना, असिस्टेन्ट इन्जिनियर १ जना, खरिदार २ जना, कम्प्युटर अपरेटर १ जना, बाँकी कार्यालय सहायक र कार्यालय सहयोगी गरी ५४ जनाको दरबन्दी भए पनि ३४ जनामात्रै कर्मचारी रहेको कारण कार्यसम्पादनमा समस्या भएको छ । नगरप्रमुख सापकोटाले स्थानीय सरकार भन्ने तर काम गर्ने अधिकार केही पनि नदिँदा पनि समस्या भइरहेको बताए ।
मुसिकोट नगरपालिकाभित्र रहेका ७२४ जना भूकम्पपीडित मध्ये हालसम्म ६९८ जनाको घर निर्माणको सम्झौता भइसकेको र अन्य लाभग्राहीसँग सम्झौता गर्न बाँकी रहेको, ५२६ ले पहिलो किस्तावापतको रकम लिएको, २२ जनालाई दोस्रो किस्ताको सिफारिस भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पुनर्निर्माणका लागि हालसम्म ५६ जना डकर्मीलाई तालिम दिइएको भए पनि ७ सय बढी घर बनाउन त्यो जनशक्ति अपुग हुने नगरपालिकाको भनाइ छ ।
शिक्षातर्फ नगरपालिकाभित्र रहेका बालशिक्षा दरबन्दी नपाएका विद्यालयमा बालशिक्षा कोटा प्रदान गरी शिक्षक नियुक्ति गरिएको, पीसीएफ कार्यक्रम सञ्चालन गरिएको जानकारी गराइएको थियो ।
त्यसैगरी खानेपानीतर्फ यस आवभित्र नगरभित्रका १ हजार घरधुरीलाई एक घर एक धारा अभियानमा सामेल गराउने गरी काम अघि बढेको जानकारी गराइएको थियो । त्यसैगरी गरिबी निवारणको निम्ती करेसाबारीलगायतका कृषिसम्बन्धी तालिम सञ्चालन गर्न लागिएको जानकारी गराइएको थियो ।

अनिश शर्मा गैरे 

प्रतिक्रिया दिनुहोस्