अलैंची टीप्दैं लमजुङका किशान «

अलैंची टीप्दैं लमजुङका किशान

लमजुङका लेकाली क्षेत्रका किसानहरु अलैंची टिप्न थालेका छन् । अलैची कटनीको समय भएकोले किसानले अलैंची टिप्न थालेका हुन् ।
सातसय देखि १२ सय मिटर उचाइसम्म लगाइएको अलैंची टिप्न सुरु भएको हो । उचाई अनुसार फरक–फरक समयमा अलैची पाक्ने हुँदा सो भन्दा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची असोज लागेपछि मात्रै टिप्न सुरु गरीने छ ।
अलैंची पाकेपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त भएका छन् । दिनभरी टिप्ने, राती छोडाउने र फेरी भट्टीमा सुकाउनुपर्ने हुँदा अलैची किसानहरु व्यस्त छन् । भदौबाट सुरु भएको अलैंची कटनी माथिल्लो भेगसम्म पुग्दा कार्तिक लाग्ने अलैंची व्यवसायी महासँघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।
जिल्लाको भुलभुलेसहित बाँझोखेत, घनपोखरा, खुदी, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखाहरुमा किसानले व्यवसायिक अलैंची खेती लगाएका छन् ।
नेपालका ३० भन्दा बढी जिल्लामा उत्पादन हुने अलैचीमध्ये लमजुङमा उत्पादित अलैंची गुणस्तरयुक्त र आकर्षक भएको पाइएको छ । हावापानीको दृष्टिकोणले लमजुङमा अलैंचीको सम्भावना निकै राम्रो र उपयुक्त मानिएको छ ।
लमजुङमा अलैंची विशेष कार्यक्रम पनि सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत अलैंची जोन कार्यक्रम सञ्चालनमा रहेको छ । कृषकहरुलाई अलैंची बिरुवा, भट्टी बाँड्ने, प्राविधिक सहयोग गर्नेलगायतका काम प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत् हुँदै आएको छ ।
उत्पादित अलैंची अन्तर्राष्ट्रिय बजारमा पुगेपनि राष्ट्रिय नीति नियम नहुँदा अन्तर्राष्ट्रिय बजारीकरण भने हुन सकेको छैन ।
अलैंची व्यवसायमा दक्ष जनशक्तिको अभाव, कृषकले परम्परागत खेती अपनाउनु, रोग तथा किराको प्रकोप बढ्नु, मूल्यमा उतारचढाव आउनु, उत्पादन, उत्पादकत्व वृद्धि र गुणस्तर सुधारका लागि पूर्वाधारको कमीजस्ता समस्या रहेको कृषकहरुको गुनासो छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्