हुम्लामा सडक निर्माण तीव्र «

हुम्लामा सडक निर्माण तीव्र

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका गाउँगाउँमा सडक निर्माणकार्य तीव्र पारिएको छ । बाटो भए विकास निर्माणका सामग्रीलगायत जीवनयापनमा सहजता हुने भएकाले हुम्लाका सातै गाउँपालिकामा सडकको ट्रयाक खोल्न लागिएको छ । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किमिमध्ये चीनको सीमा नाम्खा गाउँपालिकाको हिल्साबाट ओखरथलासम्म ७१ र सिमिकोटदेखि हेप्काखोलासम्म १५ किमि सडकको ट्रयाक खुलिसकेको छ ।
नाम्खाको तुम्कोटमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी गुड्न सहज हुने देखिएको छ । हाल हिल्सादेखि तुम्कोटसम्म ३८ किमिमा गाडी गुड्न सुरु भएको छ । अब ९ किमिमात्र निर्माण हुन बाँकी छ । हिउँ परेर बाटो अवरोध नहुँदासम्म यस सडक खण्डमा आधा दर्जन गाडी गुड्ने गरेका छन् । यता लिमीको बाटो हुँदै अर्को बाटो हेप्काखोलासम्म पुगिसकेको छ । सिमिकोटदेखि हेप्काखोलासम्मको १५ किमिमा जीप जाने आउने गरेको छ । हेप्काखोलामा पुल निर्माण भए चीन र सदरमुकाम सिमिकोटसम्म गाडी पुग्न सक्ने छ । सिमिकोटबाट दक्षिण्मा खार्पुनाथ मन्दिरसम्म ११ किमिमा दैनिक ४ वटा जीप र ट्रयाक्टर आवातजावत हुने गरेको छ ।
कर्णाली करिडोरअन्तर्गत हिल्सादेखि खुलालुसम्म २९० किमिको दूरी छ । नेपाली सेनाले भने खुलालुदेखि सल्लिसल्लासम्मको १५४.१० किमि सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा पाएको छ । बाटो निर्माणका लागि सर्केगाड गाउँपालिकाबाट पूर्वमा नेपाली सेनाको हेलिकोप्टरबाट स्काभेटर पुरयाई ट्रयाक ओपनिङ सुरु भइसकेको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिए । चीन र नेपालको सीमा हिल्सा सिमिकोट आव ०५५/५६ बाट सुरु भएको भएता पनि आव ०६५/६६ बाट स्थानीयको चर्को दबाबपछि निर्माणकार्य सुरु भएको थियो ।
सात गाउँपालिका रहेको हुम्लामा गाउँपालिकाभित्रका सबै वडामा सडक सञ्जाल विस्तार सुरु भइसकेको छ । सिमिकोट गाउँपालिकाले सिमिकोटदेखि बुराउँसे, लाँदु, बरगाउँ हुँदै ठेहेसम्मको बाटो टेन्डर सम्पन्न गरी निर्माणकार्य सुरु गरिसकेको छ । हाल सिमिकोटको बुराउँसे गाउँनजिकै स्काभेटरले बाटो खन्ने काम सुरु भइरहेको छ । त्यसैगरी खार्पुनाथ गाउँपालिकाको खार्पुनाथदेखि छारेसम्मको बाटो पनि यसै आवमा निर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा दिई सकिएको सडक आयोजना प्रमुख विजयकुमार थापाले जानकारी दिए । चंखेली–मुगु सडक खण्डको पनि आधा जति ट्रयाक ओपनिंग भइसकेको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारले हुम्लाका सबै गाउँमा बाटो पुरयाउने प्रतिबद्धता गरेका थिए ।
हुम्लाबाट अन्य जिल्लामा जानका लागि हाल सिमिकोटमा रहेको हवाई यातायातबाहेक कुनै उपाय छैन । काम विशेषले र बिरामी भएमा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने भएमा ३ देखि ५ दिनसम्म बिरामीलाई बोकेर ल्याउनु पर्ने अनिमात्र जिल्ला बाहिर उपचारका लागि लैजानु पर्ने अवस्था छ । त्यसैगरी जिल्लामा उत्पादन हुने कृषि उपज र अन्य सरसामानको निर्यात गर्न सडक नहुँदा यहाँका स्थानीयले लाभ लिन सकिरहेका छैनन् ।

गाडी भाडा महँगो
हुम्लाको थोरै दूरीको बाटोमा पनि गाडीको भाडा महँगो तिर्न हुम्लीवासी बाध्य छन् । तुम्कोटदेखि चीनको सीमा हिल्सासम्म ३८ किमिको दूरीमा पार गर्न १ हजारदेखि १२ सयसम्म तिर्नुपर्ने बाध्यता छ । त्यसैगरी सिमिकोटदेखि खार्पुनाथ मन्दिरसम्मको ११ किमिमा ३५० भाडा छ । त्यसैगरी यातायातव्यवसायीले सिमिकोटदेखी खार्पुनाथ मन्दिरनजिक रहेको नल्ला पुलसम्म ७ किमिको दूरीका लागि ३५० भाडा लिने गरेका छन् । हुम्लामा गाडी ल्याउनका लागि हेलिकोप्टरको प्रयोग गरिनु, बाटो कच्ची तथा अप्ठेरो हुनु, गाडीका सबै उपकरण नेपालगन्ज र सुर्खेतबाट हवाई ढुवानी हुनु, इन्धनलाई मुगुबाट खच्चर वा हवाईजहाजबाट ल्याउनुजस्ता कारण नै भाडादर महँगो भएको यातायात व्यवसायीले बताउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्