सुदूरपश्चिमका स्थानीय तहमा नेकपाका कमिटी गठन «

सुदूरपश्चिमका स्थानीय तहमा नेकपाका कमिटी गठन

धनगढी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशका ८८ वटै स्थानीय तहका कमिटीको टुंगो लगाएको छ ।
नेकपा सुदूरपश्चिमले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह र अधिकांश वडा कमिटीहरुको टुंगो लागेको जनाएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतापछि स्थानीय तहका कमिटीहरुको गठन गर्न सुदूरपश्चिम प्रदेश कमिटी देशमै पहिलो भएको नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले बताए ।
नेकपाले प्रदेशका ८८ वटै स्थानीय तहको कमिटी टुंगो लगाएको जनाएपनि कमिटीका पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गरेको छैन । नेकपा प्रदेश कमिटीको बुधबार र बिहीबार प्रदेश पार्टी कार्यालय धनगढीमा बसेको बैठकले सो कमिटीहरुको टुंगो लगाएको हो ।
पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई एकताबद्ध भएर पार्टी कार्यमा लाग्न निर्देशन दिएका छन् । पत्रकार सम्मेलनमा नेता रावलले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको सर्वसम्मतिमा टुंगो लागेर पार्टी एकता प्रक्रिया पूरा भएको बताएका हुन् । उनले पार्टी एकीकृत भइसकेको बेला कार्यकर्ताहरुलाई देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, विकास र समृद्धिका लागि दृढतापूर्वक एकता बद्ध भएर अगाडि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गरे ।
उनले सुदूरपश्चिम प्रदेश अन्तर्गतका नौवटै जिल्लाका उपमहानगरपालिका लगायतका सबै नगरपालिका, गाउँपालिका र वडाहरुमा एकीकृत पार्टी कमिटीहरु निर्माण सम्पन्न भएको बताए । “सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ,” उनले भने, “अब भ्रातृसंगठन एकीकरणको कामपनि छिट्टै टुंगो लगाइने छ ।” उनले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्